मुक्तक दिवसमा उषा शेरचन र रुपक श्रेष्ठ पुरस्कृत

मुख्य समाचार

१८ माघ २०८२, काठमाडौं

नेपाल मुक्तक प्रतिष्ठानको तेह्रौँ वार्षिकोत्सव तथा मुक्तक दिवसरका अवसरमा कार्यक्रममा भीमदर्शन मुक्तक पुरस्कारबाट कवि उषा शेरचनलाई नगद राशि रू ५१०००/-सहित तथा कृष्ण -रत्न-चेतन मुक्तक पुरस्कारबाट बेलायतमा बसोबास गरेर नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्याउँदै आएका कवि डा.रूपक श्रेष्ठलाई नगद राशि रू ३१०००/-सहित पुरस्कृत गरिए ।
सो अवसरमा प्रा.डा.लक्ष्मणप्रसाद गौतमद्वारा तयार गरिएको ‘मुक्तकको रचना विधान’,डा.रूपक श्रेष्ठद्वारा लिखित’चौशुल मुक्तकसङ्ग्रह’,डा.श्रेष्ठद्वारा लिखित’पोख्तक’मुक्तकसङ्ग्रह को अंग्रेजी अनुवाद तथा नेपाल मुक्तक प्रतिष्ठान,बेलायत शाखाद्वारा प्रकाशित स्मारिका’ईलिंग’को पनि लोकार्पण गरिएको थियो।
कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतमले लोकार्पण गरिएका मुक्तकसङ्ग्रहहरूका बारेमा संक्षेपमा समीक्षा गर्दै मुक्तक हाम्रो पूर्वीय पहिचान हो जुन वेदका मन्त्रहरूमा पाइन्छ भनेर बताए।प्रा.डा.गौतमले डा.रूपक श्रेष्ठका मुक्तकमा नेपालीपन प्राप्त हुने ती मुक्तकहरूमा शालीन व्यङ्ग्य हुने गरेको बताए।
कार्यक्रममा लेखक तथा अंग्रेजी अनुवादक कृष्ण सिग्देलले उमर खैयामका रुवाईको प्रसङ्ग उठाउँदै मुक्तकमा हुनुपर्ने विशेषताहरूका बारेमा चर्चा गरेका थिए।साथै,डा.रूपक श्रेष्ठको पोख्तक पुस्तकका बारेमा बोल्दै पोख्तक पोखरा केन्द्रित भएर लेखिएका मुक्तकहरू भएको बताए।साथै, उनले पोखरा हिमाल र ताल भएर मात्र पोखरा भएको नभई पोखराका मान्छेहरू,लेखक तथा कलाकारहरूले समेत पोखरालाई पोखरा बनाएको बताए।
प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुक्तक रचना विधानबारे चर्चा गर्दै मुक्तक लेखनलाई विधि बनाएर बाँध्न खोज्दा कतै विधि अघिअघि भाव पछि पछि पर्ने त होइन भनेर चिन्ता प्रकट गरेका थिए।अहिलेका मान्छेलाई पढ्ने,सुन्ने र लेख्ने समय नभएको बेलामा यस्ता थोरै शब्दले धेरै भाव बताउने मुक्तक आजको आवश्यकता भएको बताए।साथै,उनले पोख्तक र चौशुल सङ्ग्रहबाट एक एक वटा मुक्तक वाचन गरेका थिए।
प्रतिष्ठानका उपाध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्दै पुरस्कृत व्यक्तित्वहरूको संक्षिप्त चिनारी सहित व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए।
पुरस्कृत व्यक्तित्वहरू उषा शेरचन तथा डा. रूपक श्रेष्ठले पनि आ-आफ्नो मन्तव्य राख्दै आ-आफ्नो मुक्तक वाचन गरेका थिए।
कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन तथा रमेश पौडेलले शुभकामना मन्तव्य राखेका थिए।
सभाका सभापति र प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले मुक्तक वाचनबाटै आफ्नो मन्तव्य शुरु गरेका थिए।थोरैबाट धेरै,विन्दुमा सिन्धु भने झ‌ैँ मुक्तक हुनुपर्ने बताए।सृजनालाई आकारमा मूल्यांकन गर्नुनहुने बताउँदै उनले पुरस्कृत व्यक्तित्वहरूलाई बधाई तथा उपस्थित सबैलाई धन्यवाद दिएका थिए।
भीमदर्शन मुक्तक पुरस्कार कवि भीमदर्शन रोकाको स्मृतिमा स्थापित पुरस्कार हो भने कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार कविहरू कृष्णप्रसाद पराजुली,रत्नशम्सेर थापा तथा चेतन कार्कीको स्मृतिमा स्थापित पुरस्कार हो।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव कवि यादव भट्टराईले गरेका थिए।

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)

०००