काठमाडौंमा कवि सीता पाण्डेको एकल कविता वाचन सम्पन्न

मुख्य समाचार

२४ वैशाख २०८२, काठमाडौं

दुई दशक बढी समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएकी कवि सीता पाण्डेको महिला साहित्यकार समूहको आयोजनामा गरेको एकल कविता वाचन सम्पन्न भएको छ।
सो अवसरमा कवि पाण्डेले आफ्ना काव्यिक भनाइहरु राख्दै एक दर्जन कविता वाचन गरेकी थिइन् भने कवि शैलेन्द्र साकार,डा.सृजना शर्मा,सुशीला शर्मा र यशोदा अधिकारी समेतले पाण्डेका कविता वाचन गरेका थिए ।
कार्यक्रममा प्रमुख व्यक्तित्व प्रा.डा.गोविन्दराज भट्टराईले सीता पाण्डेका कृतिहरू सरल तर गहन हुने तथा विम्बहरूको प्रयोग भएका कथा,संस्मरण र कविताहरूमा यौन विषयवस्तु उल्लेख भए पनि ती उच्छृङ्खल नभई शालीन हुने गरेको बताए। उनले सीता पाण्डेको कृति अंग्रेजी भाषामा समेत अनुवाद भई अन्तर्राष्ट्रिय बजारमा पुगिसकेको बताए।
सो अवसरमा प्रा.डा. कुमार कोइरालाले सीता पाण्डेको कृतित्व तथा व्यक्तित्व बारे प्रकाश पार्दै उनका कृतिहरू’असजिला खुसीहरू’,’यौन र अनुभूति’का बारेमा संक्षिप्त टिप्पणी गर्दै पाण्डेलाई एक बिद्रोही महिला साहित्यकारको उपमा दिए ।
कार्यक्रम सञ्चालिका तथा संयोजक रीता खत्रीले समेत बीच- बीचमा सीता पाण्डेका कविताहरू वाचन गरेर सो कार्यक्रमलाई काव्यमय बनाएकी थिइन् ।

स्मरणीय छ यो कवि  पाण्डेको दोश्रो एकल कविता वाचन कार्यक्रम हो । यसअघि  गत १ फरवरी २०२५ का दिन अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा अमेरिकाको भर्जिनियास्थित थोमस जेफरर्सन पुस्तकालयमा उनको पहिलो एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको थियो ।

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ काठमाडौंको सहयोगमा)

 

Leave a Reply