विश्व-ज्योति काव्यसमान र पाण्डुलिपि पुरस्कारको घोषणा

मुख्य समाचार

४ चैत्र २०८१, काठमाण्डौ ।

‘एपेक नेपाल’ द्वारा यसै वर्षदेखि अर्पण गर्ने गरी स्थापना भएको रु ५१ हजार राशीको “विश्व-ज्योति काव्यसमान” पहिलो पटक वरिष्ठ कवि उषा शेरचनलाई तथा “विश्व-ज्योति पाण्डुलिपि पुरस्कार” हेमन्त शिशीरलाई प्रदान गरिने घोषणा भएको छ ।
यस सम्बन्धमा विज्ञप्ति जारी गर्दै यो जनाइएको हो ।
विश्व-ज्योति काव्यसमान प्राप्त उषा शेरचनको विषयमा विज्ञप्तिमा भनिएको छ ” वि.सं. २०१२ सालमा पोखरामा जन्मिनु भएकी कवि उषा शेरचनका कविता, मुक्तक र आख्यानका ६ वटा कृति तथा ५ वटा गीति एल्बम प्रकाशित भइसकेका छन् । दर्जनौँ सम्मान र पुरस्कारले सम्मानित शेरचन समकालीन नेपाली काव्य-साहित्यमा युगचेतना, नारी समवेदना र प्रकृति प्रेमले वोतप्रोत काव्य सर्जकका रुपमा चिनिनु हुन्छ र विशेषत: उहाँ ३० को दशकदेखि लेखन प्रारम्भ गरेका कविहरूमा एक प्रसिद्ध र स्थापित कवि हुनुहुन्छ।”
त्यसैगरी विश्व-ज्योति पाण्डुलिपि पुरस्कार प्राप्त हेमन्त शिशीरको वारेमा भनिएको छ, “”विश्व-ज्योति पाण्डुलिपि पुरस्कार” ४० वर्ष ननाँघेका र कुनै पनि कृति प्रकाशित नभएका युवालाई काव्य-क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले स्थापित गरिएको हो । यस पुरस्कारका लागि पाण्डुलिपि आह्वान गर्दा प्राप्त ४६ वटा पाण्डुलिपि मध्ये निर्णायक मण्डलले युवा कवि हेमन्त शिशीरलाई यस वर्षको “विश्व-ज्योति पाण्डुलिपि पुरस्कार” दिने निर्णय गरेको छ । हेमन्त शिशीरको कविता संग्रह “बन्द घरको झ्याल” यही चैत्र २५ गते भृकुटी मण्डपको पर्यटन बोर्डमा आयोजना गरिने एपेक नेपालको वार्षिकोत्सव समारोहमा लोकार्पण गरिने छ । ”
पाण्डुलिपि पुरस्कार अन्तर्गत पुरस्कृत पाण्डुलिपिलाई पहिलो पटकमा १००० थान पुस्तक संस्थाले प्रकाशित गरिदिने र त्यसको बिक्रिबाट हुने सबै रोयल्टि कवि स्वयमलाई प्रदान गर्ने जानकारी गराइएको छ ।
स्मरणीय छ कवि विश्वविमोहनकी पत्नी ज्योतिको निधनपश्चात् उनको तथा कवि विश्वविमोहन श्रेष्ठको नाममा यो सम्मान र पुरस्कारको स्थापना गरिएको हो ।

Leave a Reply