२६ साउन २०८०, काठमाडौं
वरिष्ठ साहित्यकार पुस्कर लोहनीको निवासस्थान डिल्लीबजारमा कथा वाचन गोष्ठी आयोजना भयो ।
कथाकार गुरुप्रसाद मैनालीको नासो कथा वाचन गरी गोष्ठीको शुभारम्भ गरिएको थियो । उक्त कथा मन्दिरा मधुश्रीले वाचन गरेकी थिइन् ।
गोष्ठीमा कथाकारहरू योगेन्द्रतिमिल्सिना, समिना खनाल पृथा, शैलेन्द्र साकार, पवित्रा अधिकारी, किशोर पहाडी, चन्द्रप्रसाद भट्टराई, बाबा न्यौपाने, राशि पाण्डे, र सुभाषचन्द्र पौडेलले विभिन्न कालखण्डमा लेखेका र पत्रिकामा प्रकाशित भइसकेका कथाहरू वाचन गरेका थिए ।
सो अवसरमा कथा वाचनको आवश्यकता र शुरूवातका बारेमा चन्द्रप्रसाद भट्टराईले प्रकाश पारेका थिए भने कथाकार पुस्कर लोहनीले कार्यक्रमको अन्तमा नेपाली साहित्यको यात्रा र आजको कथा वाचनको औचित्यमाथि जोड दिंदै कथा यात्रा सुचारु रूपले अगाडि बढाउन पुराना पु्स्ता र नयाँ पुस्ताका सबै कथाकारहरू मिलेर नेपाली कथा तथा साहित्यको जगेर्ना गर्नु परेको खाँचो औंल्याए ।
यस प्रकारको कथा वाचन मासिक रुपमा प्रत्येक महिनाको अन्तिम शुक्रवारका दिन गरिने बताइएको छ ।
(काठमाडौंबाट सुभाषचन्द्र पौडेलको सहयोगमा”)
