मदन पुरस्कार र जगदम्वाश्री पुरस्कारको घोषणा

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
२३ सेप्टेम्वर, वाशिंटन डिसी

नेपालको सवैभन्दा पुरानो नीजि क्षेत्रवाट दिइने नेपालको नोवेल पुरस्कार मानिने मदन पुरस्कार यस वर्ष “लिम्वुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९-२०२०” का लागि प्रदान गरिने भएको छ । त्यसैगरी यस वर्षको जगदम्वाश्री पुरस्कार “सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैध्दान्तिक तथा प्रयोगात्मक ज्ञान मार्फत् नृत्यक्षेत्रको उन्नयनमा समर्पित रहनु हुने” भैरव वहादुर थापालाई प्रदान गरिने निर्णय भएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षित हस्ताक्षरित २०७८ असोज ५ गते प्रवाहित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
मदन पुरस्कार विसं २०१३ सालदेखि प्रदान गर्न थालिएको हो । वर्षभरि प्रकाशित उत्कृष्ट नेपाली भाषाको ग्रन्थको लागि मदन पुरस्कार दिइन्छ । दिवङ्गत जनरल मदन शम्शेरको स्मृतिमा उनकी धर्मपत्नी जगदम्वा महारानीले यो पुरस्कार स्थापना गरेकी हुन्, तर यो पुरस्कार स्थापनाका लागि कमल दीक्षितको ठूलो योगदान रहेको छ ।


जगदम्वाश्री पुरस्कार महारानी जगदम्वाको देहावसानपछि स्थापना भएको हो र पहिलोपल्ट विसं २०४५ सालमा “तीन दशकभन्दा बढी समयदेखि सङ्गीतको माध्यमबाट नेपाली भाषाका गीतहरूलाई देश तथा विदेशमा समेत लोकप्रिय बनाउनमा उल्लेखनीय योगदान गरेबापत” विख्यात गायक नारायणगोपाल गुरुवाचार्यलाई प्रदान गरिएको थियो ।
यस वर्ष मदन पुरस्कारको लागि २२२ पुस्तक प्रतिस्पर्धामा थिए र ९ पुस्तक श्रेष्ठ सूचिमा परेका थिए ।

Leave a Reply