दशैं : भ्यागुताको धार्नी

कविता

(दशैं भर्खरै सकिएको छ । तर दशैं सम्बन्धी कविता पुराना हुँदैनन् । दशैंका केही कविताहरू कवि मित्र प्रमोद सारङ्गले सङ्कलन गर्नु भएको रहेछ । यो उहाँकै सौजन्यबाट प्राप्त भएको हो र क्रमसः प्रकाशित गर्दै जानेछौं ।-सम्पादक)

-यादव भट्टराई

त्यस बेला
दशैं
दशैंजस्तै भएर आउँथ्यो

अहिले
जब पल्टिन्छ क्यालेन्डरको पाना
र हराउँछ
फगत शुभकामनाका शब्दसञ्जालभित्रै
दशैं !

खुसी बगायो कि दु:ख
बगिसकेछ धेरै पानी नदीहरूमा !

चिन्ताका चाङ राखेर
जमराको साटो टाउकामा
निधारमा तनावका धर्साहरू बोकेर
चेट भएको चङ्गाजस्तै
न उत्साह न उल्लास
न रमाइलो न रङ्ग
अहँ छँदै छैन कत्ति पनि
उत्सुकता दशैंको

बस्तीमा बल्दैन उमङ्गको बत्ती
पाक्दैन खुसीको सेलरोटी र अनरसा
सुकेका ओठबीचबाट खुइय्य काढ्दै
घिसार्दै आफ्नै जिन्दगीलाई
थिचेर आफैलाई आफ्नै अभावको भारीले
पासपोर्ट बोकेर खुसी खोज्न
दशैं पनि बिदेसिएको छ

भ्यागुताको धार्नीजस्तो रहर जन्माएर आँखाभरि
हरेक वर्ष
दशैं आउँछ र जान्छ उसैगरी !

ㅁㅁ