‘यता कि उता ?’को विमोचन सम्पन्न

समाचार

२ अगस्त २०२६, क्यारी, नर्थ क्यारोलाइना

डा. शरद पराशर मरहट्टाको कविता सङ्ग्रह ‘यता कि उता ?’ अमेरिकाको नर्थ क्यारोलाइनास्थित क्यारीमा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको आयोजनामा कार्यक्रमका प्रमुख अतिथि डा.नीलम कार्की निहारिका, सभापति गीता बस्नेत र कमला मरहट्टाले संयुक्त रूपमा कृति विमोचन गरिएको सम्पन्न भयो ।
विमोचनपछि कृतिमाथि परिचर्चा तथा कविता वाचन गरिएको थियो । उमा शर्मा, शिव पलाँस, नम्रता गुरागाईं र ईश्वर देवकोटाले कृतिका विभिन्न पक्षमाथि आफ्ना धारणा प्रस्तुत गरेका थिए भने कमला मरहट्टाले कविता वाचन गरेकी थिइन् ।
परिचर्चाका क्रममा वक्ताहरूले ‘यता कि उता ?’ लाई प्रवास, पहिचान, स्मृति, सम्बन्ध, समय र मानिसको मानसिक तथा भावनात्मक द्वन्द्वसँग जोडेर व्याख्या गरेका थिए । उनीहरूका अनुसार कृतिको शीर्षकले भौगोलिक यात्रासँगै प्रवासी नेपालीको मानसिक, भावनात्मक र अस्तित्वगत दोबाटोलाई समेत सङ्केत गर्छ।
प्रमुख अतिथि डा. नीलम कार्की निहारिकाले प्रवासी नेपालीहरूको जीवन र अनुभूतिमाथि केन्द्रित कविता सङ्ग्रहको अभाव रहेको वर्तमान अवस्थामा ‘यता कि उता ?’ ले उक्त रिक्तता पूर्ति गर्ने विश्वास व्यक्त गरिन्। उनले नेपाली साहित्यको सिर्जना र विस्तारमा प्रवासी नेपाली समुदायले पुर्‍याएको योगदानको चर्चा गर्दै कृतिले पाठकसँग अर्थपूर्ण संवाद स्थापित गर्ने अपेक्षा व्यक्त गरिन् ।
कार्यक्रममा प्रा. शिवहरि मरहट्टा, डा. बालकृष्ण शर्मा, शिखर दुलाल तथा ददीन पाण्डेले लेखकलाई शुभकामना दिएका थिए । आयोजक संस्थाका वरिष्ठ उपसभापति मनोज प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने लेखक डा. मरहट्टाले विमोचन कार्यक्रममा सहभागी तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेका थिए। सभापति गीता बस्नेतको समापन मन्तव्यसँगै कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको सञ्चालन डा. ऋषि बस्ताकोटीले गरेका थिए ।

०००