१४ भाद्र २०८२, काठमाडौं
पत्रकार तथा कथाकार लक्ष्मण वियोगीको कथाकृति ‘सत्यम्’को शनिवार विमर्श सम्पन्न भएको छ ।
वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. गोविन्दराज भट्टराईको सभापतित्व तथा डा. तुलसीप्रसाद भट्टराईको प्रमुख आथित्यमा भएको विमर्श कार्यक्रममा प्रा.डा. कुमारप्रसाद कोइरालाले प्रमुख वक्ताको भूमिका निर्वाह गरेका थिए । लेखक तथा पत्रकार राजेश खनालले सञ्चालन गरेको कार्यक्रममा १५ कथा सङ्ग्रहित कृतिमा डा. अशोक थापा, डा. शोभा ढुंगाना, टेकनारायण ढकाल, जानुका खतिवडा र देवी तिमल्सिनाले समालोचनात्मक टिप्पणी गरेका थिए ।
टिप्पणीकारहरूको समीक्षा सुनेपछि समालोचक महेश पौड्यालले देश र समाजमा खण्डित हुँदै गएको सत्य ‘सत्यम्’ले देखाएको विश्लेषण गरे ।
प्रमुख वक्ता प्रा.डा. कोइरालाले ‘सत्यम्’भित्र माओवादी द्वन्द्वका अभिघात घटना, २०६२/६३ को जनआन्दोलन, मधेश आन्दोलन, पर्यावरण, विज्ञान विषय तथा हिमाल, पहाड र तराईको पृष्ठभूमि समेटिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि डा.गोविन्दराज भट्टराईले ‘सत्यम्’मा समेटिएका कथाले उत्कृष्ट लेखनको नमुना प्रस्तुत गरेको बताए । लेखनको काव्यिक शैलीले कथालाई छुट्टै पहिचान दिएको छ भन्दै उनले यस्ता उम्दा प्रतिभावान लेखकले आगामी दिनमा अझ सशक्त साहित्यिक कृतिहरू पाठकमाझ ल्याउनुपर्ने बताए ।
