‘सन्नाटाका सुस्केरा’ डेनमार्कमा विमोचन तथा कविता प्रतियोगिताको घोषणा

समाचार

१६ जुलाई २०२५, कोपनहेगन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डेनमार्क च्याप्टरको आयोजनामा डेनमार्क निवासी कवि प्रकाश सापकोटाको कविता संग्रह ‘सन्नाटाका सुस्केरा’ को प्रवास विमोचन डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले सापकोटाको कृति विमोचन एक समारोहका बीच गरिन् । विमोचन वश्चात् उनले संग्रह भित्रको ‘शीत’ शिर्षकको कविता स्वस्फूर्त वाचन समेत गरिन् ।
कार्यक्रममा कवि सापकोटाले संग्रहभित्रबाट वाचन गरेका आफ्ना प्रत्येक तीन फरक कविताका आधारमा लेखक कृष्ण पौडेल, उदयराज गौतम, नील थापा, कमलराज शर्मा लगायतले समालोचनात्मक टिप्पणी गरे । अनौपचारिक विवेचनात्मक छलफलमा दीपकराज रिजाल, नवीनराज पौडेल, बुद्धी सापकोटा, कृष्ण सागर, राधाकृष्ण(आरके) सापकोटा, रमेश घिमिरे, नारायण चापागाईँ लगायतले पनि विमोचित पुस्तक र वाचित कविताबारे आफूलाई लागेका कुरा राखे ।
समाजका च्यप्टर अध्यक्ष पूर्ण बस्नेतले समग्र कार्यक्रमको समीक्षा सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमको अनेसास डेनमार्क च्याप्टर का सदस्य तथा नेपाली पाठशाला कोपन्हेगनका प्रशिक्षक दीपककुमार तिवारीले सहजिकरण गरेका थिए ।
सोही अवसरमा अनेसास डेनमार्कले आयोजना गरेको विश्वव्यापी कविता प्रतियोगिताको नतीजा पनि राजदूत तुलाधरले घोषणा गरिन् । प्रतियोगितामा धादिङ, नेपालका महान त्यागीको ‘छाउगोठकी कामाख्या’ कविता प्रथम, धनगढी नेपालका प्रेमप्रकाश सापकोटाको कविता ‘प्रेरणा’ द्वितीय र सिक्किमका गोपाल निशोधको कविता ‘बोनसाई मेरा रहरहरु’ तृतीय घोषणा गरिएको थियो । पुरस्कृत प्रतियोगीहरूलाई क्रमशः ३० थान, २५ थान र २० थान साहित्यिक पुस्तक, प्रमाणपत्र र आकर्षक उपहार प्रदान गरिने अनेसास डेनमार्क च्याप्टरले जानकारी गराएको छ ।