दुई गीत

गीत

सीता अर्याल

भुरुरु उँडी यो गुँड रित्तो पारेर जाँदैछौ।
फर्कन्छु चाँडै भनेर वाचा गरेर जाँदैछौ।

बाध्य छौ तिमी पर्देश जान म रोकुँ कसरी
हेर न प्रिय यी आँसु भेल म छोपुँ कसरी
बिदाईको बेला सुटुक्क आँसु पुछेर जाँदैछौ
फर्कन्छु चाँडै भनेर वाचा गरेर जाँदैछौ।

साईतको बेला यी राता टीका म लाईदिउँ कसरी
नछुट्ने बाचा गरेको त्यो पल म बिर्सुँ कसरी
मुटुलाई कठोर पारेनी आँसु बर्बरी झार्दैछौ
फर्कन्छु चाडै भनेर वाचा गरेर जाँदैछौ।

भुरुरु उँडी यो गुँड रित्तो पारेर जाँदैछौ।
फर्कन्छु चाँडै भनेर वाचा गरेर जाँदैछौ।
~
(दुई)

दुइटा फूल बगैँचामा मुस्काएको देखेँ
ह्रृदयमा सपनाहरू सजाएको देखेँ

उन्मुक्त भै गगनमा उडुन् सँगसँगै
सँसारकै हाँसो खुसी चुमुन् सँगसँगै
ताराहरू सगरमा रमाएको देखेँ
ह्रृदयमा सपनाहरू सजाएको देखेँ

बाटोभरी फूलैफूल काँडा हराई जाउन्
फाटिसके काला बादल् जून मुस्कुराउन्
हेर्दा हेर्दै दुईटा मुटु एउटै धड्कन् देखेँ
ह्रृदयमा सपनाहरू सजाएको देखेँ

दुइटा फूल बगैँचामा मुस्काएको देखेँ
ह्रृदयमा सपनाहरू सजाएको देखेँ।

०००

गीतकार परिचयः सीता अर्याल मूलतः कथाकार हुन् । उनका ४ कथा संग्रहहरू तथा एक एक गीत संग्रह प्रकाशित छन् । नेपालको बन्दिपुर, तनहुँ जन्मेकी सीता अर्याल हाल हाल अमेरिकाको म्याडिसन शहर, विस्कानशीनमा बसोवास गर्छिन् ।