तीन पुस्ते फोटो (कविता)

कविता

अमर शाह

भित्तामा टाँगेको छु एउटा पुरानो फोटो
बा–आमा, हामी दुई र छोरा छोरी तीन पुस्ताको
र सम्झाइ रहन्छ यसले सधैँ
मेरो इतिहास, सीमा र धरातल ।

जब जब देख्छु भित्तामा यो फोटो
देख्दिन अनुहारहरू मात्र यसमा
बरु पढ्छु त्यहाँ इतिहास र वर्तमान
जहाँ सँगसँगै छन्–
असल आमा र असल पत्नी बन्ने प्रयासमा
बगेका पसिना–भलले चरचरी चिरेको अनुहार लिएर
फाटेको चौबन्दी र मैलो फरियामा आमा
र ब्यूटी पार्लरको महंगो रङ्ग रोगन पश्चात्
बहुरङ्गी कपाल, छोटो शर्ट र झन् छोटो स्कर्टमा छोरी
खिइएर असल पति र बाबु बन्न घोटिंदा घोटिंदा
जीवन सङ्घर्षको जानकारी पाटी जस्तो अनुहारमा बाबा
र हेल्थ क्लव र जिममा बनाएको सुगठित शरीरलाई
महङ्गो परिधानले सजाएको हृष्टपुष्ट छोरा
फोटोले गर्छ फोटोवाल बाँचेको कालखण्डको वर्णन
र फोटोमा पढ्ने गर्छु म पुस्ता–पुस्ताको फरक कथा ।

जब जब देख्छु यो फोटो र फोटोका अनुहारहरू
लाग्छ शिरमा अझै छ आशीर्वाद दिइरहेको आमाको हात
र लाग्छ छुटेको छैन अप्ठेरा गौँडाहरूमा बाबाको साथ
हो सन्तोष लाग्छ यो फोटो देख्दा सधैँ
बाँचेकोमा आफूले आजसम्म एउटा औसत जिन्दगी
र सकेकोमा बचाउन आफूपछिको एउटा अर्को पिँढी ।

गए छुटेर गन्तव्य– अनन्त यात्रा र जीवन यात्रामा
म छैन फोटोका अनुहारहरू बीच आज
तर फोटोलाई धागो मानेर उनिरहेको छु म पिँढी–माला
र जोडिरहेको छु आफूलाई इतिहास र भविष्यसँग निरन्तर,
चढ्दै जाँदा जीवन यात्राका नयाँ–नयाँ सिँढी
बिर्सन्थे हुँला म पनि
मेरो अस्तित्वको इतिहास र सो इतिहासका अरू पात्र
बन्थे हुँला म पनि झरेको तारा आकाशबाट
र हराउथें हुँला पहिचान विहीन भएर कतै मृत्यु बाच्दैं
तर भित्तामा छ एउटा तीन पुस्ते फोटो
र आलो बनाउन छर्की रहन्छ पानी मेरो जीवन कथामा,
सम्झाई रहन्छ मलाई कर्तव्य र सम्बन्धका बन्धन
र रोक्ने गर्छ उड्नबाट चुँडेको चङ्गा बनेर माथि माथि
हो धन्न यो फोटो छ र यसले
सम्झाइ रहन्छ मलाई मेरा इतिहास, मेरो सीमा र मेरो धरातल ।

०००

कवि परिचय : अमर शाह कथा र कविता क्षेत्रमा कलम चलाउने प्रतिभा हुन् । विसं २०३ सालको बैशाखमा मधुपर्कमा “दुई कविता” प्रकाशित गरी साहित्य क्षेत्रमा प्रवेश गरेका उनका दुई कथा सङ्ग्रहहरु “आदियुग“(२०४५) र “कुरुक्षेत्र” (२०७१) तथा “यात्रा र घुम्तीहरु“(२०७२) कविता सङ्ग्रह प्रकाशित छन् । धुल्खर्क सल्यानमा जन्मेका उनी हाल काठमाडौंमा बसोवास गर्छन् ।

 

 

 

Leave a Reply