अनेसास केन्द्रले किनेको अफिस उद्घाटन

मुख्य समाचार

१४ नोभेम्वर २०२६, वाशिङ्टन डिसी

निकै लामो समयको प्रयत्नपश्चात् अन्ततः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासको आफ्नै अफिस किन्न सफल भएको छ । भर्जिनिया राज्यको क्रेष्टउड ड्राइभको घर नं १०५१५ को करिव १५०० बर्गमिटरको युनिट नं २०१ को कण्डिमिनियम २ लाख ६५ हजार डलरमा किनिएको हो । त्यसमध्ये १ लाख चालिस हजार नगद भुक्तान गरिएको छ भने १ लाख २५ हजार अमेरिकामा नेपाली समुदायले सञ्चालन गरेकोन एभरेष्ट फेडरल क्रेडिट युनियनबाट नारायण अधिकारी र नेत्रबन्धु पोखरेलको जमानीमा ऋण लिइएको छ ।
सो युनिटमा करिव ८० जनासम्म अट्ने एक हल, एक कोठा र एक शौचालय रहेको छ ।
१४ नोभेम्बरमा एक समारोहका बीच अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास बोर्डअफ ट्रस्टिजका अध्यक्ष पदम विश्वकर्मा, अनेसासका अध्यक्ष लालगोपाल सुवेदी, अनेसास बोर्डअफ ट्रस्टिजका सचिव नारायण अधिकारी र नेत्रबन्धु पोखरेलले सामुहिक रुपमा रिवन काटेर उद्घाटन गरे ।
उद्घाटन सत्रमा सो अफिस युनिट खरिदको सम्बन्धमा पुरु सुवेदीले तथा पदम विश्वकर्माले मन्तब्य राखेका थिए । कार्यक्रममा स्वस्ती वाचन पनि गरिएको थियो ।
दोश्रो सत्रमा लक्ष्मी जयन्तीको कार्यक्रमको आयोजना गरिएको थियो । त्यस सत्रमा शिव लामिछाने, गीता खत्री, नारायण अधिकारी, नेत्रबन्धु पोखरेल, होमनाथ सुवेदी, सुमन तिमिल्सिना, जगन्नाथ पौडेलले मन्तब्य तथा कविता वाचन प्रस्तुत गरेका थिए ।
सभाध्यक्ष अनेसासका केन्द्रीय अध्यक्ष लालगोपाल सुवेदीले मन्तब्यसहित सभा विसर्जन गरेका थिए ।
पहिलो चरणको कार्यक्रम अनेसास बोर्डअफ ट्रस्टिजका महासचिव प्रकाश नेपालले तथा दोश्रो सत्रको सञ्चालन शकुन ज्ञवालीले गरेकी थिइन् ।
स्मरणीय छ, अनेसासले किनेको सो युनिटमा हाल चर्च सञ्चालन भैरहेको छ र अनेसासले सोही चर्चलाई एक वर्षपछि पूर्व सूचना दिएर खाली गराउन सकिने शर्तमा २ वर्षका लागि १७०० डलर प्रति महिनामा भाडामा राख्ने सम्झौता गरेको छ । अतः उद्घाटन भए पनि हाल सो युनिटमा अनेसासले आफ्नो कार्यालय सञ्चालन गर्न भने पाउने छैन ।

०००