१० अक्टोवर २०२६, कालिम्पोङ ।
नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङको आयोजनामा आज साहित्यकार तथा समालोचक नवीन पौड्यालको समालोचनात्मक कृति समीक्षात्मक लेख सङ्ग्रहको विधिवत् लोकार्पण तथा विमर्श कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रमको प्रारम्भमा समितिका सहसचिव श्री दिलीप छेत्रीले स्वागत मन्तव्य प्रस्तुत गर्दै साहित्यिक कृतिहरूको प्रकाशन, परिचर्चा र मूल्याङ्कनका माध्यमबाट नेपाली भाषा तथा साहित्यको विकासमा समितिले पुर्याउँदै आएको योगदानमाथि प्रकाश पारे। त्यसपछि सभापति, मुख्य अतिथि तथा अन्य विशिष्ट व्यक्तित्वहरूको बाहुलीबाट नवीन पौड्यालको समीक्षात्मक लेख सङ्ग्रहको विधिवत् लोकार्पण गरियो।
पुस्तक विमर्शका क्रममा प्रा। सञ्जय विष्ट, डा। इन्द्रबहादुर छेत्री, श्री सीताराम काफ्ले र डा। इन्द्रमान सुब्बाले कृतिको विभिन्न पक्षमाथि गहन विचार प्रस्तुत गरे। वक्ताहरूले पुस्तकमा समाविष्ट लेखहरूको विषयवस्तु, विश्लेषण पद्धति, समालोचनात्मक दृष्टिकोण तथा साहित्यिक मूल्याङ्कनका आधारहरूमाथि चर्चा गर्दै नवीन पौड्यालको समालोचनात्मक योगदानको विश्लेषण गरे।
प्रा। सञ्जय विष्टले नवीन पौड्यालको समालोचनात्मक लेखनमा देखिने निरन्तरता, व्यापक सम्पर्क, अध्ययनको गहिराइ तथा अनुसन्धानपरक दृष्टिको विशेष प्रशंसा गरे। कुनै निश्चित वाद वा सिद्धान्तको सीमाभित्र आफूलाई सीमित
नराखी स्वतन्त्र र वस्तुनिष्ठ ढङ्गले समालोचना गर्ने पौड्यालको प्रवृत्ति उल्लेखनीय रहेको उनको भनाइ थियो। साथै, कालिम्पोङ, दार्जिलिङ, सिक्किम र असमलगायत क्षेत्रका ओझेलमा परेका साहित्यकार तथा सर्जकहरूलाई आफ्नो समालोचनाका माध्यमबाट पाठकसमक्ष परिचित गराउने कामले नेपाली साहित्यको इतिहास र मूल्याङ्कन परम्परामा महत्त्वपूर्ण योगदान पुर्याएको उनले बताए।
श्री सीताराम काफ्लेले पुस्तकमा सङ्गृहीत चौधवटै लेखको समीक्षा गर्दै नवीन पौड्यालको समालोचनामा कृति विश्लेषण, साहित्यिक इतिहासप्रतिको चेतना तथा कृति र कृतिकारको मूल्याङ्कन पक्ष सशक्त रूपमा उपस्थित रहेको उल्लेख गरे।
यसैगरी, डा। इन्द्रबहादुर छेत्रीले सङ्ग्रहका चौधवटै लेखमाथि गहन समीक्षा प्रस्तुत गर्दै लेखकले प्रत्येक कृति र कृतिकारको विशिष्टता पहिचान गर्ने प्रयास गरेको बताए।
डा। इन्द्रमान सुब्बाले पनि समीक्षात्मक लेख सङ्ग्रहमाथि विस्तृत विमर्श प्रस्तुत गर्दै नवीन पौड्यालको समालोचनामा कृति विश्लेषण, निष्पक्षता र मूल्याङ्कनपरक दृष्टिकोणको महत्त्वमाथि प्रकाश पारे।
कार्यक्रममा लेखक नवीन पौड्यालले आफ्नो मन्तव्य प्रस्तुत गर्दै नेपाली साहित्यका अनेकौँ प्रतिभाशाली सर्जक र तिनका महत्त्वपूर्ण कृतिहरू पर्याप्त चर्चा र मूल्याङ्कनको अभावमा ओझेलमा परिरहेको अवस्थाप्रति आफ्नो चिन्ता व्यक्त
गरे। यस्ता सर्जक र कृतिलाई समालोचनाको प्रकाशमा ल्याउने अभिलाषाले आफूलाई निरन्तर लेखनतर्फ प्रेरित गरिरहेको उनले बताए।
सभापतिको आसनबाट श्री जोग चामलिङले नेपाली साहित्य अध्ययन समितिको इतिहासमा यस प्रकारले एउटा समालोचनात्मक कृतिमाथि विधिवत् लोकार्पणसँगै बहुआयामिक विमर्श कार्यक्रम आयोजना गरिएको यो विशेष
अवसर भएको बताए। एउटै कृतिमाथि विभिन्न समालोचकहरूले आ(आफ्ना दृष्टिकोणबाट विचार प्रस्तुत गर्दा कृतिको बहुआयामिक पक्ष उजागर हुनुका साथै साहित्यिक चिन्तनको दायरा पनि फराकिलो बन्ने उनको भनाइ थियो।
कार्यक्रमको अन्त्यमा समितिका सक्रिय सदस्य प्रा। मनिन्द्र भुजेलले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अतिथि, वक्ता,लेखक, साहित्यकार तथा सहभागीहरूप्रति आभार व्यक्त गरे।
