२७ असोज २०८३ , काठमाडौं
वासुशशी स्मृति प्रतिष्ठानद्वारा आयोजित एक समारोहका वीच कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा चलचित्र निर्देशक यादव खरेलले हिरण्यकुमारी पाठक,मधुवन पौडेल तथा डा.बद्री पोखरेललाई वासुशशी सम्मान समर्पण गरे । सम्मानका साथ जनही नगद राशि रू १०,०००/- समेत रहेको छ।
पुरस्कार समर्पणपश्चात् प्रमुख अतिथि गीतकार यादव खरेलले कवि वाशु शशीको स्मरण गर्दै जीवनको उत्तरार्धका बेला भएको भेटले आफूलाई सधैँ भावुक बनाउने गरेको बताए।वासु शशीले कविता,गीत,नाटक,उपन्यास सबै विधामा कलम चलाएको बताउँदै उनका तीन दर्जन जति कृतिहरू रहेको बताए।ज्यादै सरल र शालीन वासु शशी बहुप्रतिभाशाली व्यक्तित्व भएको बताउँदै उनमा अभिमान बिल्कुलै नभएको बताए।वासु शशीको स्मृतिमा स्थापित परिषद्ले साहित्यकार हरूलाई सम्मानित गर्दै आएकोमा परिषद् तथा त्यसका पदाधिकारीहरू र विशेषगरी सदस्य सचिव रहेका प्रद्युम्न जोशीलाई उनले धन्यवाद दिए।
परिषद्का सल्लाहकार तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले परिषद्को बारेमा संक्षेपमा प्रकाश पार्दै सम्मानित तीनैजना अग्रज साहित्यकारहरूलाई बधाई तथा शुभकामना दिएका थिए।
कलाकार मदनदास श्रेष्ठले वासु शशीसँगको आफ्नो सम्बन्ध र सहकार्यको चर्चा गरेका थिए। देवी दुर्गाको नाटकमा आफूले महिषासुरको भूमिका निर्वाह गरेको प्रसङ्ग मा उनले महिषासुर हाँसेको अभिनय गरेर सुनाएका थिए।
वासु शशीको कथामा अभिनय गरेकी कलाकार मिथिला शर्माले चलचित्र मायामा आफूले अभिनय गर्न पाएकोमा भाग्यमानी ठानेको बताउँदै वासु शशीको स्मरण गरेकी थिइन्।
सभापतिको आसनबाट बोल्दै श्रीओम श्रेष्ठ’रोदन’ले नेपाली भाषा साहित्य र कलाको उन्ननयनमा ठूलो योगदान र सेवा गरेका वासु शशीका कुनै पनि सृजना कमजोर नरहेको बताए । वासु शशीको निवास भनेको सबै साहित्यकारहरूको निवास हुने गरेको चर्चा गर्दै उनले वासु शशीको नामबाट परिषद्ले तीनजना स्रष्टालाई आज सम्मान गर्न पाएकोमा परिषद् कृतज्ञ रहेको बताए।
सम्मानित तीनैजना स्रष्टाहरूले वासु शशीसँगको चिनजान, सम्बन्ध र उनको व्यक्तित्वका बारेमा स्मरण गर्दै वाशु शशी साहित्य सम्मानबाट सम्मानित हुन पाएकोमा गर्व लागेको बताउँदै आभार प्रकट गरेका थिए।
परिषद्का सदस्य सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राख्दै परिषद्ले हालसम्म गरिआएको सम्मान तथा पुस्तक प्रकाशनका बारेमा संक्षेपमा प्रकाश पारेका थिए । उनले नेपाली भाषा साहित्यमा उल्लेखनीय सेवा गर्दै आएका तीनजना स्रष्टाहरूलाई सम्मान गर्न पाएकोमा गर्वको महसुस गरेको बताए। गीत, कविता,नाटक,उपन्यास आदि सबै विधामा कलम चलाएका साहित्यिक पत्रकार समेत रहेका सुप्रसिद्ध व्यक्तित्व वासु शशीका स्मृतिमा स्थापित परिषदबाट हालसम्म छ दर्जनजति साहित्यकारहरू सम्मानित भइसकेका छन्।
कार्यक्रम कवि तथा पत्रकार ठाकुर बेल्बासेले गरेका थिए।
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ काठमाडौंको सहयोगमा)
