मेघनाथ छेत्रीको ‘कृति अध्ययन’ : एक पाठकीय दृष्टिकोण

गद्य विविध

भाष्कर मैनाली शर्मा, दार्जिलिङ

साहित्य मानव जीवनको अनुभूति, चिन्तन, समाजको यथार्थ तथा समयको प्रतिबिम्ब हो। साहित्यका विभिन्न विधाहरूको सिर्जनासँगै ती सिर्जनाहरूको गहिरो अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्ने समालोचनात्मक परम्पराको पनि आफ्नै महत्त्व रहेको छ। कुनै पनि साहित्यिक कृतिको वास्तविक सौन्दर्य, त्यसमा निहित विचार, भाव तथा सन्देशलाई पाठकसमक्ष उजागर गर्न समालोचनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। यसै सन्दर्भमा नेपाली साहित्यका विभिन्न विधा, साहित्यकार र साहित्यिक प्रवृत्तिहरूको अध्ययन तथा विश्लेषण समेटिएको मेघनाथ छेत्रीको ‘कृति अध्ययन’ एउटा महत्त्वपूर्ण समीक्षात्मक लेखसङ्ग्रहका रूपमा देखा पर्दछ।
मेघनाथ छेत्रीको ‘कृति अध्ययन’ पुस्तक पहिलोपटक सन् २०२२ मा प्रकाशित भएको हो। रमेश बन्धु प्रकाशन, सोनादा, दार्जिलिङद्वारा प्रकाशित यस पुस्तकमा जम्मा १७ वटा समीक्षात्मक लेख समावेश गरिएका छन्। १९२ पृष्ठमा विस्तारित यस पुस्तक आकारका दृष्टिले मझौला भए तापनि यसभित्र समेटिएका विषयवस्तुका दृष्टिले निकै गहन र अध्ययनयोग्य रहेको छ। मूलतः नेपाली साहित्यका विभिन्न विधा, साहित्यकारहरूको योगदान, साहित्यिक इतिहास तथा समालोचनात्मक प्रवृत्तिहरूको अध्ययनमा केन्द्रित यस पुस्तकले पाठकलाई नेपाली साहित्यका विविध पक्षसँग परिचित गराउने प्रयास गरेको छ।
यस पुस्तकको पहिलो लेख ‘समकालीन भारतीय नेपाली कवितामा देशप्रेम’ शीर्षकमा रहेको छ। यस लेखमा लेखकले भारतमा बसोबास गर्ने नेपालीभाषी कविहरूले आफ्ना कवितामार्फत भारतप्रतिको प्रेम, निष्ठा, भक्ति तथा राष्ट्रिय भावनालाई कसरी अभिव्यक्त गरेका छन् भन्ने विषयमा चर्चा गरेका छन्। भारतीय नेपाली साहित्यकारहरूको सिर्जनामा राष्ट्रिय चेतना र देशप्रेमको भावना कसरी प्रतिबिम्बित भएको छ भन्ने कुरालाई यस लेखले स्पष्ट पार्ने प्रयास गरेको छ।
यसैगरी, ‘भारतीय नेपाली कथा : प्रारम्भदेखि २१औँ शताब्दीसम्म’ शीर्षकको अर्को लेखमा लेखकले भारतीय नेपाली कथाको सुरुआत, विकासक्रम तथा विभिन्न कालखण्डमा देखा परेका साहित्यिक प्रवृत्तिहरूबारे चर्चा गरेका छन्। हामीमध्ये धेरैले नेपाली कथा वा नेपाली साहित्यको प्रसङ्ग उठ्नासाथ नेपाललाई मात्र केन्द्रमा राख्ने गर्छौँ। तर नेपाली भाषा र साहित्यको विकास नेपालमा मात्र सीमित छैन। भारतको दार्जिलिङ, सिक्किम, आसाम, देहरादुन तथा पूर्वोत्तर भारतका विभिन्न क्षेत्रमा पनि नेपाली साहित्यले लामो समयदेखि आफ्नो छुट्टै पहिचान निर्माण गर्दै आएको छ। यस सङ्ग्रहका यी दुई लेखले भारतीय नेपाली साहित्यको समृद्ध परम्परा र यसको ऐतिहासिक महत्त्वलाई बुझ्न पाठकलाई सहयोग पुर्‍याउँछन्।
यस सङ्ग्रहमा समावेश अर्को लेख ‘रामलाल अधिकारीको भैरवको भूत : विषयवस्तुगत अध्ययन’ हो। यस लेखमा लेखकले रामलाल अधिकारीद्वारा लिखित ‘भैरवको भूत’ निबन्धसङ्ग्रहभित्र समावेश निबन्धहरूको विषयवस्तु तथा तिनमा अभिव्यक्त विचारहरूको विश्लेषण गरेका छन्। यसका साथै निबन्धकारका रूपमा रामलाल अधिकारीको साहित्यिक व्यक्तित्व र निबन्धकारिताबाहेकका अन्य साहित्यिक योगदानमाथि पनि प्रकाश पारेका छन्।
कालेबुङमा जन्मिएका वरिष्ठ साहित्यकार महानन्द पौड्याल नेपाली साहित्यमा विशेषतः कथाकारका रूपमा परिचित छन्। उनको कथासङ्ग्रह ‘झुम्राको पुतली’ माथि केन्द्रित रहेर लेखकले ‘कथावस्तुको दृष्टिकोणले झुम्राको पुतली कथासङ्ग्रहभित्रका कथाहरूको पठन’ शीर्षकमा एउटा समीक्षात्मक लेख प्रस्तुत गरेका छन्। यस लेखमा कथासङ्ग्रहभित्र रहेका विभिन्न कथाहरूको कथावस्तु, विषयवस्तु तथा तिनमा अभिव्यक्त सामाजिक र मानवीय पक्षहरूको अध्ययन गरिएको छ। यसले महानन्द पौड्यालको कथाकारितालाई बुझ्न पाठकलाई थप सहयोग पुर्‍याउँछ।
‘लक्ष्मण श्रीमलका रेडियो नाटकहरूको वस्तुविधान’ शीर्षकको लेखमा लेखकले खरसाङका वरिष्ठ नेपाली साहित्यकार लक्ष्मण श्रीमलको नाट्यकारिताबारे चर्चा गरेका छन्। विशेषगरी उनका रेडियो नाटकहरूमा प्रस्तुत सामाजिक परिवेश, मानवीय सम्बन्ध तथा सामाजिक समस्याहरूलाई लेखकले अध्ययनको विषय बनाएका छन्। रेडियो नाटक साहित्यको एउटा महत्त्वपूर्ण विधा हो। श्रव्य माध्यमबाट प्रस्तुत हुने यस विधाले समाजमा चेतना अभिवृद्धि गर्न र सामाजिक यथार्थलाई जनसमक्ष पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। यस दृष्टिले उक्त लेख निकै उपयोगी रहेको छ।
यस पुस्तकको अर्को महत्त्वपूर्ण लेख ‘स्वतन्त्रोत्तर भारतीय नेपाली समालोचनाको पचास वर्ष : प्रवृत्तिगत अध्ययन’ शीर्षकमा रहेको छ। भारत स्वतन्त्र भएपछि भारतीय नेपाली साहित्यमा समालोचनाको विकास र विस्तार कसरी हुँदै गयो भन्ने विषयलाई लेखकले यस लेखमा प्रस्तुत गरेका छन्। विभिन्न समयका समालोचकहरूको लेखनशैली, समालोचनात्मक दृष्टिकोण तथा समयक्रमसँगै समालोचनामा देखा परेका परिवर्तन र प्रवृत्तिहरूको अध्ययन यस लेखको मुख्य विशेषता रहेको छ। यस लेखले भारतीय नेपाली समालोचनाको विकासक्रमलाई ऐतिहासिक तथा प्रवृत्तिगत दृष्टिकोणबाट बुझ्न सहयोग पुर्‍याउँछ।
नेपाली साहित्यको इतिहासमा आदिकवि भानुभक्त आचार्यको योगदान अत्यन्त महत्त्वपूर्ण रहेको छ। विशेषगरी संस्कृत भाषामा रचित रामायणलाई नेपाली भाषामा भावानुवाद गरेर उनले नेपाली साहित्यलाई नयाँ उचाइ प्रदान गरेका हुन्। भानुभक्त र उनको रामायणबारे पनि लेखकले यस पुस्तकमा चर्चा गरेका छन्। ‘भानुभक्तीय रामायण : एक अध्ययन’ शीर्षकको लेखमा भानुभक्तीय रामायणको साहित्यिक महत्त्व, त्यसको भावपक्ष तथा नेपाली समाजमा यस कृतिले पारेको प्रभावबारे अध्ययन गरिएको छ। भानुभक्तको साहित्यिक योगदानलाई बुझ्न चाहने पाठकका लागि यो लेख विशेष महत्त्वको रहेको छ।
पूर्वोत्तर भारतका वरिष्ठ साहित्यकार लोकनाथ उपाध्याय चापागाईंले नेपाली साहित्यका कथा, कविता, उपन्यास तथा नाटकजस्ता विभिन्न विधामा कलम चलाएका छन्। उनको कथाकारितालाई केन्द्रमा राखेर लेखकले ‘लोकनाथ उपाध्यायको ‘किन रोयौ उपमा’ कथासङ्ग्रहभित्रका कथाहरूको विषयवस्तु’ शीर्षकमा लेख प्रस्तुत गरेका छन्। यस लेखमा कथासङ्ग्रहभित्रका कथाहरूको विषयवस्तु, सामाजिक परिवेश तथा तिनमा प्रस्तुत मानवीय अनुभूतिहरूको चर्चा गरिएको छ। यसले पूर्वोत्तर भारतको नेपाली साहित्यिक योगदानलाई चिनाउन पनि सहयोग पुर्‍याएको छ।
भारतीय नेपाली साहित्यको क्षेत्रमा खरसाङलाई एउटा महत्त्वपूर्ण साहित्यिक केन्द्रका रूपमा लिन सकिन्छ। शिवकुमार राई र रूपनारायण सिंहजस्ता प्रतिष्ठित साहित्यकारहरूको कर्मभूमिका रूपमा परिचित खरसाङले नेपाली साहित्यको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएको छ। यहाँ अवस्थित गोर्खा जनपुस्तकालयलगायत विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरूले नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर भूमिका निर्वाह गर्दै आएका छन्। त्यसैगरी, आकाशवाणी खरसाङले पनि नेपाली साहित्यको प्रचारप्रसार र साहित्यिक सिर्जनालाई जनसमक्ष पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएको छ। ‘चन्द्रिका’ जस्तो चर्चित साहित्यिक पत्रिकाको प्रकाशनसँगै खरसाङको साहित्यिक इतिहास अझ समृद्ध बनेको देखिन्छ।
यिनै ऐतिहासिक तथा साहित्यिक पृष्ठभूमिलाई आधार बनाएर लेखकले ‘खरसाङमा नेपाली निबन्ध लेखनको एक शताब्दी (सन् १९१८–२०१८) : एक आंशिक सर्वेक्षण’ शीर्षकको लेख प्रस्तुत गरेका छन्। यस लेखमा खरसाङमा निबन्ध लेखनको सुरुआत, यसको विकासक्रम तथा विभिन्न समयमा निबन्ध साहित्यमा देखा परेका प्रवृत्तिहरूबारे चर्चा गरिएको छ। खरसाङको नेपाली निबन्ध साहित्यको इतिहासलाई बुझ्न यो लेख उपयोगी रहेको छ।
नेपाली साहित्यमा लेखनाथ पौड्यालको विशिष्ट स्थान रहेको छ। उनको ‘ऋतुविचार’ खण्डकाव्य नेपाली साहित्यको चर्चित कृतिमध्ये एक हो। यसै काव्यको ‘वर्षाविचार’ खण्डलाई केन्द्रमा राखेर लेखकले एउटा समीक्षात्मक लेख प्रस्तुत गरेका छन्। यस लेखमा वर्षा ऋतुको प्राकृतिक सौन्दर्य, सामाजिक परिवेश, मानवीय अनुभूति तथा आध्यात्मिक चेतनाका विविध पक्षहरूको चर्चा गरिएको छ। यसका साथै लेखनाथ पौड्यालको काव्यकारितामाथि पनि लेखकले प्रकाश पारेका छन्। प्रकृति र मानवजीवनबीचको सम्बन्धलाई साहित्यिक दृष्टिकोणबाट बुझ्न यस लेखले पाठकलाई सहयोग पुर्‍याउँछ।
‘समालोचकको रूपमा जस योञ्जन ‘प्यासी’’ शीर्षकको लेखमा लेखकले जस योञ्जन ‘प्यासी’को समालोचनात्मक व्यक्तित्व तथा नेपाली साहित्यमा उनले पुर्‍याएको योगदानबारे चर्चा गरेका छन्। नेपाली साहित्यका नाटक, कथा, कविता लगायतका विभिन्न विधामाथि उनले गरेका समालोचनात्मक अध्ययन र विश्लेषणलाई लेखकले यस लेखमा समेटेका छन्। यस लेखले जस योञ्जन ‘प्यासी’को समालोचनात्मक दृष्टिकोण तथा साहित्यिक योगदानलाई पाठकसमक्ष चिनाउने प्रयास गरेको छ।
अच्छा राई रसिक नेपाली साहित्यका एक विशिष्ट तथा प्रतिभाशाली साहित्यकार हुन्। उनको जीवनकाल लामो नभए तापनि नेपाली साहित्यमा उनले पुर्‍याएको योगदान उल्लेखनीय रहेको छ। विशेषगरी हास्यव्यङ्ग्यात्मक निबन्धका माध्यमबाट उनले नेपाली साहित्यमा आफ्नो छुट्टै पहिचान निर्माण गरेका छन्। यस पुस्तकमा लेखकले अच्छा राई रसिकको निबन्धकारितालाई केन्द्रमा राखेर उनको हास्यव्यङ्ग्यात्मक लेखनशैली, विषयवस्तु तथा साहित्यिक विशेषताहरूबारे चर्चा गरेका छन्। उनका निबन्धमा पाइने सामाजिक चेतना र व्यङ्ग्यात्मक अभिव्यक्तिलाई बुझ्न यो लेख महत्त्वपूर्ण रहेको छ।
नेपाली साहित्यमा भैरव अर्याल हास्यव्यङ्ग्यात्मक निबन्धकारका रूपमा विशेष परिचित छन्। उनका निबन्धहरूमा हास्य र व्यङ्ग्यको माध्यमबाट समाजका विकृति, विसङ्गति तथा मानवीय कमजोरीहरूमाथि तीक्ष्ण प्रहार गरिएको पाइन्छ। तर प्रस्तुत पुस्तकमा लेखकले भैरव अर्यालको हास्यव्यङ्ग्यात्मक पक्षलाई मात्र अध्ययनको विषय बनाएका छैनन्, उनका निबन्धमा पाइने सामाजिक तथा मानवीय पक्षलाई पनि विशेष महत्त्व दिएका छन्। ‘भैरव अर्यालको काउकुतीभित्रका निबन्धहरूमा सामाजिक मानवीय स्वभावप्रति व्यङ्ग्य’ शीर्षकको लेखमा ‘काउकुती’ निबन्धसङ्ग्रहभित्रका निबन्धहरूको विश्लेषण गर्दै लेखकले समाजमा विद्यमान मानवीय स्वभाव, सामाजिक प्रवृत्ति तथा विसङ्गतिहरूलाई व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरेका छन्। यस लेखले भैरव अर्यालको निबन्धकारितालाई फराकिलो दृष्टिकोणबाट बुझ्ने अवसर प्रदान गर्दछ।
‘पारसमणि प्रधान पाठ्यपुस्तक लेखकको रूपमा’ शीर्षकको लेखमा लेखकले नेपाली भाषा तथा शिक्षाको विकासमा पारसमणि प्रधानले पुर्‍याएको योगदानको चर्चा गरेका छन्। पाठ्यपुस्तक लेखनका क्षेत्रमा उनको योगदान अतुलनीय रहेको छ। विद्यालयहरूमा नेपाली भाषाका पाठ्यपुस्तकको अभाव रहेको समयमा उनले स्वयं पाठ्यपुस्तक लेखनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको योगदान नेपाली विषयका पाठ्यपुस्तक लेखनमा मात्र सीमित थिएन; उनले अन्य विषयका पाठ्यपुस्तकहरू पनि लेखेका थिए। नेपाली भाषा शिक्षणलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन उनले निर्वाह गरेको भूमिकालाई यस लेखले उजागर गरेको छ। विशेषगरी शिक्षाक्षेत्र र नेपाली भाषाको विकासमा रुचि राख्ने पाठकका लागि यो लेख जानकारीमूलक रहेको छ।
शिवकुमार राई नेपाली साहित्यका एक प्रतिष्ठित साहित्यकार हुन्। विशेषगरी कथाकारका रूपमा उनले नेपाली साहित्यमा उल्लेखनीय ख्याति प्राप्त गरेका छन्। उनको ‘खहरे’ कथासङ्ग्रहका लागि उनले साहित्य अकादेमी पुरस्कारसमेत प्राप्त गरेका थिए। तर यस पुस्तकमा लेखकले शिवकुमार राईको कथाकारिताभन्दा पनि उनको निबन्धकारितालाई अध्ययनको विषय बनाएका छन्। ‘शिवकुमार राईका निबन्धहरू : विषयवस्तुगत अध्ययन’ शीर्षकको लेखमा उनका निबन्धहरूमा समेटिएका विषयवस्तु, सामाजिक चेतना तथा विचार अभिव्यक्तिका विविध पक्षहरूको विश्लेषण गरिएको छ। यस लेखले शिवकुमार राईको साहित्यिक व्यक्तित्वको अर्को महत्त्वपूर्ण पाटोलाई पाठकसमक्ष प्रस्तुत गरेको छ।
यस पुस्तकको अन्तिम लेख ‘आर. पी. लामाका रेडियो वार्ताहरू : एक अध्ययन’ शीर्षकमा रहेको छ। आर. पी. लामा नेपाली समाजका एक बौद्धिक तथा अध्ययनशील व्यक्तित्वका रूपमा परिचित थिए। यस लेखमा लेखकले उनले रेडियोमार्फत प्रस्तुत गरेका विभिन्न ज्ञानवर्धक वार्ताहरूको अध्ययन तथा विश्लेषण गरेका छन्। उनका रेडियो वार्ताहरूमा देशप्रेम, इतिहास, संस्कृति तथा सामाजिक चेतनाजस्ता विषयहरूले महत्त्वपूर्ण स्थान पाएका छन्। रेडियो वार्ताका माध्यमबाट समाजलाई ज्ञान, सूचना र चेतना प्रदान गर्ने उनको योगदानलाई लेखकले यस लेखमा समेटेका छन्। यसरी पुस्तकको अन्तिम लेखले पनि नेपाली साहित्य र बौद्धिक परम्पराको एउटा महत्त्वपूर्ण पक्षलाई उजागर गरेको छ।
समग्रमा भन्नुपर्दा, मेघनाथ छेत्रीको ‘कृति अध्ययन’ नेपाली साहित्यका विविध विधा, साहित्यकारहरूको योगदान तथा साहित्यिक प्रवृत्तिहरूलाई समेटिएको एउटा अध्ययनयोग्य र जानकारीमूलक समीक्षात्मक लेखसङ्ग्रह हो। यस पुस्तकको विशेषता के हो भने लेखकले साहित्यलाई केवल कविता, कथा, निबन्ध वा उपन्यासजस्ता सिर्जनात्मक विधामा मात्र सीमित राखेका छैनन्, बरु ती विधाहरूको विकास, तिनमा कलम चलाउने साहित्यकारहरूको योगदान, उनीहरूका कृतिमा अभिव्यक्त विचार तथा समालोचनात्मक दृष्टिकोणलाई समेत आफ्नो अध्ययनको विषय बनाएका छन्।
यस पुस्तकलाई अध्ययन गर्दा नेपाली साहित्यको संसार निकै फराकिलो र विविधतापूर्ण रहेको अनुभूति हुन्छ। नेपाली साहित्य भन्नासाथ नेपालमा मात्र सिर्जना भएको साहित्यलाई सम्झिने हाम्रो सामान्य सोचलाई यस पुस्तकले फराकिलो बनाउने काम गरेको छ। भारतमा पनि नेपाली भाषा र साहित्यले लामो समयदेखि आफ्नो छुट्टै पहिचान निर्माण गर्दै आएको छ भन्ने तथ्यलाई लेखकले विभिन्न लेखमार्फत स्पष्ट पारेका छन्। विशेषगरी भारतीय नेपाली कविता, कथा, निबन्ध, रेडियो नाटक तथा समालोचनाको विकासक्रमबारे प्रस्तुत गरिएका लेखहरूले भारतीय नेपाली साहित्यको समृद्ध परम्परालाई बुझ्न मद्दत पुर्‍याउँछन्।
यस पुस्तकको अर्को उल्लेखनीय पक्ष भनेको यसमा समेटिएका साहित्यकारहरूको विविधता हो। भानुभक्त आचार्य, लेखनाथ पौड्याल, भैरव अर्याल, अच्छा राई रसिक, पारसमणि प्रधान, शिवकुमार राई, महानन्द पौड्याल, लोकनाथ उपाध्याय चापागाईं तथा अन्य साहित्यिक व्यक्तित्वहरूको योगदानलाई लेखकले आ-आफ्नो अध्ययनको विषय बनाएका छन्। विशेष कुरा के छ भने लेखकले यी साहित्यकारहरूको परिचित साहित्यिक विधालाई मात्र आधार बनाएका छैनन्, कतिपय अवस्थामा उनीहरूको कम चर्चामा रहेको साहित्यिक पक्षलाई समेत उजागर गरेका छन्। उदाहरणका लागि, कथाकारका रूपमा बढी परिचित शिवकुमार राईको निबन्धकारितामाथि गरिएको अध्ययनले उनको साहित्यिक व्यक्तित्वको अर्को पक्षलाई पाठकसमक्ष ल्याएको छ। त्यसैगरी, पारसमणि प्रधानको पाठ्यपुस्तक लेखनमा रहेको योगदानमाथि गरिएको चर्चा नेपाली भाषा शिक्षाको इतिहास बुझ्न पनि उपयोगी देखिन्छ।
साहित्यिक समालोचनाको मुख्य उद्देश्य कुनै कृतिको गुणगान गर्नु मात्र होइन, त्यसको विषयवस्तु, संरचना, विचार, सामाजिक सन्दर्भ तथा साहित्यिक महत्त्वको निष्पक्ष अध्ययन गर्नु पनि हो। यस दृष्टिकोणबाट हेर्दा ‘कृति अध्ययन’ ले विभिन्न साहित्यिक कृतिहरूलाई फरक-फरक दृष्टिकोणबाट नियाल्ने प्रयास गरेको देखिन्छ। कतै लेखकले सामाजिक पक्षलाई प्राथमिकता दिएका छन् भने कतै ऐतिहासिक, सांस्कृतिक, राष्ट्रिय तथा आध्यात्मिक चेतनालाई आफ्नो अध्ययनको केन्द्र बनाएका छन्। यसले पुस्तकलाई एउटै विषय वा विधामा सीमित हुन नदिई विविधतापूर्ण बनाएको छ।
मलाई यस पुस्तकको अध्ययन गर्दा विशेषगरी भारतीय नेपाली साहित्यको इतिहास, यसको विकासक्रम तथा साहित्यकारहरूले निर्वाह गरेको भूमिकाबारे धेरै नयाँ जानकारी प्राप्त भयो। हामीले आफ्नो वरिपरि रहेका साहित्यकार, साहित्यिक संस्था तथा साहित्यिक गतिविधिहरूको महत्त्वलाई कहिलेकाहीँ पर्याप्त रूपमा बुझ्न सकिरहेका हुँदैनौँ। तर यस्ता अध्ययनमूलक कृतिहरूले हाम्रो साहित्यिक इतिहासलाई सम्झाउने, अग्रज साहित्यकारहरूको योगदानलाई चिनाउने र नयाँ पुस्तालाई आफ्नो भाषा तथा साहित्यप्रति जिम्मेवार बनाउने काम गर्दछन्। खरसाङको साहित्यिक इतिहास, आकाशवाणी खरसाङको योगदान तथा भारतीय नेपाली समालोचनाको विकासबारे प्रस्तुत गरिएका लेखहरूले यस क्षेत्रको साहित्यिक पहिचानलाई अझ नजिकबाट बुझ्ने अवसर प्रदान गरेका छन्।
कुनै पनि साहित्यिक कृतिको वास्तविक मूल्य त्यसले पाठकमा उत्पन्न गर्ने जिज्ञासा, ज्ञान र चिन्तनमा पनि निर्भर गर्दछ। ‘कृति अध्ययन’ पढिसकेपछि पाठकलाई यसमा चर्चा गरिएका साहित्यकारहरूका मूल कृतिहरू पढ्ने इच्छा जागृत हुन्छ। यस अर्थमा यो पुस्तक आफैँमा अध्ययनको विषय मात्र नभएर अन्य साहित्यिक कृतिहरूतर्फ पाठकलाई आकर्षित गर्ने एउटा माध्यम पनि बनेको छ। विशेषगरी नेपाली साहित्यमा रुचि राख्ने विद्यार्थी, अनुसन्धानकर्ता, शिक्षक, साहित्यकार तथा सामान्य पाठकहरूका लागि यो पुस्तक उपयोगी सिद्ध हुन सक्छ।
आजको समयमा नेपाली भाषा र साहित्यको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनको जिम्मेवारी नयाँ पुस्तामाथि पनि उत्तिकै रहेको छ। सामाजिक सञ्जाल र आधुनिक सञ्चारमाध्यमको बढ्दो प्रभावका कारण पठन संस्कृतिमा केही परिवर्तन आएको भए तापनि पुस्तक अध्ययनको महत्त्व कहिल्यै कम हुन सक्दैन। हाम्रो भाषा, साहित्य र सांस्कृतिक पहिचानलाई जीवित राख्न अग्रज साहित्यकारहरूले गरेका योगदानको अध्ययन गर्नु आवश्यक छ। यसका लागि ‘कृति अध्ययन’ जस्ता पुस्तकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन्। यस्ता कृतिहरूले केवल विगतका साहित्यिक उपलब्धिहरूको स्मरण गराउँदैनन्, बरु वर्तमान पुस्तालाई साहित्यिक अध्ययन, अनुसन्धान र सिर्जनाका क्षेत्रमा अघि बढ्न प्रेरणा पनि प्रदान गर्दछन्।
अन्त्यमा, मेघनाथ छेत्रीको ‘कृति अध्ययन’ नेपाली साहित्यका विविध पक्षलाई एउटै पुस्तकभित्र समेट्ने सार्थक प्रयास हो। यस पुस्तकमा लेखकको अध्ययनशीलता, साहित्यप्रतिको रुचि, अनुसन्धानात्मक दृष्टिकोण तथा साहित्यकारहरूको योगदानलाई पाठकसमक्ष पुर्‍याउने अभिलाषा स्पष्ट रूपमा देख्न सकिन्छ। साहित्यिक कृतिहरूको अध्ययन र विश्लेषण गर्नु आफैँमा एउटा गम्भीर बौद्धिक कार्य हो। यसका लागि विषयवस्तुको गहिरो ज्ञान, ऐतिहासिक चेतना र निष्पक्ष दृष्टिकोण आवश्यक पर्दछ। लेखकले विभिन्न साहित्यकार तथा उनीहरूका कृतिहरूलाई अध्ययनको केन्द्रमा राखेर यस दिशामा प्रशंसनीय प्रयास गरेका छन्।
मलाई लाग्छ, ‘कृति अध्ययन’ जस्ता पुस्तकहरू नेपाली साहित्यको वर्तमान पुस्ताका लागि मात्र नभएर भावी पुस्ताका लागि पनि उपयोगी सन्दर्भ सामग्री बन्न सक्छन्। विशेषगरी भारतीय नेपाली साहित्यको इतिहास र यसका विभिन्न विधामा योगदान पुर्‍याउने साहित्यकारहरूलाई चिनाउन यस्ता कृतिहरूको प्रकाशन तथा अध्ययन निरन्तर भइरहनुपर्छ। किनभने कुनै पनि भाषाको साहित्य त्यस भाषामा सिर्जना भएका कृतिहरूले मात्र समृद्ध हुँदैन, ती कृतिहरूको उचित अध्ययन, मूल्याङ्कन, संरक्षण र प्रचारप्रसारले पनि समृद्ध बन्दछ। अग्रजहरूले सिर्जना गरेको साहित्यिक सम्पदालाई नयाँ पुस्तासम्म पुर्‍याउनु हाम्रो साझा दायित्व हो।
यसैले ‘कृति अध्ययन’ लाई केवल सत्रवटा समीक्षात्मक लेखहरूको सङ्ग्रहका रूपमा मात्र नहेरी नेपाली साहित्यका विविध आयामहरूलाई चिनाउने एउटा अध्ययनमूलक दस्तावेजका रूपमा लिन सकिन्छ। पुस्तकको अध्ययनले पाठकलाई नेपाली साहित्यको विगत, वर्तमान र यसको समृद्ध परम्पराप्रति थप जिज्ञासु बनाउँछ। नेपाली भाषा र साहित्यप्रति अभिरुचि राख्ने प्रत्येक पाठकले एकपटक पढ्नैपर्ने यस पुस्तकले साहित्यिक अध्ययनको क्षेत्रमा आफ्नो सार्थक उपस्थिति जनाएको छ।

000