वासुशशी साहित्य सम्मानको घोषणा

समाचार

२० असोज २०८३, काठमाडौं

वासु शशी स्मृति परिषद्ले साहित्यकारहरू हिरण्यकुमारी पाठक, मधुवन पौडेल र डा. बद्री पोखरेललाई “वासुशशी सम्मान” गर्ने घोषणा गरेको छ । परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
विगत पाँच दशकदेखि नेपाली साहित्यमा सकृय हिरण्यकुमारी पाठकका मोहचक्र, शून्यवत, दूरस्वप्न र अग्निदह जस्ता कथाकृति, अव्यक्त र सम्बन्धको चुकुल जस्ता कविताकृति, धूर्त स्याल र घमण्डी बाघ जस्ता बालउपन्यास, तोत्र प्रेम वृतान्त जीवनी तथा मिहिनेती मौरी, दश महामूर्ख, राम कथा, चतुरे बन्यो नेता र चमत्कारी औंठी जस्ता बालकथाकृति छन् ।
उनले नारी स्वर साहित्यिक पत्रिका र सम्झनामा राममान तृषित ग्रन्थको सम्पादनसमेत गरेकी छिन् ।
त्यस्तै मधुवन पौडेलका बाँच्नुको विवशता, नलिनी भाउजु, म र मेरो परिवेश, चपाएको दन्त्यकथा, आवतरण र अरु कथाहरू, आफ्नै अतीत दोहोरिए जस्तो, अन्त्यहीन परिवेश र फाजिल जिन्दगी (कथासङ्ग्रह), एउटी वेश्याको आत्मकथा (लघु उपन्यास) प्रकाशित छन् ।
त्यस्तै स्रष्टा बद्री पोखरेलको म भित्र अर्कै छ (कवितासङ्ग्रह), दश पोका भित्रका पन्ध्र अञ्जुली (यात्रा निबन्धसंग्रह), मेची-काली (निबन्ध संग्रह), अर्को यात्रा अन्टार्कटिका (अनुभवात्मक पुस्तक), अर्थशास्त्र शब्दकोश र शिव महापुराण (मूल संस्कृतबाट अङ्ग्रेजी अनुवाद) तथा आरोग्य (गीति एल्बम) प्रकाशित रहेका छन् ।
वासु शशी साहित्य सम्मानबाट यसअघि तीर्थराज वन्त, डा. मोहनहिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, हिरण्य भोजपुरे, किरण खरेल र मनबहादुर मुखिया सम्मानित भइसकेका छन् ।
परिषदका सदस्य सचिव प्रद्युम्न जोशीका अनुसार यो सम्मान यही २०८३ असोज २७ गते समर्पण गरिनेछ ।