१५ असार २०८३, काठमाडौं ।
साहित्यिक पत्रकार संघको आयोजनामा मुक्तककार पार्वती भट्टको दोस्रो कृति “शीतको समुद्र” कार्यक्रममा प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्टराई, संघका अध्यक्ष राधेश्याम लेकाली, लेखिका तथा विभिन्न मञ्चासिन अतिथिहरूले सामुहिक रुपमा लोकार्पण गरे ।
कार्यक्रममा लोकार्पित कृति “शीतको समुद्र”को समालोचक प्रमोद प्रधानले समीक्षा गर्दै सङ्ग्रहमा भएका मुक्तकहरू प्रभावशाली भएको बताए । मुक्तक विधामै साधनारत पार्वती भट्टको यो पुस्तकका आधारमा उनलाई नेपाली साहित्यको महत्त्वपूर्ण मुक्तककार भन्न सकिने धारणा प्रधानको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्टराई, अध्यक्ष राधेश्याम लेकाली, अतिथिहरू ज्ञानुवाकर पौडेल, प्राज्ञ विवश पोखरेल, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष विश्वविमोहन श्रेष्ठ, कृतिकार पार्वती भट्टले पनि आ-आफ्नो मन्तव्य राखेकी थिइन् । मुक्तककार भट्टले साहित्यप्रतिको रुचि वंशानुगत रूपमै आफूमा रहेको बताउँदै घर, परिवार, आफन्त र साहित्यकारहरूबाट प्राप्त ऊर्जा र उत्प्रेरणाका लागि सबैप्रति आभार व्यक्त गरिन् । समारोहमा कृतिकारका भाइ केशवराज भट्ट, श्रीमान् डा. मोहनप्रसाद भट्ट लगायतले पनि मन्तव्य राखेका थिए ।
यसैगरी सो कार्यक्रममा कृतिका प्रकाशक क्यानडाबासी रेडियोकर्मी प्रीति भट्टले आकर्षक भरत नाट्यम नृत्य प्रस्तुत गर्नुका साथै “आमा” शिर्षक कविता पनि वाचन गरिन् ।
कवि गोकुल अधिकारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा लोकार्पित कृति “शीतको समुद्र” बाट कविहरू सीता आस्था ढुङ्गेल र मीना चौलागाईंले २/२ वटा मुक्तक वाचन गरेका थिए ।
कार्यक्रम सञ्चालन कवि मुरारि सिग्देलले गरेका थिए ।
०००
