२१ पुस २०८२, काठमाडौँ
दिवङ्गत मनोचिकित्सक डा. सुदीप अर्यालको स्मृतिमा स्थापित, रु १, ११, १११ नगद राशिसहितको ‘डा. सुदीप अर्याल स्मृति सामाजिक रूपान्तरण पुरस्कार २०८१’ बाट वैज्ञानिक महावीर पुनलाई सम्मानित गरिएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उक्त पुरस्कार वैज्ञानिक पुनलाई प्रदान गरिएको हो । हाल उनी नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत हुन् ।
आफ्नो विशेषज्ञताको क्षेत्र विशुद्ध प्राविधिक स्वरूपको भएर पनि साहित्य, सङ्गीत, कला, खेलकुद, कानून, व्यावसायिकताको नमूना, वैज्ञानिक आविष्कारजस्ता अन्य लोकप्रिय माध्यमको प्रयोग गरी नेपाली समाजको रूपान्तरण गर्न विशिष्ट योगदान पुर्याउने प्राविधिक प्रकृतिका स्रष्टालाई प्रोत्साहित गर्ने उद्देश्यले प्रत्येक दुई–दुई वर्षमा प्रदान गर्ने गरी उक्त पुरस्कारको स्थापना गरिएको यस पुरस्कारलाई व्यवस्थापन गरिरहेको संस्थाकी सचिव तथा पुरस्कार छनोट समितिकी सदस्य–सचिव साहित्यकार भवानी खतिवडाले बताइन् । वैज्ञानिक पुनलाई उक्त पुरस्कारले सम्मानित गर्दै समाजका अध्यक्ष साहित्यकार प्रतीक ढकालले भने, ‘नेपाली वैज्ञानिक आविष्कारको क्षेत्रलाई सर्वसाधारण जनताको पहुँचमा पुर्याउन निरन्तर समर्पित भएर लागिरहनुभएका उदाहरणीय कर्मशील व्यक्तित्व वैज्ञानिक पुनको योगदानको कदर गर्दै उहाँलाई यो पुरस्कार समर्पण गर्ने निर्णय गरिएको हो ।’
पुरस्कार ग्रहण गर्दै डा. पुनले आफ्नो कामको मूल्याङ्कन गरेर उनलाई यस पुरस्कारका लागि योग्य ठहर गरी सम्मानित समेत गरेकोमा पुरस्कारका संस्थापक, छनोट समितिका सबै सदस्य तथा सिङ्गो पर्वतीय साहित्य समाजप्रति आफू आभारी रहेको बताए । उनले भने, ‘दिवङ्गत चिकित्सक र समाजसेवीको नाउँको पुरस्कार हो भन्ने थाहा पाउँदा म पनि भावुक भएको छ । भविष्यमा अझ युवा प्रतिभाहरूको छनोट गरी पुरस्कृत गर्नुहोला ।’
वैज्ञानिक पुनलाई बधाई ज्ञापन गर्दै महासचिव महेश पौड्यालले भने, ‘विज्ञानलाई जनजनको पहुँचसम्म पुर्याउने यहाँको प्रचेष्टाबाट प्रभावित भएर हामीले यहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हौँ । यसमा हामी गौरवान्वित छौँ ।’
यस अवसरमा पुरस्कारका संस्थापक तथा स्वर्गीय चिकित्सक सुदीप अर्यालका मातापिता साहित्यकार सरस्वती अर्याल तथा समाजसेवी पूर्णप्रसाद अर्याल पनि उपस्थित थिए । २०७९ मा स्थापित उक्त पुरस्कार यसअघि वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई अर्पण गरिएको थियो ।
