१२ पुस २०८२, काठमाडौं
खाइराइड हास्यव्यङ्ग्य पुरस्कार २०८२ काठमाडौंमा आयोजित एक समारोहका बीच अर्पण गरिएको छ ।
देश भरिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीबाट निबन्ध आह्वान गरी प्राप्त निबन्धको मूल्याङ्कनको आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा भएको हो ।
प्रतियोगीहरूमध्ये प्रथम भएर काभ्रे इङ्लिश माध्यामिक विद्यालय, पनौती काभ्रे की छात्रा कुसुम घिमिरेले रू. २०,००० (वीस हजार) नगद र सम्मानपत्र सहित प्रथम पुरस्कार प्राप्त गरिन् । त्यस्तै डियरवाक सिफल स्कुल, सिफल काठमाडौंका छात्र साइमन घिमिरेले रू. १०, ००० (दश हजार) नगद र सम्मानपत्र सहित द्वितीय पुरस्कार तथा डियरवाक सिफल स्कुल, सिफल काठमाडौं की अनुश्री आचार्य र सिद्देश्वर माध्यामिक विद्यालय दाँवा, भोजपुरकी विनिता प्रधान लाई जनही नगद रू. ५,००० (पाँच हजार) नगद र सम्मानपत्र सहित अर्पण गरियो ।
बाङ्गा अक्षर नेपाल शाखाका सह संयोजक डिल्लीप्रसाद मूलतिहूनको सभापतित्वमा सम्पन्न समारोहको प्रमुख अतिथि फित्कौली डटकमका प्रधान सम्पादक एवम् हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेल रहेका थिए ।
अन्य अतिथिहरूमा प्राज्ञ श्याम तमोट, हास्य कलाकार मनोज गजुरेल, सुवोध गौतम, डा. टिका लम्साल, चण्डी कार्की लगायत रहेका थिए ।
कार्यक्रममा डा. टिका लम्सालले बाङ्गा अक्षरको उपस्थिति र खाइराइड पुरस्कार स्थापनाको उद्धेश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए ।
पुरस्कार अर्पण अगाडि हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष एवम् रचना मूल्याङ्कन समितिका संयोजक लक्ष्मण गाम्नाङ्गेले तयार गरेको समीक्षात्मक टिप्पणी अनिल पौडेलले वाचन गरेका थिए ।
कार्यक्रममा पुरस्कृत छात्रछात्राहरूले आआफ्नो निबन्ध बाचन गरेका थिए ।
मूल्यांकन हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, कवि तथा साहित्यकार डा। ऋषि बस्ताकोटी र हास्यव्यङ्ग्यकार गायत्री लम्साल रहनु भएको मूल्याङ्कन समितिले गरेको हो ।
नेपाली हास्यव्यङ्ग्य साहित्यको उन्नयन र विकासका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीले यो स्थापना पुरस्कार गरेका हुन् । विद्यालय तहका छात्रछात्रामा हास्यव्यङ्ग्य साहित्य लेखनमा प्रेरणा जगाउने पुरस्कारको मुख्य उद्देश्य हो । यो पुरस्कार विद्यालय तहका विद्यार्थी बीच प्रतियोगिता गरी हरेक वर्ष प्रदान गरिन्छ ।
सो अवसरमा प्रमुख अतिथि नरनाथ लुइँटेलले हास्यव्यङ्ग्यकार खाइराइड हास्यव्यङ्ग्य पुरस्कार नेपाली हास्यव्यङ्ग्यकै पुनर्जागरणमा एउटा महत्वपूर्ण कडी हुनेछ भन्ने विश्वास व्यक्त गरे । अतिथि श्याम तमोटले तत्कालीन समयको चर्चा गर्दै अहिलेको परिवेश फरक रहेको, आफूलाई कार्यक्रममा आमन्त्रण गरेकामा हर्ष विभोर भएकोबताए । अतिथि चण्डी कार्कीले पुरस्कार संस्थापकलाई अभिभावकत्व गर्दाका पुरानो दिनको संस्मरण गरे ।
कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल र सुवोध गौतमले प्रस्तुत गरेका हास्यव्यङ्ग्यमूलक प्रस्तुतिले सभाकक्ष हाँसोमय बनेको थियो ।
सो कार्यक्रममा चक्र दवाडी, अनिता कोइराला र अनिल पौडेलले व्यङ्ग्यात्मक कविता प्रस्तुत गरेका थिए ।
०००
