१८ साउन २०८२, काठमाडौं ।
लघुकथा समाज नेपालले हरेक वर्ष प्रदान गर्दै आएको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान — २०८२’ यस वर्ष साहित्यिक पत्रकार तथा लघुकथामासमेत कलम चलाउँदै आएका साहित्यकार विमल भौकाजीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
समाजको हालै बसेको कार्यसमिति बैठकले छनोट समितिले सिफारिस गरेको निर्णयलाई अनुमोदन गर्दै उक्त सम्मानको घोषणा गरेको हो ।
रामेछाप जिल्लाको साँघुटार बजारमा जन्मिएका साहित्यकार भौकाजीका लघुकथासंग्रह ‘यात्रापछि यात्रा’ सहित कविता, बालकथा, व्यङ्ग्यसंग्रह गरेर आठ वटा कृति प्रकाशित छन् ।
ऐतिहासिक ‘शारदा’ मासिक साहित्यिक पत्रिकालाई विगत १३६ अंकदेखि सम्पादन गर्दै आएका भौकाजीले १५० भन्दा बढी कृतिहरूको सम्पादन गरेका छन् ।
भौकाजीको सम्पादनमा ९९ जना लघुकथाकारहरूको संयुक्त संग्रह ‘छचल्का’ प्रकाशित भइसकेको छ । उनी अर्को संयुक्त लघुकथासंग्रह ‘बलेँसी’ प्रकाशनको तयारीमा रहेका छन् ।
लघुकथा समाजले आउँदो भदौ ५ गते मनाउने लघुकथा दिवसका दिन उक्त सम्मान प्रदान गर्ने जनाएको छ ।
