अन्तर-विद्यालय-महाविद्यालय कविता वाचन कार्यक्रम सम्पन्न

समाचार

३१ अक्टोबर २०२५, कालेबुङ

नेपाली साहित्य अध्ययन समिति, कालेबुङ्को हीरक वर्षव्यापी विभिन्न कार्यक्रमअन्तर्गत कालेबुङको वर्सिप सेन्टरको प्रेक्षागृहमा अन्तर- विद्यालय र अन्तर-महाविद्यालय स्वरचित कविता वाचन प्रतियोगिता सम्पन्न भयो।
कार्यक्रमका सभापति जोग चामलिङ, मुख्य अतिथि सुमन बागदास, पूर्व उप -जिल्ला आयुक्त , जलपाइगुडी डिभिजन (Deputy District Commissioner), विशिष्ट अतिथिका रुपमा डा राजेन्द्र भण्डारी रहेका थिए।
कार्यक्रममा कालेबुङको पन्ध्रवटा विद्यालयका बीसजना र चारवटा महाविद्यालयबाट बाह्रवटा प्रतियोगी विद्यार्थीहरु प्रतियोगी रहेका थिए । निर्णायक मण्डलीमा डा भोजबहादुर गुरुङ, हेमचन्द्र सुब्बा, भूमिका राई, प्रदीप लोहागुन तथा समय सूचकका रूपमा योगवीर शाक्य रहेका थिए।
कार्यक्रमको सुरूमा स्वागत भाषण नेपाली साहित्य अध्ययन समितिका मूलसचिव बलभद्र शर्माले गरेका थिए। उनले समितिको हीर वर्षका उपलक्ष्यमा केही साहित्यिक कार्यक्रम गरेको छ तथा यसले आगामी २९ नोभेम्बर २०२५ क दिन नेपाली साहित्यको विकासमा नेपाली साहित्य अध्ययन समिति कालेबुङ्को योगदान विषयमा पाँच जनाको संगोष्ठी सम्पन्न हुने कुरा सूचना प्रकट गरे।
विशिष्ट अतिथिको आसनबाट डा राजेन्द्र भण्डारीले समसामयिक कविताधाराबारे सारगर्भित वक्तव्य प्रस्तुत गरे। उनले कविता लेख्न चाहनेहरुले कवितामा विम्ब, शिल्प, भाव आदिबारे राम्रोसँग अध्ययन गर्नुपर्दछ भन्ने आशय प्रकट गरे। उनका अनुसार प्रत्येक व्यक्ति कवि हुन तर जम्मैले बाहिर अभिव्यक्त गरेका हुँदैनन्। कविता हाम्रो अनुभूतीको उपज हो भन्ने आशय प्रकट गरेर। आजको कार्यक्रममा विद्यार्थीहरुले प्रस्तुत गरेका कविताहरु सुनेर खुसी प्रकट गर्दै भावी कविहरु तयार हुँदै गरेको र नेपाली कविताको भविष्य उज्ज्वल रहेको भन्दै सन्तोष प्रकट गरे।
मुख्य अतिथिको आसनबाट सुमन बागदासले साहित्यप्रती आफ्नो रुचि भएको र नेपाली भाषा र साहित्यको विकासमा नेपाली साहित्य अध्ययन समितिको विशिष्ट योगदान रहेको छ भन्दै समितिको मुग्ध कण्ठले प्रशंसा गरे। निर्णायक पक्षमा डा भोजबहादुर गुरुङले आज वाचन गरेका प्रत्येक कविता अत्यन्त स्तरीय मार्मिक र गम्भीर रहेको आशय प्रकट गरे। कार्यक्रममा डा अन्जना राईले भाषाको महत्त्वबारे एउटा कविता सुनाइन् । कार्यक्रमका सभापति जोग चामलिङले कविता प्रतियोगिता अत्यन्त सार्थक, रोचक र उत्साहमय रहेको तथा नेपाली भाषा साहित्यको भविष्य अझ उर्वर हुने कुरामा आशा प्रकट गरे।
कार्यक्रमको सञ्चालन प्रा मनिन्द्र भुजेलले गरेका थिए । विद्यालय स्तरीय स्वरचित कविता प्रतियोगितामा ऋद्धिश्री थापा, डा ग्राहम होम्स विद्यालयका विद्यार्थी प्रथम, टिस्टा उच्च विद्यालयकी सेविका गुरुङ र बिन्ती लेप्चा दोस्रो र तेस्रो भए। यसैगरी महाविद्यालय स्तरीयमा गोरुबथान महाविद्यालय विद्यार्थी सपन राई प्रथम, जिल्ला शिक्षा प्रशिक्षण केन्द्रबाट क्रमैले सुपृया राई दोस्रो र निर्जला प्रधान तेस्रो भइन।
अधिकांश कविता बडो रोचक, मर्मस्पर्शी र स्तरीय रहेका थिए। उक्त कार्यक्रममा वाचन गरिएका कविताहरु सुन्दा यसको भविष्य आशालाग्दो रहेको अनुभव हुन्थ्यो । कार्यक्रममा दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको ।