५ जुलाई २०२५, गान्तोक, सिक्किम
गान्तोकको जनपक्ष प्रकाशनको आयोजनामा प्रोफेसर डा दिवाकर प्रधानको अनुसन्धानात्मक र चिन्तनमूलक निबन्धात्मक लेख सङ्ग्रह ‘यसरी बुझ्दा‘ सार्वजनिक भयो।
साहित्यकार राज के श्रेष्ठको अध्यक्षतामा भएको उक्त समारोहमा भाषाविद् डा गोकुल सिन्हा प्रमुख अतिथि रहेका थिए । लेखककी अर्धाङ्गिनी दिवङ्गत निर्मला प्रधानको चौथो पुण्यतिथिको स्मरणमा आयोजित समारोहमा दिवङ्गताको छायाछविमा पुष्पाञ्जलि गरी कार्यक्रमको थालनी भएको थियो ।
समारोहमा ग्रन्थका भूमिकाकार तथा सिक्किम विश्वविद्यालयका प्राध्यापक डा बलराम पाण्डे र नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङका डा टेकबहादुर छेत्रीले ग्रन्थको विशेषता, महत्त्व र उपयोगिताबारे प्रकाश पारेका थिए । डा पाण्डेले स्थापित र जनजातीय धर्मसंस्कृतिबारे लेखिएको निबन्धहरूले गोर्खा जातिको मौलिकता विमर्शन गरिएको हुनाले प्रत्येक नागरिकको घरमा यो पुस्तक पुग्नुपर्ने हो भनी अनुनय गरे।
लेखक श्री दिवाकर प्रधानले सनातन संस्कृतिले चिनाएको विश्व बुझ्न आफू यो व्यसम्म व्यस्त रहेको बताए। प्रस्तुत पुस्तक जिज्ञासु विद्यार्थीहरुको संसर्ग र समयोचित प्रश्नहरूको उत्तर खोज्ने, पर्गेल्ने र त्यसलाई बुझ्ने अकिञ्चन प्रयास हो भने।
प्रमुख अतिथिको सम्बोधनका क्रममा डा गोकुल सिन्हाले संस्कृतिका विविध पाटा रहेका र त्यसको एउटा पाटो चिनाउने लेखकको सत्प्रयास सराहनीय रहेको मन्तव्य राखे । हामीले बुझिल्याएका कुरालाई अझ परिष्कृत रूपमा पुस्तक प्रकाशित भई आउँदा नयाँ पिँढीलाई धेरै लाभ हुने श्री सिन्हाले बताए।
सभाध्यक्षको सम्बोधनमा श्री राज के श्रेष्ठले प्रोफेसर दिवाकर प्रधानजस्ता विद्वान्को संसर्ग पाएको बताउँदै आगामी दिनमा उनीबाट पथप्रदर्शक ग्रन्थहरू सृजित हुने अपेक्षा रहेको बताए ।
समारोहमा कवि प्रवीण खालिङ, परशु ढकाल, सुश्री रञ्जना कार्कीले कविता वाचन समेत गरेका थिए ।
कार्यक्रम जनपक्ष प्रकाशनका पुण्यप्रस्ताद शर्मा, श्रीमती गीताश्री शर्मा तथा श्रीमती मणिका शर्माको सक्रियतामा सम्पन्न भएको थियो ।
०००
