स्याङ्जामा साहित्यिक जमघट

समाचार

३१ जेठ २०८२, स्याङ्जा ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वर्ष पुगेको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३३औं पाइलाको रूपमा आयोजना गरी मनाइयो ।
सो कार्यक्रममा नेपाली लेखक संघद्वारा गत वैशाख १६ गते तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा प्रज्ञा भवन, कमलादी,काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीलाई प्रदान गरिएको मानार्थ सदस्यता सम्मान समर्पण गरिएको थियो । त्यस्तै वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक मिलन समीर नेपाली लेखक संघको गत चैत १६ र १७ गते शान्तिभूमि, लुम्बिनीमा सम्पन्न भएको आठौं राष्ट्रिय अधिवेशनबाट केन्द्रिय सचिवमा र संस्थापक सहयात्री शम्भु अर्याल प्रगतिशील लेखक संघको गत चैतमा काठमाडौंमा सम्पन्न भएको राष्ट्रिय अधिवेशनबाट केन्द्रिय पार्षद सदस्यमा निर्वाचित भएकोमा हार्दिक बधाई ज्ञापनसमेत गरिएको थियो ।
वरिष्ठ साहित्यकार व्यक्तित्व देवीप्रसाद वनवासीको अभिभावकत्वमा अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रममा चण्डिका प्रसाद भट्टराईद्वारा कार्यक्रममा वाचन गरिएका रचनाहरूमाथि केन्द्रित रहेर समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा स्याङ्जाली कवि व्यक्तित्वहरू शम्भु अर्याल, दिलीप तिवारी, स्मारिका अर्याल, पारिश्वर न्यौपाने, सरस्वती अर्याल, खगेन्द्र जंग थापा, प्रेम प्रसाद सुवेदी, इन्द्र प्रसाद पाठक, ढाल बहादुर के.सी., ध्रुव प्रसाद शर्मा पङ्गेनी, लेखनाथ काफ्ले, भविश्वर पङ्गेनी, पुजा रेग्मी, शान्ता थापा, चण्डिकाप्रसाद भट्टराई, मिलन समीर, देवीप्रसाद वनवासी आदिद्वारा आफ्ना मुक्तक, गजल र कविता रचनाहरु वाचन गरिएको थियो ।
कार्यक्रममा वाचन गरिएका रचनाहरूमध्ये उत्कृष्ट रचनाको रूपमा कवि ढाल बहादुर के.सी.द्वारा वाचन गरिएको देशदर्द शीर्षकको कवितालाई पुरस्कृत गरिएको थियो ।

(मिलन समीरको सहयोगमा)