२० अप्रिल २०२५, न्यूयोर्क
अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनारत लक्ष्मी श्रेष्ठको पाँचौँ कृति “सगरमाथाको आर्तनाद” कविता सङ्ग्रहको विमोचन सम्पन्न भएको छ ।
अनेसास न्यूयोर्क च्याप्टरले आयोजना गरेको सो कार्यक्रममा अनेसासका निवर्तमान अध्यक्ष गोवर्द्धन पूजा, निवर्तमान उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल मुक्तक प्रतिष्ठान अमेरिकाका अध्यक्ष आनन्द श्रेष्ठ, अनेसासका केन्द्रीय सदस्य शकुन ज्ञवाली, च्याप्टर उपाध्यक्ष जानुका वस्ती ढकाल, महासचिव नदीया लिवाङ र सर्जक स्वयमले सो कृतिको सामुहिक विमोचन हुन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै साहित्यकार पूजाले राम्रा कवितालाई सहजै परिभाषित गर्न नसकिने र नहुने बताउँदै पाठक र समालोचकलाई मनन र मूल्याङ्कन गर्ने जिम्मा दिनुपर्ने बताए ।
कार्यक्रममा साहित्यकार आनन्द श्रेष्ठले कृतिको समीक्षा गरेका थिए भने राजेन्द्र श्रेष्ठले कृतिको सफलताको कामना गर्दै विमोचित कृतिबाट कविता वाचन गरेका थिए ।
सो कार्यक्रममा डा. गोविन्द कोइराला, शकुन ज्ञवाली, शारदा क्षेत्री, लक्ष्मी गिरी, भरत शाक्य, ज्योति राई, कमला प्रसाई, मंगल दास श्रेष्ठ, राजन महर्जन, हजुरी शाह कँडेल, मीनलाल नकर्मी, संगीता उप्रेती, ध्रुव श्रेष्ठ, हरिश हमाल, मनोज खनाल, यम अधिकारी, बिमला हमाल, ज्योति पौडेल, किशनसिंह धामी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तारा-किशन फाउण्डेशनका तर्फबाट किशन सिंह धामीले सर्जक लक्ष्मी श्रेष्ठ र शारदा क्षेत्रीलाई सम्मान गरिएको उक्त कार्यक्रममा उपस्थित अधिकांशले सर्जक श्रेष्ठलाई खादा र पुष्प गुच्छाले सम्मानित गरेर खुशी व्यक्त गर्दै निरन्तर लेखनको कामना गरेका थिए ।
अनेसास न्यूयोर्क च्याप्टरका तर्फबाट शकुन ज्ञवाली र लक्ष्मी श्रेष्ठले कार्यक्रमका प्रमुख अतिथि गोवर्द्धन पूजालाई सम्मान- पत्र, दोसल्ला र भादगाउले कालो टोलीले सम्मान गरेका थिए भने उनकी पत्नी कुशल श्रेष्ठलाई दोसल्लाले सम्मानित गरिएको थियो ।
अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष लक्ष्मी श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्तकार्यक्रमलाई महासचिव नदीया लिवाङले सञ्चालन गरेकी थिइन् ।
