११ चैत २०८१, काठमाडौं
सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा निबन्धकार श्रीओम श्रेष्ठ’रोदन’द्धारा लिखित व्यक्ति निबन्धसंग्रह”अभिवन्द्य”को तेस्रो संस्करण सार्वजनिक भएको छ । प्रा.डा.लक्ष्मणप्रसाद गौतम, समालोचक प्रमोद प्रधान, निबन्धकार ‘रोदन’लगायतले उक्त निबन्धसंग्रहको सार्वजनिक गरे।
उक्त कृतिमाथि समालोचनात्मक मन्तव्य राख्दै प्रा.डा.तथा वरिष्ठ समालोचक गौतमले वताए,‘पुस्तक पढ्नु भन्दा मान्छेलाई पढ्न कठीन छ । यो दुस्साहस श्रीओम श्रेष्ठ रोदनले गरेका छन् । अभिवन्द्य मान्छे पढेर निस्केको निबन्ध कृति हो । भन्न सकिन्छ नयाँ शैलीको लगभग श्रेष्ठले आविस्कार गरेका छन्। क्रियाविना वाक्यको प्रयोगले पनि निबन्ध राम्रा छन् । नेपाली निबन्ध साहित्यमा यो शैलीको विकास अभिवन्द्यले प्रयोग छ । रोदनले धेरै स्रष्टाहरुको अनुद्घाटित तथ्यलाई निबन्ध मार्फत बाहिर ल्याएका छन् ।”
कार्यक्रममा समालोचक प्रमोद प्रधानले शुभकामना मन्तब्य दिएका थिए । उनले सरल भाषाशैलीमा मीठो ढंगले आएका निबन्धहरुले सबै पाठकको माया पाउने बताए । आफ्नो बारेमा पनि उक्त कृतिमा एउटा निबन्ध परेको बताउँदै सोही कृति सार्वजनिक गर्न पाउँनु सुखद भएको भन्दै सफलताको निम्ति शुभकामना दिए ।
कृतिका स्रष्टा श्रीओम श्रेष्ठ’रोदन’ले कृतिको रचनागर्भको बारेमा जानकारी दिंदै भने-‘भोली के हुन्छ भनेर भन्न सक्दिन । शालिक र स्मृतिग्रन्थप्रति उतिसाह्रो विश्वास पनि छैन् ।त्यसैले जिउँदै सम्मान गर्ने र सम्मानग्रन्थ निकाल्नु पर्दछ। आफुले आजसम्म संगत गरेका मान्छे खराव छैनन् । जीवनमा आफ्नो कमाई भनेकै साथीभाइ हुन् ।’
समीक्षक प्रदीप सापकोटाले विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सामिप्यता,उठबस,भोगाइ,सरसंगत,सहकार्य,यात्रा र उनीहरुका योगदानलाई निजात्मक अनुभूतिको चास्नीमा मज्जैले घोलेर लेखिएका व्यक्ति निबन्धहरु पठनीय भएको बताए। उनले-‘निबन्ध काव्यात्मक जस्तो मीठासपूर्ण छ । सत्कर्म गर्नेहरुप्रति कृतिले वन्दना गरेको छ । सरल भाषाले निबन्धको प्राण भरेको छ। अभिवन्द्यले परम्परावादी निबन्धकारिता तोडेको छ । निबन्धसंग्रह जानकारीमूलक छ।”
सुनकोसी प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले संस्थाको बारेमा जानकारी दिंदै केही गरौं भन्ने भावनाले प्रतिष्ठानको स्थापना गरिएको बताए ।
प्रतिष्ठानका कोषाध्यक्ष तारा केसीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कवि एवं वरिष्ठ सञ्चारकर्मी ठाकुर बेलवासेले गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई सदस्य पूर्णबहादुर श्रेष्ठ’ह्रदयङकृत’ले धन्यवाद ज्ञापन गरेका थिए ।
यस कृतिमा ५९ प्रतिभाहरुको बारेमा रोदनले लेखेका छन् ।
