शंकर लामिछानेको ४९औं स्मृति दिवस सम्पन्न

मुख्य समाचार

शंकर लामिछानेको ४९औं स्मृति दिवस सम्पन्न

१० माघ २०८१,काठमाडौं ।

प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ४९ औं स्मृति दिवस बागमती प्रदेशका सांसद एवं पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता मा सम्पन्न भएको छ । समारोहलाई प्रमुख अतिथि श्रेष्ठले लामिछानेको तस्वीरमा माल्यार्पण गर्दै ‘नेपाली साहित्यमा निबन्धको माध्यमले योगदान गर्ने स्व.लामिछानेलाई मुर्धन्य साहित्यकारको रुपमा आफुले बुझेको’ बताए । उनले नेपाली भाषा र साहित्यको लागि प्रदेशको तर्फबाट र व्यक्तिगत पहलमा हुन सक्ने सबै सहयोगको लागि सदैव तयार भएको बताए ।

समारोहलाई सम्बोधन गर्दै प्रा.डा.सुरेन्द्र केसीले बताए-‘जम्मा ४८ वर्ष बाँचेका स्व.लामिछानेको नेपाली साहित्यमा गरेको योगदान हेर्दा उमेरले केहि नहुने रहेछ भन्ने निष्कर्षमा म पुगें । लामिछानेका निबन्ध लगायतका रचना साँच्चै अब्बल छन् ।’ प्रा.डा.गोविन्दमान सिंह कार्कीले भने, ” शंकर लामिछानेको समग्र व्यक्तित्व र साहित्यमा उनको भूमिका, व्यक्तित्व र योगदानको चर्चा गर्दै ‘नेपाली साहित्यमा हाइकु भित्र्याउने श्रेय लामिछानेलाई जान्छ । उनको पहिलो रचना वि.सं.२००३ सालमा छापिएको थियो । लामिछाने लेखनीमा मात्र सीमित थिएनन् । सम्पादनको भूमिकामा समेत उनको योगदान छ।’
वरिष्ठ कथाकार,साहित्यिक पत्रकार किशोर पहाडीले आफू लेखनीमा लामिछानेको पदचाप पहिल्याउँदै हिँडेको बताउँदै स शरीर नभेटे पनि उनको सफाचट बनेर हिँड्ने बानीको बारेमा सुनेको बताए । उनले लामिछानेको स्मृतिमा उति वेला लेखिएको लेख सुनाए ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको थियो । उनले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सबैलाई स्वागत गरेका थिए ।

लामिछानेकी काकाकी छोरी एवं प्रतिष्ठानका संरक्षक संगिता शर्माले आफ्नो नाम पनि दाइ शंकर लामिछानेले राखि दिएको बताउँदै घरमा महाकवि लक्ष्मी प्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्यालहरू आउने गरेको बताइन् । यसैगरी उनले शंकर लामिछानेले सदैव हामीलाई जहाँ पनि चिनाउने, तिमीहरू अघि बढ्नु पर्छ भनेर उत्प्रेरित गर्ने गरेको स्मरण गर्दै कार्यक्रम समापन गरिन् ।

कार्यक्रममा प्रतिष्ठानले विमल भौकाजीलाई जन्मदिनको शुभकामना सहित सम्मान गरेको थियो भने प्रा.डा. गोपी उप्रेती, किशोर विश्वकर्मा र केदार कोइरालालाई सम्मान गरेको उक्त कार्यक्रमको सञ्चालन शंकर लामिछाने प्रतिष्ठानका महासचिव साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ले गरेका थिए ।

(काठमाडौंबाट प्रदिप सापकोटाको सहयोगमा)

Leave a Reply