(दशैं भर्खरै सकिएको छ । तर दशैं सम्बन्धी कविता पुराना हुँदैनन् । दशैंका केही कविताहरू कवि मित्र प्रमोद सारङ्गले सङ्कलन गर्नु भएको रहेछ । यो उहाँकै सौजन्यबाट प्राप्त भएको हो र क्रमसः प्रकाशित गर्दै जानेछौं ।-सम्पादक)
– शैलेन्द्र साकार
दशैँका लागि खल्पीको अचार पनि
र, अचार हाल्नको लागि बुढो पुरानो काँक्रो पनि
माइकल कर्बीको आर्ट अफ टाइम पनि
जसभित्र म आभांगार्द र नयाँ लेखन सोच्छु
अक्टोवियो पाजले पहुँचमा पु-याउने र
छुट्ने बेलामा छाड्ने मूल्यांकनको
कंक्रिट कविता पढ्दै नयाँ घर पनि सोच्छु
त्यो कंक्रिट हो कि होइन?
(प्रश्न आफैँसित )
घर पनि कविता पनि
स्वास्नीलाई मक्ख पार्ने
नयाँ नयाँ टेक्निक पनि साथीहरूलाई कहिल्यै नलेखिने
कविताको थिम सुनाउँदै र किरिया खाँदै—अब केही नयाँ लेखुँला।
आइमाईहरू मरुभूमि भै सके
त्यहाँ जति बीउ छर केही हुने होइन भन्ने
मेरा उत्साही नपुंसक साथीहरू तिमीहरूका लागि फेरि किन परिवार नियोजन?
विदेशीहरूका आँखामा
आफ्नो मूल्यांकन पर्खिरहेका
नेपाली बुद्धिजीवीहरूको पंक्तिमा आफूलाई उभ्याउँदै
आन्तरिक मामिलामा हस्तक्षेप नगर्न
असल छिमेकीहरूको नियतबारे शङ्का उठाउँदै हरेक शनिबार पशुपतिनाथ र हरेक मङ्गलबार सिद्धिविनायक गणेशको अक्षता निधारमा टाँसेर
निर्धक्क भविष्य बनाइरहेछु ।
साप्ताहिक राशिफल अनुसारको
भविष्य बाँचिरहेछु अत्यन्त जीवन्त बाँचिरहेछु ।
