राजेश ढुंगाना, चन्द्रगढी, झापा
नीलो
सादा आकाशबाट
ह्वाल–ह्वाल्तीसँग
रातो रगत बगेको छ
आकाशलाई
कहिले र कसले
रेट्यो–काट्यो गर्दनमा ?
पानीलाई समेत
रेट्न सक्ने
मेरो समयको मान्छे
कति
कृतघ्न र पापी छ
आकाश समेतलाई काट्न सक्ने
नीलो
सफा आकाशको
आलो रगतले
सृष्टि रोएको छ धर्धरी
र, हतियारले रेटिएको पानी
बग्न छाडेर चट्टान भएको छ
नीलो आकाशको
र, कञ्चन–सङ्लो पानीको
श्राप लाग्छ मान्छेलाई
उसलाई काटे–रेटेकोमा
हो,
मेरो समयको मान्छेलाई
देवताको होइन
पानी र आकाशको
श्राप लाग्छ ।
000
