स्मृतिबिम्बमा कृष्णचन्द्रसिंह प्रधान

गद्य विविध

 

डीआर पोखरेल, चितवन

कृष्णचन्द्रसिंह प्रधान परिचय गराइराख्नुपर्ने नाम होइन । उहाँ नेपाली साहित्यका स्वनामधन्य स्रष्टा हुनुहुन्छ । उच्चतहको समालोचक, निवन्धकार र कवि समेत हुनुहुन्छ ।
यसपालि उहाँको शतवार्षिकी वर्ष हो । उहाँ बाँचिरहनु भएको भए १०० बर्षको हुनु हुन्थ्यो। आज उहाँको भौतिक शरीर हामीसँग छैन, केवल उहाँका कुशल कर्म र बिचारहरूमात्र हामीसँग रहेका छन् ।
उहाँको जन्म बि.सं. १९८२ श्रावणमा काठमाडौंमा भएको थियो र विसं २०६७ सालअसार १७ गते उहाँको अवसान भएको थियो । पचासी बर्षे जीवनकालमा उहाँले धेरै काम गर्नुभयो । नेपाली साहित्य भण्डारलाई आफ्ना महत्त्वपूर्ण कृतिहरूले भर्नुभयो । बीस बर्षकै उमेरदेखि साहित्य-यात्रा सुरु गर्नु भयो । नेपाली र नेपाल भाषा दुवैमा मानक कृतिहरू दिनुभयो । विसं. २००२ सालमा नै “उदय” पत्रिकामा “अश्रुधार” शिर्षकको कविता प्रकाशित गरेर साहित्य यात्रा सुरु गर्नुभएका कृष्णचन्द्रले विसं २००८ सालदेखि त पुस्तकाकार कृतिहरू प्रकाशन गर्न थाल्नुभयो । भङ्ज्याङनिरै (२००८) कविता सङ्ग्रह, कवि ब्यथित र काब्य साधना”(२०१५), “सालीक”(२०२६) निबन्ध सङ्ग्रह, “नेपाली उपन्यास र उपन्यासकार”(२०३७) समालोचना सङ्ग्रह, “सिर्जनाको सेरोफेरो”(२०४०) समालोचना सङ्ग्रह, “अनाम सत्य”(२०४०), निबन्ध सङ्ग्रह, “पाइला आगतमा टेकेर” (२०४७) निबन्ध सङ्ग्रह, “बाग्मतीको हरक”(२०५७) निबन्ध सङ्ग्रह, नफर्कने ती दिनहरू (२०५९) आत्म संस्मरण, “कृति अवलोकन” (२०५९) समालोचना सङ्ग्रह आदि नेपाली भाषाका कृतिहरू र “झिगु” बाखं साहित्य” (२०३४)- समालोचना, “पलाँची लिना” समालोचना आदि नेपाल भाषाका कृतिहरूप्रकाशित भएका देखिन्छन् ।
यसरी एक दर्जन बढी पुस्तकाकार कृतिहरुका साथै अनेकौं फुटकर रचनाहरू दिए नेपाली साहित्यलाई धनधान्य तुल्याउनु भएको छ । समालोचना, निबन्धका, कविता तथा आत्म संस्मरणका कृतिहरू दिएर उहाँ नेपाली साहित्यको शिखर हुनुभएको छ ।
यस्ता वरिष्ठ स्रष्टासँग मेरो भने पहिले नै परिचय हुन सकेन । तर प्रत्यक्ष भेट नभए पनि उहाँका कृति पढेर प्रभावित भएको थिए । उहाँसँग भेट भने २०६५ सालको असारमा भएको थियो । उहाँहरू अस्वीकृत विचार साहित्य पुरस्कार अर्पण गर्न चितवन आउनु भएको थियो। कृष्णचन्द्र प्रधान सँगै नगेन्द्रराज शर्मा र कविताराम श्रेष्ठ आउनुभएको थियो । कविताराम श्रेष्ठ ओखलढुङ्गाको हुनुहुन्थ्यो । हामी दुवै एउटै जिल्लाका थियौं। ओखलढु‌‌ङ्गाको भनेपछि कृष्णचन्द्र सिंह प्रधानले मलाई विशेष स्नेह दिनु भएको थियो । उहाँले पुरस्कार रविकिरण निर्जीवलाई अर्पण गर्नु भएको थियो।
यस पुरस्कार अर्पण कार्यक्रममा म पनि सहभागी रहेको थिएँ। मैले पनि रवि सरको बारेमा बोलेको थिएँ। साथै कृष्णचन्द्र प्रधानको सालिक निबन्ध संग्रह र ‘नेपाली उपन्यास र उपन्यासकार’ समालोचना ग्रन्थभित्र रहेका पारिजातका दुई उपन्यासहान ‘शिरीषको फूल’ र ‘बैसको मान्छे’ सम्बन्धी केही जिज्ञासा पनि राखेको थिएँ। त्यतिखेर उहाँले बढो शालीन र सन्तुलित जवाफ दिनु भएको महसुस भएको थियो। तर के जवाफ दिनुभयो त्यो बिर्सिएँ । अतिथिको आसनबाट उहाँले छोटो तर खिरिलो भाषण पनि गर्नु भएको थियो । उहाँ मलाई भद्र मानिस लग्यो। यस्तै नगेन्द्रराज शर्माले पनि बोल्नु भए जस्तो लाग्छ । उहाँसँग परिचय नभएकोले मैले उहाँलाई त्यति याद गरिंन। कविताराम श्रेष्ठ उर्फ रामवहादुर श्रेष्ठ भने जिल्लावासी भएकाले उहाँलाई राम्ररी सुनेको थिएँ। उहाँले वि.सं. २०३७ नै बाल उपन्यास ‘ वनदेवी’ लेख्नु भएको रहेछ। ओखलढुङ्गाको हुनुका कारणले यो मलाई विशेष लाग्यो । ओखलढुङ्गाबाट यसअघि उपन्यास प्रकाशित भएको थाहा पनि थिएन । वि.सं. २०१५ सालमा प्रेमनारायण प्रेमीले ओखलढुङ्गा रुम्झाटारमा नाटक खेलाउनु भएको र त्यो नाटक पछि प्रकाशित पनि भएको हो। ओखलढुङ्गाबाट समालोचना विधामा हात हाल्ने मध्येको आफू पनि पर्छु भन्ने लागेर समालोचक कृष्णचन्द्र र चलचित्रको पटकथा समेत अनेक पुस्तकहरु प्रकाशित गरी ओखलढु‌‌ङ्गाको नाम रोशन गर्नुभएकोमा कवितारामलाई धन्यवाद पनि दिएको थिएँ। “मेरो प्यारो ओखलढुङ्गा” एउटै रचनाले ओखलढुङ्गालाई दिगन्तमा परिचय गराउनु हुने सिद्धिचण श्रेष्ठलगायतका स्रष्टाहरूलाई बेलाबेलामा जन्माउने गरेको छ ओखलढुङ्गाले भन्ने कुराले मलाई हर्षित तुल्याएको थियो ।
म कृष्णचन्द्रसिंह प्रधान प्रति औधी नै श्रध्दाशील भएको थिएँ । तर उहाँका बारेमा केही लेख्न सकेको थिईंन । यसपटक अमेरीकाबाट गोविन्द गिरी प्रेरणाले यस वर्ष कृष्णचन्द्र सिंह प्रधान र विजय मल्लको शतवार्षिकी भएकोले केही लेख्नुस् न भनी मेसेन्जरमा सूचना प्रवाह गर्नुभएपछि मेरो मनमा रहेको पुरानो धोको मेट्ने मौका मिल्यो भन्ठानेर यो लेखोट तयार पारेको हुँ। यसका लागि ‘प्रेरणा’जीलाई धन्यवाद पनि दिनुपर्छ ।
कृष्णचन्द्रप्रति मनमा श्रध्दा त छँदै थियो, यसमा थप उहाँले ओखलढुङ्गे भनेर गर्नु भएको स्नेहले मलाई उहाँप्रति केही गर्नुपर्छ भनेर उद्वेलित गराएको थियो । मलाई लाग्छ उहाँमा गम्भीर कोटिको चिन्तन नमन गर्ने क्षमता थियो । साथै चिन्तन गरिएका कुराह‌रूलाई सुन्दर अभिव्यक्ति दिने कौसल रहेको थियो र छ । सैद्धान्तिक र कृतिपरक दुबै खालका खालका समालोचना लेख्न सक्ने र अझ दुवैलाई आफ्नो बुझाइमा राखेर प्रस्तुत गर्न सक्ने क्षमता उहाँमा रहेकाले र स्वाध्यायबाटै यस तह‌को उचाईंमा राख्नु भएकाले उहाँ मेरो नजरमा सधैं श्रद्धाको पात्र रहनु भएको हो ।
“केही नगरेर कुण्ठित हुनुभन्दा केही गरेर हलुङ्गिगिनु नै राम्रो हो” किन लेख्ने ? लेखेर के हुन्छ र ! भन्ने जिज्ञासामा उहाँले यस्तो उत्तर दिनुभएको थियो । ‘हाम्रो लेखाई आशावादी हुनुपर्छ । समाजका विकृति विसङ्गति माथि हाम्रा अपेक्षित आदर्शले विजय प्राप्त गर्छ । हाम्रो लेखाई उद्देश्यपूर्ण पनि हुनुपर्छ र यथार्थवादी पनि हुनुपर्छ भन्ने खालका विचारहरु उहाँले ‘नेपाली उपन्यास र उपन्यासकार’ मा राख्नु भएको छ । यथार्थलाई जस्ताको तस्तै फोटो कपीको रुपमा नउतारी त्यसमा आफ्नो अनुभूति पनि आउनुपर्छ र यो सत्यको आभास हुने गरी आउनु पर्छ भन्ने उहाँको मत रहे‌को देखिन्छ। उपन्यास र जीवन वारे उहाँ के भन्नु हुन्छ भने -“उपन्यास कल्पना हो, भलै त्यसमा वस्तु र घटना वा जीवन यथार्थ किन नहोस्। यस्तै उपन्यास यथार्थ हो , भलै त्यसमा वर्णित वा चित्रित घटनाहरु, वस्तुहरू र जीवनहरू काल्पनिक किन नहुन् ।”( नेपाली उपन्यास र उपन्यासकार, २०६१ पृष्ठ ७१) । जीवनजगतप्रति कति मसिनु हेराई छ उहाँको । कति डिटेलमा जान सक्नुहुन्छ उहाँ ! उहाँका विचार अभिब्यक्ति पढिरहँदा ठाउँ ठाउँमा रोकिएला जस्तो हुन्छ । बस्तुको गहिराइमा गएर सुक्ष्मातिसुक्ष्म कुराहरू उधिन्नुहुन्छ उहाँ । यसैले त उहाँ फरक हुनुहुन्छ ।
आज शतवार्षिकी वर्षमा उहाँलाई सम्झिरहेको छु । उहाँलाई सम्झने भनेको उहाँको योगदानलाई सम्झिने हो । तर यहाँ यसरी सम्झिन सकिएको छैन । न यहाँ उहाँको ब्यक्तित्त्वबारे विस्तारमा चर्चा गरियो न उहाँका कृतिहरूबारे विवेचना गरियो । उहाँले २०१५ सालमै “कवि ब्यथित र काब्य साधना” समालोचना कृतिप्रति पाउनु भएको मदन पुरस्कार २०३७ र २०४७ मा दुई पटक पाउनु भएको साझा पुरस्कार, यस्तै त्रिभुवन प्रज्ञा पुरस्कार र गोरखा दक्षिणबाहु बारे पनि चर्चा गरिएन ।
बास्तवमा कृष्णचन्द्रसिंह प्रधान तीखा अन्तर्दृष्टि भएको लेखक हुनुहुन्थ्यो । उहाँमा चिन्तनगत उँचाई पनि थियो र शिल्पगत सौष्ठव पनि थियो । सैध्दान्तिक र कृतिपरक समालोचनालाई एकैसाथ प्रस्तुत गर्ने दक्षता पनि थियो । अझ मुख्य कुरो त उच्च शिक्षा विना पनि आफ्नो प्रतिभा र प्रयत्नको बलमा मानिस यति उचाइमा उठ्न सक्छ भन्ने उहाँ विरलाकोटी उदाहरणमध्येको पर्नुहुन्छ । यस्ता अद्भूत् क्षमताका धनी इतिहासमा कुनै कुनै कालखण्डमा जन्मिने गर्छन् । तर समयले त्यस्ता मानिसलाई नचिन्न पनि सक्छ । हामीले पनि कृष्णचन्द्रलाई अहिलेसम्म पनि चिन्न सकेनौं कि जस्तो लाग्छ । उहाँप्रति हार्दिक श्रध्दासुमन ।

०००