मृत्यु भय (लघुकथा)

कथा

किरण आचार्य, नेपालगन्ज

साँझपख घुम्न निस्किदा एकजना वृद्ध व्यक्तिसित कुराकानी गफगाफ हुन लाग्यो | छोटो समयमा नै मबाट निकै प्रभावित भएका उनीसित भेट्दा एकअर्काका कुरा सुन्ने क्रम बढ्यो | हामी दुवै आआफ्ना मनमा गुम्सिएका भाव अभिव्यक्त गर्ने गर्थ्यौं अनि खुशी हुने गर्थ्यौं | आज उनी निकै उदास थिए |
मैले सोधें , “बुबा , आज हजुरलाई आराम छैन ?”
उनी केहि बोलेनन् बरु उनका आँशुले धेरै कुरा गरे |
उनले भने , “ मेरो कुरा सुनीदिने हजुर मात्र हो , यो संसारमा |”
उनका कुराले म केहि विस्मित भएँ र प्रश्न गरें , “बुबा , हजुरका घर परिवार –?”
उनले भने, “बुढी छैन | नातिनातिनी र छोरालाई जहिले पनि हतार हुन्छ | बुहारीका आफ्नै काम अनि व्यस्तता छन् | अझ बुहारीसित घुलमिल हुँदा आरोप लाग्ला भन्ने डर पो हुँदोरहेछ हामी जस्ता एकाललाई त | झन् आज त बुहारीले बिस्तारै फोनमा ‘काल पनि न आउने , यो बुढोको |’ भनेको सुनें | के गरूँ हजुर , काल न आइ मर्न नसकिने | त्यसो त म नब्बे वर्षको भैसकें तै पनि मर्न त कसलाई पो मन लाग्छ र ? जति बाँचे पनि , जति बुढो भए पनि कायाको माया त भैहाल्दो रहेछ | त्यति मात्र कहाँ हो र , झन् धेरै मृत्युभय पो हुँदो रहेछ | चोला अब फेरी फर्किएर आउने होइन | यो धराको झन् धेरै माया पो लाग्दोरहेछ | उनीहरुलाई मेरो कुरा उहिल्या कुरा खुइल्या हुन्छ | मलाइ पनि त् कुरा गर्न मन लाग्छ | बुढी मरी | आफ्ना उमेरका नालानाता र साथि सबै मरे | कहाँ जाउँ ? कोसित बोलुं ? एक्लै धेरै हिडन पनि त सक्दिन |”
मेरो मुटु पिरो भयो | त्यहि बेला छेउको रुखबाट पाकेको आँप खस्यो |
बृद्धले आँशु पुछ्दै प्रश्न गर्नुभयो ,“के फललाई पनि मृत्युभय हुन्छहोला ?”

०००

कथाकार परिचयः किरण आचार्य घरबारी टोल, नेपालगञ्जमा जन्मिएकी हुन् र नेपालगञ्जकै भृकुटी नगरमा वसोवास गर्छिन् । २०३३ सालमा महेन्द्र क्याम्पस दाङ्गको मुखपत्रमा मुखपत्रमा “प्रेत आत्मा” शीर्षकको कविता प्रकाशनसँगै उनको लेखन यात्रा शुरू भएको हो ।उनका अनुभूति (कविता संग्रह- २०६०), अस्तित्व (मुक्तक संग्रह -२०६२), सँपरजुवा (थारुभाषाको लोककथा संग्रह -२०७७), क्यान्टोनमेन्ट (कथा संग्रह- २०७७), सृष्टिचक्र (लघुकथा संग्रह- २०७८), जरत्कारु (उपन्यास- २०७९), हाम्रा देवदेवी भ्रम र यथार्थ (लेख संग्रह- २०७९), परशुराम (उपन्यास -२०८०), अहिल्या (उपन्यास – २०८१) प्रकाशित छन् ।