१९ भदौ २०८३, दक्षिणकाली
हाम्रो लघुकथा केन्द्रले स्रष्टा सम्मान र हाम्रा लघुकथा संयुक्त लघुकथासङ्ग्रह विमोचन कार्यक्रम सम्पन्न गरेको छ । विमोचित लघुकथासङ्ग्रहमा संस्थाका ८१ जना आजीवन सदस्यहरूका लघुकथा र गत वर्ष भदौ १४ गते संस्थाले आयोजना गरेको उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय लघुकथा प्रतियोगिताका प्रतियोगी लघुकथा २९ वटा गरी ११० लघुकथाहरू समेटिएका छन् ।
केन्द्रका अध्यक्ष डा. शेखरकुमार श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रममा मञ्चासिन व्यक्तित्वहरू सभाध्यक्ष लगायत् प्रमुख अतिथि दक्षिणकाली न.पा.का प्रमुख मोहनबहादुर बस्नेत , विशिष्ट अतिथिहरू उपप्रमुख वसन्ती तामाङ डङ्गोल, किशोर पहाडी, कृष्ण प्रधान, जयदेव भट्टराई, लता के.सी, तेजप्रकाश श्रेष्ठ , प्रा. डा. कपिल लामिछाने , गङ्गा कर्माचार्य पौडेल , महेश प्रसाईं , रमेन्द्र कोइराला र दामोदर अधिकारीले लघुकथा गान बजाएर कृतिको विमोचन गरे ।
उक्त कार्यक्रममा लघुकथाका समालोचक प्रा. डा. कपिल लामिछानेलाई केन्द्र लघुकथा समालोचना सम्मान- २०८२ , अग्रज साहित्यकार महेश प्रसाईंलाई केन्द्र लघुकथा सम्मान -२०८२ , अग्रज साहित्यकार गङ्गा कर्माचार्य पौडेललाई केन्द्र लघुकथा नारी सम्मान–२०८२ र साहित्यकार रमेन्द्र कोइरालालाई योगनाथ बास्तोला लघुकथा सम्मान–२०८२ बाट दुबो माला, रूद्राक्ष , दोसल्ला , सम्मानपत्र र नगदसहित सम्मानित गरिएको थियो । साहित्यकार किशोर पहाडीको संयोजनमा दुई सदस्यहरू जयदेव भट्टराई र मिसु श्रेष्ठको छनौट समितिले सम्मानित हुने स्रष्टाको नाम चयन गरेको थियो ।
धिमे बाजा बजाई सम्मानित हुने स्रष्टाहरूलाई भैरव मन्दिर परिक्रमा गराइएको थियो । पानसमा बत्ती बालेर स्वस्तिवाचन र राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरू गरिएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष सत्या अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् भने पदाधिकारीहरूले सम्मानित स्रष्टाहरूको जीवन र योगदानमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि प्रधानले प्रकृतिको छटामा अवस्थित दक्षिणकाली नगरमा एउटा साहित्यिक कुटीको स्थापना गर्न पाए हुने भन्ने मनसाय ब्यक्त गरे ।
प्रमुख अतिथि बस्नेत र विशिष्ट अतिथि डङ्गोलले भाषा ,साहित्य र कलाको विकासका लागि यस क्षेत्रमा स्थापित साहित्यिक संस्थाहरूको हरेक कार्यक्रममा नगरपालिकाको बजेट अनुसार सानो ठूलो आर्थिक सहयोग गर्दै आएको र गरिरहेने प्रतिवद्धता व्यक्त गरे ।
संस्थाका सचिव रामराजा के. सी. ले सञ्चालन गरेको सो कार्यक्रमको अन्त्यमा अध्यक्ष श्रेष्ठले साथ , समर्थन र सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापन गरेका थिए ।
