श्रीराम सिंह बस्नेत
फैसला सुनाएपछि सही गरेर न्यायाधीशले निबै भाँचिने गरी ठोसेर कलम हुत्याइदिए । अनि आसनबाट उठेर केही नबोली आफ्नो कक्षतर्फ लागे । इजलासमा जम्मा भएका अरु पनि उठे, त्यहाँ एउटा सन्नाटा छायो ।
न्यायाधीशले लामो फैसलामा के के कानुनी कुरा सुनाए, उसले केही पनि बुझेन । दायाँबायाँ प्रहरीले घेरिएर कठघरामा उभिएको उसले न्यायाधीशले कलमको निब भाँचेपछि मात्र बुझ्यो– उसलाई मृत्युदण्डको फैसला भएछ । मृत्युदण्डको फैसलामा सही गरेपछि न्यायाधीशले कलमको निब भाँचिने गरी ठोस्छन् भन्ने उसले सुनेको थियो, आज आफ्नै आँखाले देख्यो, त्यो पनि आफ्नै लागि ।
उसलाई जेलबाट अदालत ल्याउँदा दुईजना प्रहरीले ल्याएका थिए । अब अदालतबाट जेल फर्काउँदा धेरै प्रहरीले अत्यन्त कडा सुरक्षाकासाथ ल्याएका छन्, मानौँ ऊ अत्यन्तै बहुमूल्य चिज हो, जसलाई जोगाउन राज्यलाई पनि निकै परिश्रम परिरहेको छ ।
मृत्युदण्डको सजाय सुनेपछि अदालतमा उसले कसैसँग केही बोलेन । कोही ऊसँग केही सोध्न पनि आएनन् । उसको वकिल कतिखेर कता टाप ठोक्यो त्यो पनि उसले हेक्का राखेन । अदालतको बेन्चीमा झोक्राएर बसिरहेको उसको वृद्ध हजुरबाउ र सेता दाडीले छोपिएको उसको अँध्यारो अनुहारबाहेक उसलाई अरु केही याद छैन ।
अदालतबाट प्रहरीको गाडीमा जेलमा आइपुगेपछि ऊ आफ्नो बन्दी कक्षभित्र पस्यो । त्यसक्रममा अरु बन्दीले फैसलाबारे जिज्ञासा राखे तर उसले केही बोलेन । उसलाई ल्याउने एक प्रहरीले जवाफ दियो– ‘वही होगा जो मन्जुरे खुदा होता हे ।’ यो सुनेर एउटा बन्दी रन्कियो– ‘क्या मतलव ?’
प्रहरीले स्पष्ट पारिदियो– ‘अगले इतबारको फाँसी दि जायगी ।’
यो सुनेर बन्दीहरू भुत्भुताए– ‘या अल्लाह ! बिस्मिल्लाए रहिम, रहेम कर, रहेम कर !’
त्यसपछि कसैले केही बोलेन । प्रहरीहरू उसलाई कोठाभित्र हुलेर फलामे ढोकामा ताल्चा लगाई फर्किए ।
उसले ओछ्यानमा पल्टिएर आँखा चिम्लियो । उसका बितेका दिनहरू चलचित्र जस्तै उसका बन्द आँखाभित्र देखिन थाले ।
ऊ सानै थियो । उसको अब्बु सधैँ खोकिरहन्थ्यो । उसलाई आफूसँगै राख्न चाहन्थ्यो तर उसकी अम्मीले किन हो उसलाई अब्बुसँग बस्न दिँदैन थिइन् । उसलाई अलिअलि याद छ । एकदिन बिहान उसको घरमा मानिसहरु जम्मा भए । र, उसको ‘निदाइरहेको’ अब्बुलाई काठको लाम्चो बाकसमा हालेर बोकेर लगे । त्यसपछि उसकी अम्मीले कोठामा ढोका थुनेर उसलाई छातीमा च्यापेर धेरै बेरसम्म रोएको उसलाई अझै पनि झझल्को आउँछ ।
केही दिनपछि उसको घरमा केही परिवर्तन आएको उसले अनुभव गरेको थियो । उसको अब्बु सुत्ने कोठामा अब उसले चाचाजान भन्ने गरेको मान्छे सुत्न थालेको थियो र उसलाईचाहिँ हजुरबाउको कोठामा सुत्न पठाइएको थियो ।
दिन एकनासले बित्दै गए । भुरवनको डाँडापाखा, वन जङ्गल चाहार्दै उसका बालापन बिते । भुरवनदेखि नजिकैको मरी बजार पनि ऊ जान्थ्यो कहिलेकाहीँ हजुरबाको हात समातेर । उसकी अम्मी र चाचाजान केही समयपछि सानोतिनो व्यापार गर्ने भनेर इस्लामावादतिर झरे । हजुरबाउकै साथमा ऊ हुर्कियो । बेलाबेलामा ऊ पनि इस्लामावादतिर जान्थ्यो । उसलाई पनि इस्लामावादमै अम्मीसँग बस्ने मन थियो । तर उसको चाचाजानलाई त्यो मन परेन । त्यसैले ऊ भुरवनमै रह्यो । त्यतै बढ्यो, त्यतै पढ्यो । लक्का जवान भयो ।
उसले डाँडापारिको काश्मीरबारे धेरै सुनेको थियो । त्यहाँ असाध्यै रमाइलो छ भन्नेबारे साथीभाइबाट धेरै सुनेकाले उसलाई एकदिन काश्मीर घुम्न जाने सुर चल्यो । हजुरबाउलाई भनेर ऊ एक्लै त्यतातर्फ लाग्यो ।
बसमा चढेपछि उसको सिटसँगै एकजना अर्को मानिस पनि बस्न आयो । बाटोभरी काश्मीर, इस्लामावाद, भुरवन आदिका कुरा गरे उनीहरूले । एउटा सानो बजारमा बस रोकिएपछि केही यात्रु बसबाट ओर्लिए, केही बसमै बसे । उनीहरू दुईजना पनि ओर्लिएर नास्ता गर्न एउटा पसलतिर लागे । नास्ता गरिसकेपछि उसको त्यो सहयात्री ‘फोन गरेर आउँछु, मेरो झोला यहीँ छ है’ भनेर एउटा झोला उसको छेउमा छाडी अर्को झोला साथै लिएर केही परतिर लाग्यो ।
केही बेरपछि ठूलो आवाजसाथ बिष्फोट भयो । बजारमा मानिसको कोलाहल र भागाभाग मच्चियो । ऊ पनि सहयात्रीले छाडेको झोला बोकेर दौडियो । त्यहीबेला सुरक्षाकर्मीले वरिपरिबाट घेरा हाले । भाग्ने मानिसहरुलाई पक्राउ गरियो । सबैको शरीर र सामान खानतलासी गरियो । उसले बोकेको सहयात्रीको झोलाबाट चारवटा हातेबम फेला प-यो । त्यसपछि उसलाई बन्दूक सोझ्याएर हात पछाडि लगी हतकडी लगाएर गिरफ्तार गरियो । उसले त्यो झोलाबारे आफू निर्दोष रहेको सबै यथार्थ रुँदै बतायो । तर सुरक्षाकर्मीले उसलाई छाडेनन् । बमसहित पक्राउ परेकाले छाड्ने कुरा पनि भएन । उसले पछि थाहा पायो, त्यो बिष्फोटमा सात जनाको मृत्यु र २१ जना सख्त घाइते भएछन् । झोला छाडेर जाने बसको सहयात्रीलाई उसले फेरि कतै देखेन ।
काश्मीर घुम्ने उसको रहर अधुरै रह्यो । ऊ यता आउने बेलामा उसलाई मन परेकी छिमेकी रेहना बानोले ‘मेरे लिए क्या लाओगे ?’ भनेकी थिई । उसले सहजरूपमा जवाफ दिएको थियो– ‘ले आउँङ्गा कुन न कुछ ।’ रेहना मुसुक्क हाँसेकी थिई । त्यसपछि उसले रेहनालाई कहिल्यै देख्न पाएन । त्यो मुस्कानमात्र उसलाई याद छ ।
अहिले उसलाई तीनजनाको अनुहारमात्र याद आइरहेछ– उसको हजुरबाउको ओइलाएको अनुहार, उसलाई झोला कुर्न लगाउने सहयात्रीको कठोर अनुहार र रेहनाको कोमल अनुहार । कारागारको अँध्यारो कोठाभित्र आँखा चिम्लिएर बसे पनि यी तीन अनुहार पालैपालो उसका आँखावरिपरि घुमिरहेका छन् । यी कुनै पनि अनुहार यतिखेर ऊ सम्झन चाहँदैन तर घरिघरि यी अनुहारले नै उसलाई लखेटिरहेका छन् ।
केही दिनपछि इस्लामाबादबाट प्रकाशित हुने अङ्ग्रेजी दैनिक पत्रिकामा यस्तो शीर्षकको एउटा समाचार छापियो– Bomb boy hanged।
०००
कथाकार परिचयः श्रीरामसिंह बस्नेत पुरानो बानेश्वर काठमाडौंमा जन्मेका हुन् । उनले वि.सं.२०३३ सालमा “कथा बनेको ब्यथा” कथा नयाँ सन्देश साप्ताहिकमा प्रकाशित गरी लेखन यात्रा सुरु गरेका हुन् । उनका कलिला सपनाहरु(बाल लघु उपन्यास)२०३७, अनुहारहरू (कथा सङ्ग्रह), मनको मझेरी (कविता सङ्ग्रह) २०७९ लगायत यौन शिक्षा तथा पत्रकारिताका पुस्तकहरू प्रकाशित छन् । उनी र सुभाषचन्द्र पौडेलको सहलेखनमा नेपालका गीतकार, गायक र सङ्गीतकारहरूसँगको अन्तर्वार्ताहरूको पुस्तक “त्रिवेणीका लहरहरू“(२०४४) समेत प्रकाशित छ ।उनी हाल वनस्थली, बालाजुमा बस्छन् ।
