देवीप्रसाद सुवेदी

साभार रचना

नकुल सिलवाल

(नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “ देवीप्रसाद सुवेदी को परिचय । 

न्युरोडमा आउनुहुन्थ्यो उहाँ पनि फाट्टफुट्ट । पत्रिकामा स्तम्भलेखन गर्नुहुन्थ्यो । कथा लेख्ने, समालोचना-समीक्षा लेख्ने भद्र, सज्जन मानिस हुनुहुन्छ देवीप्रसाद सुवेदी ।

त्रि. वि. मा प्राध्यापन गर्ने कथाकार सुवेदी विद्यावारिधि गर्न त्यत्तिकै तल्लीन । धेरै अगाडि देखा पर्नुभयो । फेरि कम लेखनजस्तो, फेरि छरपस्ट बजारमा, फुटकर रचनाहरू फैलाउनुभयो फेरि – यस्तै छ देवीप्रसादको साधना । बगरमा पनि उहाँका केही रचना आए । २०५१ मा उहाँले लेख्नुभयो ‘सिपाही र जुलुस’, बगरमा नै प्रकाशित भयो । निकै चर्चा भयो कथाको – यसरी यस्तो विषयमा त कथै लेखिएको थिएन वा क्या लेख्नुभयो भनेर तारिफ गरे प्रबुद्धवर्गले ।

बगरले फेरि यसलाई मुद्रण गर्यो ‘उत्कृष्ट रचनाहरू २०५१’ मा । फेरि पढे गम्भीर पाठकले, फेरि यसले उच्चतम महत्त्व पायो र २०५१ को सर्वश्रेष्ठ रचना ठहर गरी हामीले सर्वश्रेष्ठ रचना पुरस्कार प्रदान ग-यौं ।

सिपाही र जुलुस नामबाटै उहाँको कथासङ्ग्रह प्रकाशित भइसकेको छ । त्यस बेला नै सर्वश्रेष्ठ मानिएको कथालाई यो सङ्कलनमा भित्र्याउन हामीलाई धेरै सजिलो भयो ।