१८ वैशाख २०८२, नुवाकोट
साहित्य संगम नुवाकोटको आयोजनामा, बिदुर नुवाकोटमा सम्पन्न एक कार्यक्रममा वरिष्ठ गीतकार तथा साहित्यकार उषा शेरचनको कथासंग्रह ‘बेग्लै म’ माथि परिचर्चा सम्पन्न भएको छ।
नुवाकोट स्थित संगम पुस्तकालयमा साहित्य संगम नुवाकोट र महिला साहित्यकारहरूको समूह काठमाडौंको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा ‘बेग्लै म’ कथासंग्रहको परिचर्चा सगसँगै कविता वाचन कार्यक्रम समेत सम्पन्न भएको थियो ।
समारोहमा साहित्यकार तथा समीक्षक रन्जना निरौलाले कथाकार शेरचनको व्यक्तित्व तथा कथाकरिता माथि प्रकाश पार्दै ‘नारी संवेदनाको उच्छवास कथाहरुमा – बेग्लै म कथासंग्रह’ शिर्षकमा समीक्षा गरेकी थिइन् । उनले ‘बेग्लै म’ कथासंग्रह सतप्रतिशत नेपाली महिलाका पीडा, कथा व्यथा, नेपाली समाजको कालो सत्य, विभेद र विसंगतिको ऐना रहेको बताइन् । कथा सङ्ग्रह नारी संवेदनाको प्रतिनिधि कथासंग्रह रहेको बताउँदै शेरचनले इमान्दारपूर्वक आफू वरपरका सामाजिक परिवेशीय कृत्यहरूको पर्दाफास गरेको र नारीमाथि हुने शोषण, विभेद, वाध्यता विवशतालगायतका संवेदशील विषयलाई कथाहरूका माध्यमद्वारा उजागर गरेको कुरा चर्चा गरिन् ।
कार्यक्रममा उषा शेरचनको कथाकरिताका विविध आयामको वारेमा साहित्यकार कुमारी लामाले प्रकाश परेकी थिइन् ।
साहित्यकार एवम् साहित्यिक अभियन्ता सुमित्रा सुमी , रुपा थापा र रिता खत्रीले कार्यक्रमलाई निरन्तरता दिएका थिए।
कार्यक्रममा काठमाडौँबाट गएका साहित्यकार तथा स्थानीय कविहरूले कवितावचन गरि कर्यक्रमलाई कवितामय बनाएका थिए।
सो अवसरमा सहित्यसंगम नुवाकोटले साहित्यकार उषा शेरचनलाई सम्मान गरेको थियो।
०००
