होमनाथ खनालको ‘हराएको साथी’ लोकार्पित

मुख्य समाचार

२०८३ भदौ १९, काठमाडौं ।
मिलाप मासिक र साहित्यिक पत्रकार संघको संयुक्त आयोजनामा स्रष्टा होमनाथ खनालको तेस्रो कृति ‘हराएको साथी’ लोकार्पण गरिएको छ ।
साहित्य, कला र संगीत क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा आयोजित कार्यक्रममा प्रमुख अतिथि महाकाव्यकार खेमनाथ दाहाल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, मिलाप मासिकका सम्पादक कृष्ण भुसाल, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, विशिष्ट कलाकार लय संग्रौला, विश्व कीर्तिमानी संगीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठ, स्रष्टा होमनाथ खनाललगायतका मञ्चासिन व्यक्तित्व र अग्रभागमा रहनुभएका सम्पूर्ण व्यक्तित्वले संयुक्त रूपमा ‘हराएको साथी’ लोकार्पण गरेका थिए ।
कार्यक्रमको सुरुवातमा यही भदौ १० गते बुधबार रसुवा–नुवाकोटमा आएको बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति उपस्थित सबैले एक मिनेट मौनधारण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
कृतिमाथि समीक्षा गर्दै स्रष्टा सन्तोष श्रेष्ठले ‘हराएको साथी’लाई रहस्यमय तथा प्रेरणादायी कृतिका रूपमा व्याख्या गरे । उहाँका अनुसार कृतिले पाठकलाई कथाको प्रवाहसँगै जीवनका विभिन्न पाटो र अनुभूतिसँग जोड्ने प्रयास गरेको छ ।
प्रमुख अतिथि महाकाव्यकार खेमनाथ दाहालले ‘हराएको साथी’ कुनै एउटा पात्र हराएको कथा मात्र नभएको धारणा राखे ।
सभापति तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले ‘हराएको साथी’को प्रकाशनले स्रष्टा होमनाथ खनालको सिर्जनात्मक यात्रालाई थप उचाइ दिने विश्वास व्यक्त गरे ।
नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय उपाध्यक्ष गोपिकृष्ण न्यौपाने, गंगालाल अस्पतालका पूर्वप्रमुख तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बू, गायिका तथा कलाकार शीला खनाल, विशिष्ट कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार विमल भौकाजी, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापालगायतले कृतिकार खनाललाई शुभकामना दिनुभएका थिए । वक्ताहरूले साहित्य सिर्जनामा व्यक्तिगत भोगाइ, अनुभूति र सामाजिक परिवेशको महत्व रहने उल्लेख गर्दै ‘हराएको साथी’ले पाठकलाई आफ्ना स्मृति र सम्बन्धतर्फ फर्केर हेर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए ।
कृतिकार होमनाथ खनालले आफ्नो जीवनयात्राका क्रममा देखेका, भोगेका र अनुभूति गरेका विविध विषयलाई कथाका रूपमा प्रस्तुत गरेको बताउनुभयो । जीवनमा भेटिएका पात्र, सम्बन्ध, घटना र अनुभवहरूले नै सिर्जनाको आधार तयार पारेको उल्लेख गर्दै उहाँले आफ्ना अनुभूतिलाई साहित्यिक रूप दिएर पाठकमाझ ल्याएको सुनाए ।
‘हराएको साथी’ स्रष्टा होमनाथ खनालको तेस्रो साहित्यिक कृति हो । यसअघि उनका ‘यात्रा जिन्दगीको’ र ‘शब्दसंगम’ पाठकमाझ आइसकेका छन् ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घोषण मिलाप मासिकका सम्पादक कृष्ण भुसालले गरेका थिए भने मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।

०००