७ चैत २०८१, ललितपुर
साहित्यपोस्ट(इ) दैनिक तथा नेपाली भाषा-साहित्यप्रेमीहरूको आयोजनामा भाषा र व्याकरणका अध्येता एवम् बृहत्तर नेपाली शब्दकोशका प्रणेता, नेपाली भाषा शुद्धीकरण अभियानका अग्रणी चूडामणि गौतमको स्मृतिमा मदन पुरस्कार पुस्तकालयमा एक कार्यक्रम सम्पन्न भयो ।
सो अवसरमा सयभन्दा बढी पुस्तकका लेखक चूडामणि गौतमले नेपाली भाषा, व्याकरणका क्षेत्रमा गर्नुभएको योगदानको स्मरण गर्दै वक्ताहरूले गौतमको व्यक्तित्वबारे प्रकाश पारेका थिए ।
भाषाविद् शरच्चन्द्र वस्तीले गौतमसँगका सहकार्यको स्मरण गर्दै उहाँ अत्यन्तै सरल, मृदुभाषी, परिश्रमी र अथक साधक भएको चर्चा गरे । प्रा. डा. कुमार कोइरालाले गौतमलाई भाषाव्याकरणका ऋषिको संज्ञा दिँदै उहाँमा कत्ति पनि अभिमान नभएको र बृहत्तर नेपाली शब्दकोश नेपाली वाङ्मयमा उहाँको महत्त्वपूर्ण देन भएको औँल्याए, प्रसिद्ध गजलकार डा. सनतकुमार वस्तीले गौतम सरलताका पर्याय भएको चर्चा गर्दै उहाँको शालीनता र सबैप्रति सम्मानभाव राख्ने नेपाली भाषाप्रेमीका रूपमा आफूले पाएको बताए । साहित्यकार शरद प्रधानले उहाँसँगका थुप्रै स्मरण रहेको बताउँदै उहाँको आत्मीय व्यवहारले द्रवीभूत भएको उल्लेख गरे ।दायित्व वाङ्मय प्रतिष्ठानका महासचिव तथा साहित्यकार यादव भट्टराईले गौतमलाई ‘विद्वच्छारोमणि हेमराज पुरस्कार’ बाट सम्मानित गर्दाको क्षण स्मरण गर्दै उहाँले प्रतिष्ठानलाई विश्वास गरेर ‘चूडामणि गौतम व्याकरण-कोश पुरस्कार’ का लागि अक्षयकोषको स्थापना गरेको प्रसङ्गको चर्चा गरे । साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले गौतमलाई पछिल्लो समय नेपाली भाषालाई कसरी शुद्ध लेख्न सकिन्छ भनेर शब्दकोश निर्माण गर्नेदेखि विभिन्न अभियानहरूमा अत्यन्तै सक्रियतासाथ क्रियाशील रहेको नेपाली वाङ्मयप्रेमीका रूपमा औँल्याए ।
कार्यक्रममा निबन्धकार, कलाकार तथा कलासमीक्षक ज्ञानेन्द्र विवशले गौतमको व्यक्तित्व र योगदानबारे चर्चा गरेका थिए ।
गौतमको ग्रामर जस्तो अङ्ग्रेजी व्याकरणको पुस्तक लेखेर नेपाली विद्यार्थीहरूमाझ चर्चित चूडामणि गौतमको २०८१ फागुन १२ गते दुःखद निधन भएको थियो ।
०००
