२०८३ मङ्सिर ८, काठमाडौं ।
इलाम नगरपालिका र इलाम विकास समाजको संयुक्त आयोजनामा लेखक एवं अनुसन्धानकर्ता तथा मानवशात्री खेमराज नेपालद्वारा लिखित अनुसन्धानात्मक कृति ‘इलामको नालीबेली’ को काठमाडौँमा कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् एवम् पूर्वराजदूत केदारभक्त माथेमा, कार्यक्रमका सभाध्यक्ष एवम् इलाम नगरपालिकाका मेयर केदार थापा, सांसद निश्कल राई, वरिष्ठ इतिहासविद प्राडा. सुरेन्द्र केसी., पूर्व सचिव लिलामणि पोखरेल, लेखक एवं चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा, लेखक एवं समाजसेवी शम्भु श्रेष्ठ, लगायतका विशिष्ट व्यक्तित्वहरूले कृतिको सामूहिक रूपमा लोकार्पण गरे।
सो कार्यक्रमको सुरुवातमा भोटेकोशी बाढीमा परी दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । त्यसपश्चात् सभाध्यक्ष थापा र प्रमुख अतिथि माथेमा तथा सांसद निश्कल राईले गमलामा पानी हालेर समारोहको समुद्घाटन गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माथेमाले कृतिकार नेपाललाई बधाई ज्ञापन गर्दै नेपालको चियामध्ये इलामको चिया विश्वमै उत्कृष्ट रहेको चर्चा गरे ।
कार्यक्रमका सभाध्यक्ष एवम् इलाम नगरपालिकाका मेयर केदार थापाले उपस्थित अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पारे ।
कृतिकार खेमराज नेपालले इलामको समग्र पक्ष समेटिएको यस्तो पुस्तक यसअघि प्रकाशन नभएको महसुस गरी आफूले ‘इलामको नालीबेली’ तयार पारेको बताए ।
पुस्तकमाथि समीक्षात्मक मन्तव्य राख्दै प्राडा. प्रेमसागर चापागाईले यो कृति इलामको एक दुर्लभ दस्तावेज भएको बताए ।
अर्का समीक्षक वरिष्ठ पत्रकार एवं लेखक धर्म गौतमले ग्रन्थको विविध समीक्षा गरे ।
इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले इलाममा क्याम्पस प्रमुख भएर काम गर्दाको अनुभव स्मरण गरे ।
इलामका सांसद निश्कल राईले शुभकामना मन्तव्य राख्दै लेखकलाई बधाई ज्ञापन गरे ।
इलाम विकास समाजका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले सञ्चालन गरेको उक्त कार्यक्रममा इलामको वनस्पति तथा विविध सम्पदाका विषयमा समेत चर्चा गरिएको थियो ।
०००
(ध्रुवराज थापा, काठमाडौंको सहयोगमा)
