श्रेष्ठ प्रिया पत्थर
अलिपर पुगेपछि, साथी छोडी हिंड्ने गर्छन्
सिंढी उक्लिसकेपछि, सिंढी तोडी हिंड्ने गर्छन् ।
कस्तालाई मान्छौं हामी, कस्तालाई छान्छौं हामी
शीरमाथि राख्न खोज्दा, शीरै तोडी हिंड्ने गर्छन् ।
आस्था के हो बाटो के हो, सबै विर्सिसकेपछि
गाई गधा एकै हूलमा, कुम जोडी हिंड्ने गर्छन् ।
मनमा ईमान बाँकी नभए, जवाफ दिने ठाउँ नभए
कालो मुख लुकाउन, बर्को ओडी हिंड्ने गर्छन् ।
जाने ठाउँ ठेगान नभए, मनमा त्याग तप नभए
अलिकति कष्ट पर्दा, पाइला मोडी हिंड्ने गर्छन् ।
कवि परिचयः श्रेष्ठ प्रिया पत्थर दिपायल डोटीमा जन्मेकी हुन् र हाल हसनपुर, धनगढीमा बसोवास गर्छिन् । बिसं २०३८ सालदेखि लेखन शुरु गरेकी उनका उपन्यास, कविता, गजल, संस्मरण आदि बिधामा १७ कृतिहरु प्रकाशित छन् जसमध्ये ४ गजल सङ्ग्रह रहेका छन् ।
