२७ कार्तिक २०८३, काठमाडौं ।
नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साल साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको दशक–दशकका कथावाचन कार्यक्रमको पैंतीसौं श्रृङ्खला सम्पन्न भएको छ ।
कार्यक्रमको प्रारम्भमा यस अभियानका परिकल्पनाकार कथाकार÷नियात्राकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरूको स्वागत गर्दै कार्यक्रमका उद्देश्यहरूबारे प्रकाश पारेका थिए ।
प्रत्येक महिना कुनै दिवंगत स्रष्टाको एउटा कथा श्रद्धापूर्वक वाचन गरेर कार्यक्रम आरम्भ गर्ने चलन अनुसार स्रष्टा रमेश विकलको ‘सिंगारी बाख्रा’ शीर्षकको कथा वाचन गरेर उहाँप्रति सम्मान प्रकट गरिएको थियो । उक्त कथा कथाकार इन्दिरा प्रसाईले वाचन गरेकी थिइन् ।
त्यसपछि कथाकार हिरण्यकुमारी पाठकले ‘खोसिएको खुशी’,कथाकार विष्णुप्रसाद शर्मा पराजुलीले‘पेमा’ वाचन गरेका थिए ।
दुवै स्रष्टाले वाचन गरेका कथामाथि कार्यक्रममा उपस्थित श्रोताहरूले अनेकौं रोचक प्रश्न गरेका तथा जिज्ञासा राखेका थिए । तिनको उत्तर सम्बन्धित कथाकारले दिएका थिए । बिगत केही महिनाअघिदेखि शुरु गरिएको यो अभ्यास कथाकारहरू र श्रोताहरूबीच निकै लोकप्रिय भएको छ ।
कार्यक्रमको अन्त्यमा अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले विसं २०१३ देखि आफू नेपाली साहित्यको सेवामा लागेको र विसं २०१६ मा कथा प्रकाशित गरेको कुरा स्मरण गरे । उनले साहित्यमा आफूले गोविन्दप्रसाद लोहनीबाट मार्क्सवादी र फ्रायडवादी साहित्यको बारेमा थाहा पाएको, त्यसपछि फ्रायडवादी साहित्यको अध्ययन गरेर त्यसै धारमा लेख्न थालेको कुरा बताए ।
उपन्यासकार शुकदेव उपाध्यायले कार्यक्रम संचालन गरेका थिए ।
यो मासिक कार्यक्रम शुरुभएदेखि नै साहित्यकार पुष्कर लोहनीको निवासस्थित सभाकक्ष, डिल्लीबजार, घट्टेकुलो, काठमाडौंमा हुने गरेको छ ।
०००
