लेटाङका नौ साहित्यकार, कलाकार र समाजसेवी सम्मानित

समाचार

८ मंसिर २०८३, लेटाङ, मोरङ

मोरङको लेटाङमा लिटिल फ्लावर्स बोर्डिङ स्कुलक तथा लेटाङ साहित्य कला संगमको सहकार्यमा मंगलबार आयोजित समारोहमा साहित्य, कला र समाज सेवाको क्षेत्रमा योगदान पुर्याउँदै आएका नौ व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।
लिटिल फ्लावर्स बोर्डिङ स्कुलकी संस्थापक सिर्जना देवकोटाको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य गुरुप्रसाद बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विराटनगर निवासी प्राज्ञ लक्ष्मी उप्रेती, लेटाङका पूर्वजनप्रतिनिधि तथा समाजसेवी चन्द्र गौतम, साहित्यकार विश्व पागल, मूर्तिकार श्रीप्रसाद किराँती, साहित्यकार डिल्लीराम ओझा, मूर्तिकार ओमप्रकाश विश्वकर्मा, काष्ठ कलाकार मणिहर्क राई, संगीतकार प्रह्लाद बोगटी र साहित्यकार विष्णु न्यौपानेलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य गुरुप्रसाद बराल, विशिष्ट अतिथि लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला तथा विद्यालयकी संस्थापक सिर्जना देवकोटा लगायतले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला तथा खादा ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुप्रसाद बरालले सम्मानित व्यक्तित्व प्राज्ञ लक्ष्मी उप्रेतीको योगदानको चर्चा गर्दै साहित्य, कला, संस्कृति तथा सिर्जनाका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई सम्मान गरिएकोमा खुसी व्यक्त गरे ।
उनले यस किसिमको सम्मानले आ–आफ्नो क्षेत्रमा निरन्तर क्रियाशील रहन स्रष्टा तथा कलाकारहरूलाई थप प्रेरणा र हौसला मिल्ने बताए ।
लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले लेटाङ साहित्य कला संगम र लिटिल फ्लावर्स बोर्डिङ स्कुलले विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै नगरको साहित्यिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको भन्दै प्रशंसा गरिन् । उनले नगरपालिकाले पनि साहित्य क्षेत्रलाई सम्बोधन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत यस क्षेत्रको विकासका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
सम्मानित व्यक्तित्व प्राज्ञ लक्ष्मी उप्रेती र चन्द्र गौतमले स्रष्टा तथा कलाकारहरूको योगदानको मूल्यांकन गर्दै सम्मान गरेकोमा आयोजक संस्थाहरूप्रति आभार व्यक्त गरे ।
लेटाङ साहित्य कला संगमका सचिव पर्शुराम निरौलाले सञ्चालन गरेको सो कार्यक्रममा विद्यालयका प्रिन्सिपल टीका न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गर्नुका साथै सामूहिक गायनमार्फत सांगीतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा सम्मानित व्यक्तित्व साहित्यकार विष्णु न्यौपानेले ‘कर्मजीवि बनौँ’ शीर्षकको कविता वाचन गरेर उपस्थित सहभागीहरूलाई मन्त्रमुग्ध बनाएका थिए ।

०००