“इजुकी नर्तकी” को लोकार्पण

मुख्य समाचार

२८ असोज २०८३, काठमाडौं

नोबेल पुरस्कार विजेता प्रसिद्ध जापानी साहित्यकार यासुनारी कावाबाताद्वारा लिखित तथा अरूणा वैद्यद्वारा अनुदित ‘इजुकी नर्तकी’आख्यानकृतिको नेपाल-जापान दौत्य सम्बन्धको ७० औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल वाङ्मय फाउन्डेसनको आयोजना तथा नेपाल प्रज्ञाप्रतिष्ठानको सहकार्यमा लोकार्पण सम्पन्न भयो ।सो कृतिलाई नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति कुमार नगरकोटी, पूर्वमन्त्री तथा साहित्यकार एस.पी.कोइराला, नेपालका लागि जापानी राजदूत तोओरू माएदा,जापानका लागि पूर्व राजदूतहरू डा. मदनकुमार भट्टराई र डा.दुर्गाबहादुर सुवेदी क्षेत्री, विश्व भाषा क्याम्पसका जापानी भाषा विभाग प्रमुख योसिहारू कामिमुरा, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धर तथा फाउन्डेसनका प्रमुख संरक्षक पूर्वराज्यमन्त्री उमेश श्रेष्ठद्वारा सामूहिक रूपमा लोकार्पण गरे ।
सो अवसरमा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति कुमार नगरकोटीले जापानी साहित्यकारहरूको चर्चा गर्दै जापानिज साहित्य अब विश्वमा खोजीको विषय बनेको बताए।
नेपाल वाङ्मय फाउन्डेसनका सल्लाहकार तथा कार्यक्रमका सभाध्यक्ष साहित्यकार तथा पूर्वमन्त्री एस.पी.कोइरालाले धेरै वर्षपहिले गरेको जापान भ्रमणको चर्चा गर्दै जापानले भोतिक प्रगति मात्र नगरी भाषा, साहित्य र संस्कृतिमा समेत अतुलनीय प्रगति गरेको बताए।
नेपालका लागि जापानका राजदूत तोओरू माएदाले जापानी साहित्य नेपाली भाषामा अनुदित हुनु खुशीको कुरा हो भन्दै यसको निरन्तरता हुनुपर्ने बताए।
लोकार्पित कृति इजुकी नर्तकीमाथि समीक्षात्मक टिप्पणी गर्दै जापानका लागि पू्र्व नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी क्षेत्रीले नेपाल र जापाज बीच दौत्य सम्बन्ध रहेको ७० वर्ष भए पनि धार्मिक, सामाजिक, संस्कृति,सांस्कृतिक सम्पदा,सभ्यता र नागरिक सम्बन्ध १२७ वर्षअघिदेखि नै रहेको बताए।  उनले  इजुकी नर्तकीको उल्था गर्दा लेखकको मौलिकतामाथि न्याय भएको छ, मर्म मरेको छैन र कावाबाताको शैली पनि मरेको छैन भन्ने बताए ।
कार्यक्रममा जापानका लागि पूर्व नेपाली राजदूत डा.मदन कुमार भट्टराई तथा नेपाल वाङ्मय फाउण्सडेसनका ल्लाहकार पूर्वराज्यमन्त्री उमेश श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
कृतिका अनुवादिका कवि तथा अनुवादक अरूणा वैद्यले साहित्य कुनै एक भाषा,भूगोल वा संस्कृतिको सीमाभित्र कैद भएर बस्दैन, मानिसका अनुभूति, संवेदना, प्रेम, पीडा, स्मृति र आशाहरूको भूगोल भाषाभन्दा धेरै विस्तृत हुने बताइन्।
विश्वभाषा क्याम्पसका जापानी भाषा विभागका प्रमुख योसिहारू कामिमुराले नेपालमा मूल जापानी भाषाबाट अनुदित कृति नगन्य भएको बताउँदै यासुनारी कावाबाताको सुप्रसिद्ध कृति इजुकी नर्तकी मूल जापानीबाट नेपाली भाषामा अनुदित हुनु खुशीको कुरा भएको बताए ।
फाउन्डेसनका अध्यक्ष डा.विप्लव ढकालले स्वागत मन्तव्य राख्दै नेपाल-जापान दौत्य सम्बन्धको ७० औँ वार्षिकोत्सव तथा फाउन्डेसनका क्रियाकलापका बारेमा संक्षेपमा प्रकाश पारेका थिए।
नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको सो लोकार्पण कार्यक्रमको सञ्चालन लभग्रिन नेपालकी अध्यक्ष अमिरा दलीले गरेकी थिइन्।

०००

(सुभाषचन्द्र पौडेल “भीमफेदिया”को सहयोगमा)