मदन पुरस्कार र जगदम्बाश्री पुरस्कारको घोषणा

मुख्य समाचार

२१ भदौ २०८३, काठमाडौं

नेपाली वाङ्मय जगतको जेठो नीजि क्षेत्रको प्रतिष्ठित मदन पुरस्कार वि.सं. २०८२ का लागि वीणा जोशी (राजभण्डारी)को कृति “नेवार समुदायका परम्परागत मुकुण्डोनाच” पुस्तकका लागि प्रदान गरिने भएको छ । यस अघि गुठीले १० पुस्तकहरूको सूचि प्रकाशित गरेको थियो, जसमध्ये यो कृति विजेता भयो । नेपाली भाषाका उत्कृष्ट कृतिलाई दिइने पुरस्कार भएकोले मदन पुरस्कार साहित्यिक पुरस्कार भने होइन । त्यसैले जबजब साहित्य इतर पुस्तकले मदन पुरस्कार पाउँछ, सधैं साहित्यिक पुस्तकबाट पुरस्कार टाढिएको बहस हुने गर्दछ । त्यसो त मदन पुरस्कार बिजेता कृतिहरूको सूचि हेर्दा साहित्यिक पुस्तकहरूकै र त्यसमा पनि उपन्यास विधाको बर्चस्व रहेको देखिन्छ ।
वीणा जोशी मदन पुरस्कार पाउने पाँचौं महिला हुन् । सबभन्दा पहिले वि.सं. २०२२ सालमा पहिलोपल्ट पारिजातले “शिरिषको फूल” उपन्यासका लागि प्राप्त गरेकी थिइन् । त्यसपछि झमक घिमिरे, राधा पौडेल तथा नीलम कार्की निहारिकाले पाएका थिए ।
त्यस्तै २०८२ सालको जगदम्बाश्री पुरस्कार “छ दशकदेखि गीत लेखनमा समर्पित” गीतकार किरण खरेललाई प्रदान गरिने निर्णय भएको छ । नेपाली गीति साहित्य जगतमा किरण खरेलका गीतहरू सर्वाधिक गाईएका छन् र सयौं गीत कर्णप्रिय र सदावहार रहेका छन् ।
स्मरणीय छ, मदन पुरस्कार वि.सं. २०१३ सालदेखि प्रदान गर्न थालिएको हो । सुरुमा मदन पुरस्कारको राशी चार हजार रहेको थियो, हाल यो चार लाख रहेको छ ।
त्यस्तै जगदम्बाश्री रानी जगदम्वाको देहान्तपछि वि.सं. २०४५ सालमा पहिलोपल्ट स्वर सम्राट नारायण गोपाललाई पहिलोपल्ट प्रदान गरिएको थियो । यो पुरस्कारको राशी हाल चार लाख रुपैयाँ रहेको छ ।

०००