एउटा घुर्मैलो कल्पको प्रेम

कविता

गोविन्द पौडेल, काठमाडौं

 

अज्ञात सपनाको बगैंचाभित्र
पल्किएको न्यास्रोपनाको आँसु ,

शून्यताको शिशिर
र बिराना पाइलाहरूको डोब

कहाँ पो लुकाउँछौ लिली ?
पहाडका नागबेली गोरेटाहरूमा
अलमलिएको उदास सपना

टाढाको सम्झनामा
हराएको मायाको रङ
युगौं पुरानो चट्टानजस्तै
मुटुभरि एउटा
प्रागऐतिहासिक अवशेष बोकेर
कतिन्जेल पर्खन्छौ लिली ?

मौनता आफैंमा जवाफ रहेछ
म त बिनाकारण कारण
खोजिबसेँ
कतिन्जेल पर्खाउँछ्‌यौ लिली ?

सपनाको जिन्द‌गी जिउने रहर
खै कुन्नि कहाँ हराए?
वर्षा हराएको जेठको घाम जस्तो
सडकको तिर्खामा बन्ने मृगतृष्णा जस्तो
रापिलो गर्मीले पग्लिरहेको चट्टान ।

एउटा घुर्मैलो
कल्पसँगै
हामीलाई फेरि एउटै घुर्‍यानमा मिल्काइदिएछ !

त्यही घुर्‍यान पन्छाउँदै
कतिन्जेल मायाका टुक्राटाक्री

छानिरहन्छौ लिली ?

000