लक्ष्मी उप्रेती, चेन्नई
संसारमा भएका सबै प्राणीहरू हामीले देखेकै छैनौँ । मानव ज्ञानको सीमितता र संसारको विशाल आकारका कारण यस्तो भएको हो । यस संसारमा अनगिन्ती प्रकारका जीवजन्तु, सूक्ष्म जीव, वनस्पति र अन्य जीवनरूपहरू पनि छन् । मानिसले वैज्ञानिक अनुसन्धान र अनवरत खोजका माध्यमबाट धेरै प्रजातिहरू पत्ता लगाएको भए पनि पृथ्वीका सबै जीवहरूको प्रत्यक्ष अवलोकन गर्न अहिलेसम्म पनि सकेको छैन । विशेषगरी समुद्रको गहिराइ, घना वन, गुफा, हिमाली क्षेत्र र सूक्ष्मजीवहरू भएको संसारमा अझै धेरै प्रजातिहरू अज्ञात नै रहेका छन् । त्यसैले हामीले देखेका प्राणीहरूलाई सम्पूर्ण जीवजगत्को सानो अंश मात्र मान्नुपर्छ । हामीले देखेमध्येका प्राणीहरू पनि आकार, प्रकार, रूप, रङ र स्वभावमा फरक फरक रहेका छन् । प्राणीजगत्मा चेतनायुक्त र सर्वश्रेष्ठ प्राणी हो मानव । यसकारण पनि जन्मनु र मर्नु मात्र मानव जीवनको सार होइन । त्यसैगरी, बाँच्ने बहानामा विध्वंश मच्चाएर समाजमाथि बोझ बनेका मानिसको जीवनको पनि कुनै अर्थ हुँदैन । कुनै न कुनै क्षेत्रमा समर्पित भएर मानव समुदाय र समाजको हितका लागि जीवन उत्सर्ग गर्ने युगका संवाहकहरू यस संसारमा छन् । त्यस्तै कहालीलाग्दो युगकी एक ज्वलन्त उदाहरण हुन् योगमाया ।
पूर्व नेपालको विकट जिल्ला भोजपुरको नेपालडाँडा, सिम्ले भन्ने स्थानमा वि.सं. १९२५ साल असोज २२ गते प्रातःकालमा आमा चन्द्रकला र बुबा श्रीलाल न्यौपानेकी छोरीका रूपमा भीमा, अर्थात् पछि योगमायाका नामले प्रसिद्ध व्यक्तित्वको जन्म भयो । तीन सन्तानमध्येकी जेठी छोरी योगमायापछि पुष्पराज र अग्नीधर नामका दुई भाइ जन्मिए । समयको प्रचलनअनुसार नौ वर्षको उमेरमा योगमायाको विवाह भोजपुरको धोद्लेखानीका रमा र नरेश कोइरालाका १३ वर्षीय छोरा मनोरथसँग बुबाआमाको इच्छाअनुसार भयो । “योगमायाको जन्म समयमा नेपालमा जहानिया राणाशासन थियो । सती र दासप्रथा जस्ता सामाजिक कुरीतिका साथै धार्मिक आडमा हुने सामाजिक शोषण चरमोत्कर्षमा थियो । शासनसत्तामा भ्रष्टाचार र मनपरीतन्त्र व्याप्त थियो भने गाउँघरमा मानापाथीजस्ता व्यवहारमा समेत ठगी गर्ने प्रवृत्ति व्यापक थियो । यिनै सामाजिक विडम्बना र भोगाइहरूलाई आत्मसात् गर्दै योगमायाको जीवनयात्रा गतिशील बन्यो” (तारा सुबेदी, साहित्यपोष्ट, २०८२ असार २२) । कोइराला परिवारको आर्थिक तथा पारिवारिक अवस्था सुरुमा ठिकठाकै थियो । तर, समय बित्दै जाँदा घरमा बुहारीले सहनै नसक्ने अन्याय, अत्याचार, दुःख र पीडा भोग्नुपर्यो । योगमायाले ती सबै कष्ट सहँदै पनि साहसका साथ सामना गरिन् । अपमान र तिरस्कार सहेर सकेसम्म घर नछाड्ने प्रयास गरिन् तर अत्याचार असह्य भएपछि उनले अन्ततः घर छाड्ने निर्णय गरिन् । घर छाडेपछि कहाँ जाने भन्ने प्रश्न पनि त्यत्तिकै कठिन थियो । धेरै सोचविचारपछि उनले माइती जाने निर्णय गरिन् । माइती जाँदा माइतीको इज्जतमा आँच आउने चिन्ताले सुरुमा उनी निकै पिरोलिइन् तर अर्को कुनै विकल्प नदेखेपछि माइती पुगिन् । त्यहाँ पनि बुबाआमाबाट अपेक्षित स्नेह र साथ पाउन सकिनन् । भाइबुहारीबाट भने केही सहानुभूति प्राप्त भयो । त्यसै बेला सिम्लेबाट आसाम जाँदै गरेका कँडेल परिवारसँग बाटोमा भेट भएपछि उनीहरूकै सहयोगमा योगमाया आसाम पुगिन् ।
यहाँ योगमायाको जीवनसँग सम्बन्धित एउटा तथ्यगत मतभेद देखिन्छ । केही लेखकहरूले कँडेलसँग योगमायाको विवाह भएको, उनीबाट एउटा छोरी जन्मिएको उल्लेख गरेका छन् भने केहीले कँडेल परिवारले केवल सहयोग मात्र गरेको बताएका छन् । त्यस्तै, कँडेलको निधनपछि डोटेलसँग तेस्रो विवाह भएको र नैनकला नामकी छोरी जन्मिएको उल्लेख पनि कतिपय लेखमा पाइन्छ भने अन्य केही लेखकले डोटेल परिवारले सहयोग मात्र गरेको दाबी गरेका छन् । यी फरक फरक विवरणका कारण वास्तविक तथ्य अझै अनुसन्धानको विषय बनेको देखिन्छ । यद्यपि, उपलब्ध अधिकांश सामग्रीमा योगमायाबाट नैनकलाको जन्म भएको विषयमा भने लगभग समान धारणा पाइन्छ । छोरी २९ वर्षकी भएपछि वि.सं. १९६३ सालमा ज्ञानको खोजीमा योगमाया भौँतारिइन् । त्यसपछि आसाम छाडेर छोरीलाई लिएर भारतका केही तीर्थस्थलको भ्रमण गर्दै नेपालको स्वर्गद्वारी हुँदै माइतीतिर आइन् । छोरीको उमेर ढल्किसकेको थियो । त्यसैले माइतीको सहयोगमा पत्नी नभएका एक अधबैंसे व्यक्तिसँग उनको विवाह गरिदिइयो । तर विवाह भएको एक वर्ष नबित्दै नैनकलाका श्रीमान्को निधन भयो ।
बाल्यकालदेखि नै योगमायामा योग र ध्यानप्रतिको लगाव निरन्तर रह्यो । बिस्तारै समयसँगै ध्यान र तपप्रतिको आकर्षण बढ्दै गयो । त्यसपछि योगमाया भीमा भन्ने नामभन्दा माया भनेर चिनिन थालेको जनधारणा पाइन्छ । असाधारण नारी माया पछि सन्यास ग्रहण गरेर योग, ध्यान र सामाजिक सेवामा सक्रिय भइन् । योगसाधनाका लागि उनले अरुण नदीको किनार रोजिन् । अन्ततः वि.सं. १९६६ सालतिर अरुण नदीको तटस्थित मझुवाबेँसीमा कुटी बनाएर लामो समयसम्म बसेको ऐतिहासिक सन्दर्भ पाइन्छ । योगसाधनाको कठोर तपस्याबाट सिद्धि प्राप्त गरेपछि उनको प्रभाव र भविष्यद्रष्टाका रूपमा विश्वास बढ्दै गयो । त्यसपछि भक्तजनहरूले उनलाई शक्तिमाता भन्न थाले । समयसँगै उनको वाणीप्रतिको विश्वास पनि व्यापक बन्दै गयो । भक्तजनहरूलाई आइपर्ने समस्याको समाधान गरिदिने, सर्पले टोकेका वा कडा रोग लागेका मानिसलाई योगसाधनाद्वारा उपचार गरी निको पार्ने जस्ता अनेक दैवी गुण उनमा रहेको जनविश्वास पाइन्छ । विश्वमा कतै नराम्रो घटना हुनुअघि उनलाई पसिना छुट्ने, गलामा सर्पको माला देखिने, ध्यानमा लीन भएका बेला बाघले पहरा दिएको देखिएको भन्ने किंवदन्तीहरू पनि सुनिन्छन् । गर्मीमा धुनी बालेर र जाडोमा चिसो पानीमा बसेर तपस्या गर्ने उनको जीवनशैलीका अनेक प्रसङ्ग लोकश्रुतिमा पाइन्छन् । अरुण नदीको पानीमै बसेर उनले साधना गर्थिन् भन्ने जनविश्वास छ । भक्तजनहरूले उनलाई औतारी माता, शक्ति हजुर र मुक्ति हजुर जस्ता सम्मानसूचक उपाधिले समेत सम्बोधन गर्ने गरेको सुन्न पाइन्छ । त्यस समयको परिस्थितिमा योगमाया औपचारिक शिक्षाको अवसरबाट वञ्चित थिइन् तर उनी स्वअध्ययनबाट दीक्षित भएकी थिइन् । हिन्दू दर्शनसम्बन्धी उनको काव्यकृति सर्वार्थ योगवाणी प्रकाशित भएको पाइन्छ । त्यस कृतिमा राणाशासनकालीन नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थाको जीवन्त चित्रण गरिएको छ । त्यही परिवेशमा समाज सुधारका उद्देश्यले उनले समाजमा व्याप्त विसङ्गति, विकृति, अन्याय, अत्याचार, कुरीति, शोषण, असमानता, भेदभाव, दासप्रथा र बालविवाहजस्ता सामाजिक कुप्रथाविरुद्ध आवाज उठाइन् । दिङ्लामा जन्मिएका प्रसिद्ध समाजसुधारक, आजीवन ब्रह्मचारी, शिक्षाप्रेमी बालगुरु षडानन्दले सतिप्रथाविरुद्ध लामो समयदेखि अभियान सञ्चालन गरेका थिए । उनको वि.सं. १९७३ साल जेठ शुक्ल त्रयोदशीका दिन निधन भएपछि त्यो अभियान कमजोर नबनाउन योगमायाले त्यस अभियानलाई निरन्तरता दिँदै समाज सुधारको आन्दोलनलाई अघि बढाइन् । राणाकालीन निरङ्कुश शासनविरुद्ध उनले तत्कालीन प्रधानमन्त्रीदेखि विभिन्न तह र तप्काका व्यक्तिहरूसँग साहसपूर्वक आफ्नो असहमति र विद्रोह व्यक्त गरिरहिन् । २०८० साल असार २५ गतेको नागरिक न्युजमा कमला पराजुली लेख्नुहुन्छ- “योगमायाले विद्रोहका क्रममा घरपरिवार र आफन्तजनसमेत त्याग्ने हिम्मत जुटाएकी थिइन् । त्यस्तो क्रूर अमानवीय सामाजिक परिवेशमा पनि विद्रोहको आवाज उठाउँदै अधिकार र सामाजिक न्यायका लागि डटेर अगाडि बढेकी एउटी सङ्घर्षशील महिला थिइन् योगमाया न्यौपाने । त्यतिबेला न कुनै राजनीतिक पार्टी, न सङ्गठन, न कानुन न त संविधान नै । योगमाया आफैँमा थिइन् एउटी सामाजिक रूपान्तरणकी साहसी अभियन्ता ।“
योगमायाका सम्बन्धमा महत्त्वका साथ चासो राख्ने जनकलाल शर्मा, मातृका तिम्सिना, ज्ञानमणि नेपाललगायतका अनुसन्धानकर्ताको योगदान उदाहरणीय देखिन्छ । अमेरिकी समाजशास्त्री बारबरा निम्री अजिजले योगमायाका बारेमा गहिरो अध्ययन गरेको पाइन्छ । उनले योगमायालाई केवल धार्मिक साध्वी वा आध्यात्मिक व्यक्तित्वका रूपमा प्रस्तुत नगरी कवयित्री, शिक्षिका, सामाजिक सुधारक र अन्यायविरुद्धको विद्रोही नेतृका रूपमा चित्रण गरेको छ । लेखिकाले पूर्वी नेपालको दीर्घ क्षेत्रकार्य, योगमायाका अनुयायीसँगका अन्तर्वार्ता, मौखिक इतिहास र उपलब्ध दस्तावेजका आधारमा उनको जीवनको पुनर्निर्माण गरेकी छन् । नेपाली इतिहासले योगमायाजस्ता महिलाको योगदानलाई लामो समयसम्म मौनतामा राखेको हुँदा उनको इतिहासलाई पुनः उजागर गर्नु आवश्यक रहेको कुरा उनकै पुस्तकमा उल्लेख भएको छ । यसरी योगमायाको आध्यात्मिकता व्यक्तिगत मोक्षमा सीमित नभई सामाजिक न्याय, नैतिक शासन र मानव समानताको पक्षमा रहेको बारबराले लेखर महत्वपूर्ण सूचना प्रभाह गरेकी छन् ।
वि.सं. २०६३ सालमा योगमायाका सम्बन्धमा वृत्तचित्र पनि निर्माण भयो । योगमायाको जीवनी र योगदानलाई समेटेर चलचित्र निर्माण गर्ने योजना बनेको र त्यसको शुभसाइत समेत गरिएको थियो । “महाशिवरात्रिको अवसर पारेर फिल्म योगमाया घोषणा शीर्षकमा फागुन १४, २०८१ मा रातोपाटीमा प्रकाशित समाचारमा यसबारेको जानकारी रहेको छ । पशुपतिमा स्क्रिप्ट पूजा समेत गरिएको र २०८२ सालमा छायाङ्कन सुरु गर्ने भनिएको उक्त चलचित्रका बारेमा त्यसपछि कुनै जानकारी रहेको छैन । नीलम कार्की निहारिकाले लेख्नुभएको योगमाया उपन्यासले वि.सं. २०७४ सालको मदन पुरस्कार प्राप्त गर्यो । योगमायाका सम्बन्धमा टङ्क चौलागाईँले लेख्नुभएको नाटक वि.सं. २०७६ सालमा काठमाडौंमा मञ्चन भएको थियो । नेपाल सरकारले समाजसुधारक योगमायाको योगदानको कदर गर्दै वि.सं. २०७३ सालमा उनको तस्बिर अङ्कित हुलाक टिकटसमेत प्रकाशित गर्यो । राष्ट्रीय विभूतिका लागि जनस्तरबुाट सरकारलाई दवाब दिएको कुरा पनि सुन्नमा आएको छ।
योगमायाको व्यक्तित्वलाई अध्यात्म ज्योतिका रूपमा देदीप्यमान रहेको उल्लेख विभिन्न लेखरचनामा पाइन्छ । अनलाइन पत्रपत्रिकाहरूमा पनि उनका सम्बन्धमा निरन्तर लेखहरू प्रकाशित भइरहेका छन् । योगमायाजस्ती कालजयी र असाधारण नारीका बारेमा खोज तथा अनुसन्धान गरेर लेख्नु निश्चय नै प्रशंसनीय कार्य हो । तर उपलब्ध सामग्रीहरू अध्ययन गर्दा सत्यतथ्यको अभावमा विभिन्न अनुसन्धानकर्ताहरूका बीच तिथि, मिति, विवरण, घटनाक्रम, पात्रहरूले भोगेका अनुभव तथा सङ्ख्यामेतमा उल्लेख्य मतभेद पाइन्छ । प्रमाणबिनाका यस्ता फरक फरक विवरणमध्ये कुनलाई सत्य मान्ने भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ । यस विषयमा सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ । विभिन्न विद्वान्, लेखक, पत्रकार तथा योगमाया स्मृति प्रतिष्ठानलगायतका संस्थाले यस क्षेत्रमा केही काम गरे पनि अझ गहिरो र व्यवस्थित अनुसन्धान हुन बाँकी नै देखिन्छ । सत्यतथ्यमा आधारित इतिहासले मात्र व्यक्तित्वको वास्तविक योगदानको सम्मान गर्न सक्छ । त्यसैले सरकारी निकाय तथा सम्बन्धित संस्थाहरूको सक्रिय पहलमा व्यापक खोज, अनुसन्धान र प्रमाण सङ्कलन गरी योगमायाको जीवनवृत्तलाई तथ्यपरक रूपमा स्थापित गर्नु आजको आवश्यकता हो । यसबाट नेपालको इतिहास र संस्कृतिको गरिमा अझ उँचो हुनेछ । योगमायाको जीवन केवल एउटा व्यक्तिको जीवनी मात्र होइन, नेपाली नारी अस्मिता, सामाजिक जागरण र सभ्यताको इतिहाससँग पनि गाँसिएको विषय हो । त्यसैले उनी जस्ती ऐतिहासिक व्यक्तित्वका बारेमा अप्रमाणित वा भ्रमपूर्ण इतिहास निर्माण गर्नु पछिल्लो पुस्ताप्रति अन्याय गर्नु हो । यसतर्फ सम्बन्धित सबै पक्षको गम्भीर ध्यान जान आवश्यक छ । आजका पुस्ताले विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममार्फत पनि योगमायाका बारेमा अध्ययन गरिरहेका छन् । तर उनीहरूले पढिरहेको सामग्री कति तथ्यपरक छ भन्ने प्रश्न अझै खुला छ । भोजपुरकी स्थायी बासिन्दा तथा विराटनगर निवासी कविता चापागाईँले योगमायाको सङ्क्षिप्त जीवनी समेटिएको एउटा पुस्तिका प्रकाशित गरेकी छन् । उनका अनुसार भोजपुरका विभिन्न स्थानमा पुगेर स्थानीय स्रोतसँग सोधपुछ र अध्ययन गरी उक्त सामग्री तयार पारिएको हो । त्यसैले आफ्नो पुस्तिकामा समावेश गरिएका विवरणहरू सान्दर्भिक रहेको दाबी छ । केही विद्यालयहरूले पनि त्यस सामग्रीलाई क्रमशः महत्त्व दिन थालेको जानकारी उनले दिएकी छन् । २०७९ सालमा योगमायाको जीवनी र योगदान नामक कृति पनि तयार गरिएको छ । ८० जनाभन्दा बढी नेपाली लेखकले कलम चलाएको यस पुस्तकको सम्पादन लेखनाथ भण्डारीले गर्नुभएको छ र यस पुस्तकमा योगमायाले समाज सुधारमा गरेको योगदान, तत्कालीन समाजको चेतनाको स्तर, यसले राणाशासनमा परेको प्रभावलगायतका विविध आयाम समेटिएका छन् (गोरखापत्र २०७९, साउन २) भने हालको विद्यालयस्तरीय पाठ्यक्रममा कक्षा ११ को अनिवार्य नेपालीमा योगमायाको जीवनी समावेश गरिएको छ ।
अदम्य साहस र निर्भीकताकी प्रतीक, आध्यात्मिक जागरणकी अविचलित योद्धा योगमाया समाजमा व्यापक सुधार ल्याउन चाहन्थिन् । त्यस उद्देश्यले उनले श्री ३ जुद्धशमशेरसमक्ष सत्यधर्म भिक्षा का २८ बुँदे माग प्रस्तुत गरेकी थिइन् । ती माग पूरा गर्ने आश्वासन पनि उनले पाएकी थिइन् तर आश्वासन कार्यान्वयन नभएपछि विरोधस्वरूप उनले आफ्ना अनुयायीसहित अग्निदाह गरेर प्राणत्याग गर्ने निर्णय गरिन् । वि.सं. १९९५ साल मङ्सिर पूर्णिमाका दिन भोजपुरको मझुवामा अग्निदाह गरिने भन्ने समाचार फैलिएपछि तत्कालीन प्रशासन नै आतङ्कित भयो । त्यसपछि योगमायासहित उनका अनुयायीहरूलाई पक्राउ गरिएकाले अग्निदाहको कार्यक्रम रोकियो । पछि श्री ३ जुद्धशमशेरबाट महिला र केटाकेटीलाई छाडिदिनू भन्ने आदेश आएपछि योगमाया पनि मुक्त भइन् । राणा शासकहरूले उनलाई कडा निगरानीमा राखेका थिए । त्यसपश्चात् नेपालमै रहेर उनले आफ्नो समाजसुधार अभियानलाई निरन्तरता दिइन् । सरकारको नीति, अत्याचार र भ्रष्ट आचरणप्रति असन्तुष्ट हुँदै उनी र उनका अनुयायीहरूले समाजलाई सचेत गराउने तथा भावी पुस्ताका लागि नयाँ मार्ग प्रशस्त गर्ने अठोट गरेका थिए । अन्ततः उनीहरूले जलसमाधिको मार्ग रोजे । वि.सं. १९९८ साल असार २२ गते, हरिशयनी एकादशीका दिन, योगमाया स्वयम् तथा उनकी छोरी नैनकलासहित उनका ६८ जना अनुयायीले अरुण नदीमा सामूहिक रूपमा हाम फालेर जलसमाधि लिए । यस घटनालाई नेपालको इतिहासकै सबैभन्दा ठूलो सामूहिक जलसमाधिका रूपमा लिइन्छ ।
योगमाया नेपालको सामाजिक इतिहासमा सामाजिक सुधार, नैतिक पुनर्जागरण र अन्यायविरुद्धको प्रतिरोधको सशक्त प्रतीकका रूपमा चिनिन्छिन् । योगमायाले लेखेका कविताहरूमा महिला, उत्पीडित वर्ग र अन्यायविरुद्धको स्पष्ट आवाज सुनिन्छ । नइ प्रकाशनद्वारा प्रकाशित नारीचुली मा रहेको योगमायाको जीवनीमा उनको कवित्वको यसरी तारिफ गरिएको छ — “योगमाया नेपाली साहित्यमा क्रान्तिकारी नारीहरूकी प्रतीक हुन् । बूढी औँठाको ल्याप्चेका भरमा आफ्नो हस्ताक्षर दिने योगमाया नै त्यस्ती आशु कवयित्री हुन्, जसले जे देख्यो त्यही फररर भन्न सकिन्; जे भेट्यो त्यही विषयमा कविताबाट बोल्न सकिन् र जे सुन्यो त्यही विषयलाई कविताबाटै बिट मार्न सकिन् ।” उनले तत्कालीन नेपाली समाजमा व्याप्त रहेको जातीय विभेद, छुवाछूत, अन्धविश्वास र धार्मिक आडम्बरको विरोध गरिन् र धर्मलाई कर्मकाण्डमा सीमित नराखी नैतिक आचरण र मानव समाज सुधार्ने माध्यमका रूपमा व्याख्या गरिन् । योगमायाले धर्मराज्य भनेर सत्य, न्याय, समानता र नैतिकतामा आधारित शासनलाई भनेको हुनुपर्छ । उनले जनतालाई शोषण गर्ने नभई जनताको हित, न्याय र धर्मसम्मत् शासन गर्ने उद्देश्यले शासकले शासन गर्नुपर्छ भनेर बारम्बार आवाज उठाइरहिन् । यसबाहेक योगमायाले समाजमा रहेको आर्थिक विभेद र धर्मका नाममा भएका सामाजिक शोषणको पनि खुलेर विरोध गरेकी थिइन् । समाजमा र सरकारमा समानता र न्यायको अनवरत आवाज उठाइरहेकी अहिंसात्मक आन्दोलनकी अग्रणी योगमायाका कुरा सरकारले सुनुवाइ नगरेपछि यस्तै अन्यायको विरोधस्वरूप उनले आफ्ना अनुयायी सहित जलसमाधि लिएर सरकार कै ध्यान आकर्षित गरिन् ।
योगमायाले गरेको जलसमाधिको यो घटना नेपालको इतिहासमा अत्यन्त जटिल र बहुआयामिक घटना हो । योगमायाले राणा शासनसमक्ष पटक पटक सत्य, न्याय र धर्ममा आधारित शासनको माग राखिन् । ती मागहरू बेवास्ता भएपछि उनले रोजेको जलसमाधिलाई अन्यायपूर्ण राज्यविरुद्धको अन्तिम नैतिक प्रतिरोधका रूपमा लिन सकिन्छ । राजनीतिक दृष्टिले हेर्दा यो घटना अहिंसात्मक असहयोग र अस्वीकारको चरम रूप पनि हो । योगमायाले राज्यमाथि कुनै प्रकारको आक्रमण नगरी अन्यायपूर्ण शासनलाई नैतिक रूपमा अस्वीकार गरेर राज्यको वैधतामाथि प्रश्न उठाएको विश्लेषकहरू बताउँछन् । अन्यायपूर्ण शासनव्यवस्थाविरुद्ध एउटी नारीको नेतृत्वमा भएको यस्तो सामूहिक आत्मोत्सर्ग नेपालका लागि मात्र होइन, विश्व इतिहासकै दृष्टिले पनि अद्वितीय र उल्लेखनीय घटना मानिन्छ । यद्यपि, जलसमाधि लिने व्यक्तिको सङ्ख्याका विषयमा पनि विभिन्न लेखक र अनुसन्धानकर्ताका बिचमा हरेक प्रशंगमा प्राय मतभेद पाइन्छ । त्यसैले यस विषयमा पनि थप प्रमाणसहितको अनुसन्धान आवश्यक देखिन्छ । योगमायाका बारेमा खोजी गर्नु भनेको केवल एक धार्मिक व्यक्तित्वको जीवनी अध्ययन गर्नु मात्र होइन । यसबाट नेपालको सामाजिक इतिहास, महिला आन्दोलन, धार्मिक चेतना र सामाजिक न्याय र रूपान्तरणको बहुआयामिक अध्ययन गर्न सकिन्छ । त्यसैले पनि योगमायाका विषयमा थप अध्ययन हुनु आवश्यक मानिएको हो ।
000
