लेखिका गीताकेशरीको निधन

समाचार

१८ असार २०८३, काठमाडौं

नेपाली साहित्यमा आख्यान बिधाकी वरिष्ठ ब्यक्तित्व गीताकेशरीको निधन भएको छ । एकहप्ताअघिदेखि ओम अस्पताल काठमाडौंमा उपचाररत उनको उपचारकै क्रममा निधन भएको हो । उनी ८६ बर्षकी थिइन् । उनी पछिल्लो समय अल्जाइमर्स तथा हृदय रोगसँग जुधिरहेकी थिइन् ।
वि.सं.२०३४ सालमा प्रकाशित “कसिङ्गर” उपन्यासका माध्यमबाट नेपाली उपन्यासमा प्रवेश गरेकी उनका सौगात (२०४६), आवाज (२०४७), मुक्ति (२०४८), खोज (२०५०), अन्तिम निम्तो (२०५१), विश्वास (२०५२), खुला आकाश (२०५४), नोकरी (२०५५), तरङ्ग (२०५७), निष्कर्ष (२०६०), बदलिदो क्षितिज (२०६६) जस्ता औपन्यासिक कृति प्रकाशित छन् । महाकवि देवकोटाको जीवनी कृति “नेपाली साहित्यका ध्रुवतारा महाकवि देवकोटा” उनको एक मात्र जीवनी कृति हो ।
नेपाली साहित्य जगतमा गीता केसरीको नामले सुपरिचित उनको नाम गीता पन्त हो।
लामो समय शाही नेपाल वायु सेवा निगममा कार्यरत उनी नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव समेत भएकी थिइन् ।