मीना श्रेष्ठ, इटहरी
बा गए
एकपटक पनि पछाडि नहेरी
कहिल्यै नफर्किने गरी
बादल पारीको गाउँ जादा
माताजीको गलाको पोते
हातका इन्द्रधनुषी चुराहरू
बट्टामा राखेको कुमकुम मिश्रित
सिन्दुरको डिब्बा शुध्द लिएर गए।
बाले त्यति मात्र लगेनन् ,
मेरो शिरको ताज
कर्ली कपाल लिएर गए
वाणीमा सम्मोहन थप्ने
मेरो मुस्कान पनि लिएर गए।
लैजानै परे पछि,
किन लैजानु त्यो निर्दोष मुस्कान
निस्फिक्री हाँसो
बालसुलभ चञ्चलता
बरू लैजानु नि
भिडले नछेक्ने दर्किरहने
रोक्दै नरोकिने आसुँको झरी,
मेरो घाँटी न्याक्ने भक्कानाहरू ,
कसैले नबुझ्ने ब्यथाहरू,
र! किन्नै नसकिने रहरहरू।
बा!
तिमी एक्लै गएनौ
रित्तै गएनौ
उदासी दिएर छोरीलाई
लगेका छौ जीवनका उर्जाहरू।
०००
