कविता सङ्ग्रह’सुमेरण’ को लोकार्पण सम्पन्न

समाचार

७ बैशाख २०८२, काठमाडौं ।

कवि सन्तोषी पाण्डेको कवितासङ्ग्रह ‘सुमेरण’ को एक कार्यक्रमका बीच मञ्चासिन ब्यक्तित्वहरुले सामुहिक रुपमा लोकार्पण गरे ।
लोकार्पित कृतिबारे समालोचकीय मन्तव्य राख्दै समालोचक प्रमोद प्रधानले नेपाली साहित्यमा सबैभन्दा बढी छापिने कृति भनेको कविताको हो। शब्दको जोड घटाउ मात्र नभएर कविता भनेको समवेदना र समवेदनालाई अनुभूतिमा प्रस्तुत गर्ने शैली पनि हो भनेर बताए। उनले कवि सन्तोषीलाई नेपाली साहित्यका अग्रजहरूको कृति अध्ययन गर्न पनि सुझाएका थिए। उनले सङ्ग्रहभित्रबाट’तिम्रो स्वतन्त्रता’शीर्षकको कविता वाचन गरेर सुनाएका थिए।
कवि सन्तोषी पाण्डेले आफ्नो लेखककीय मन्तव्यमा सुमेरण एउटा नाम होइन यो मेरो जीवनको सबैभन्दा प्रिय सम्बोधन हो भनेर बताइन्। पुस्तकभित्रका हरेक शब्द,भावना हृदयको गहिराइबाट जन्मिएको बताउँदै जीवनका अनेक उतारचढावसँग जुद्धै मनभित्र थुप्रिएका अनुभूति, पीडा, आशा र विश्वास शब्दका रूपमा आकार लिएको बताइन्। सङ्ग्रहभित्रको एउटा मार्मिक कविता’ अमिट स्मृति’ वाचन गर्दै दिवङ्गत दाजुप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेकी थिइन्।
कवि तथा गीतकार सुमन थापा ‘संगम’ले पनि सङ्ग्रहभित्रको एउटा कविता ‘कविताको जन्म’ वाचन गरेर सुनाएकी थिइन्।
कविताकृतिका प्रकाशक भुँडीपुराण प्रकाशनका प्रमुख केशव पराजुलीले आफ्नो शुभकामना मन्तव्यमा पहिलो कृति भए पनि पठनीय भएकोले प्रकाशन गरिएको बताउँदै प्रकाशनको जिम्मेवारी पाएकोमा आभार प्रकट गर्दै धन्यवाद दिएका थिए।
सभाका सभापति तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले विश्व बजारमा नेपाली साहित्यलाई पुर्‍याउन कृतिहरू छापिनुअघि राम्रोसँग सम्पादन गरिनुपर्ने बताउँदै लोकार्पित कृतिका सम्पादक विमल भौकाजीलाई सूत्रधार भनेर धन्यवाद दिए। दुई वर्षसम्म डायरीमा थन्किएर बसेका कविताहरू कृतिका रूपमा आएकोमा खुसी व्यक्त गरे। कविता भनेको समवेदना र अनुभूति हो, कविता भनेको प्रतिपक्ष हो, कविता भनेको आफैँ सत्ताको पनि प्रतिपक्ष हो सन्तोषीका कविताहरू समय सापेक्ष छन् भनेर बताए।
शारदाका सम्पादक विमल भौकाजीले कविताकृति सुमेरणको सम्पादनका बारे बोल्दै कवि सन्तोषीका कविताहरूभित्र आफैँ पसेर आत्मसात गरेको बताए।उनका सबै कविताहरू प्रतिस्पर्धा गर्न लायक रहेको बताउँदै पहिलो कृति भए पनि कवितामा हुनुपर्ने सबै कुराहरू भएको बताए। कृतिका सम्पादकसमेत रहेका भौकाजीले स्वागत मन्तव्यका क्रममा यी कुरा बताएका हुन्।
सो कार्यक्रम सुभाष चन्द्र पौडेल ‘भीमफेदीया’ले सञ्चालन गरेका थिए।

०००

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ काठमाडौंको सहयोगमा)