प्रसन्नता

कविता

लुइस विष्ट

उदायो खुशीको सुनौलो बिहानी
सुकायो मनग्गे भिजेको सिरानी
म सोच्थेँ सबैको छ खासा जवानी
भिजेकै छ आँखा छ उस्तै कहानी

बुझेको थिएँ भाग्य नौलो उदायो
खुशीले खजाना जवानी पठायो
नखोजे हजारौँ दुखेसो पुरानो
छ मुस्कान मेरै छ पीडा विरानो।

चडेको थिएँ जिन्दगीको उकालो
गलेको थियो पाउ बाटो भिरालो
नसा जिन्दगीको खुसीको छ पालो
मजा जिन्दगीको जवानी उज्यालो।

कसैको लगानी कसैको जमानी
निखारी बिरानी कसैको रिसानी
कहाँ खोज्नु मैले हरायो निसानी
यसै लेख्छु पीडा भुलेको कहानी।

भिझेको परेली सिनिक्कै सुकाइ
चुनौती पुकार्छन् भुतुक्कै लजाइ
खिलेको छ मुस्कान काफी रमाई
खुशीले दियो साथ औधी मलाई।

०००

कवि परिचयः कवि लुइस विष्ट गान्तोक सिक्किममा जन्मेकी हुन् र गान्तोकलाई नै कर्म क्षेत्र बनाएकी छिन् । सन् २०१७ मा जनपथ त्रैमासिकमा “प्रेमभाव” कविता प्रकाशन गरी साहित्यिक क्षेत्रमा प्रवेश गरेकी उनी गद्य कविता, छन्दोबद्ध कविता पध्य कविता, मुक्तक, गजल, हाइकु, रम्वास कविता, गीत आदि लेख्छिन् । उनका अन्तर्भाव (कविता संग्रह २०२२),  मनोभिराम (गीत सङ्ग्रह २०२२) तथा प्रिय जिन्दगी (कविता सङ्ग्रह २०२४)प्रकाशित छन् ।

Leave a Reply