वसुन्धराश्री तथा मानश्री पुरस्कारको घोषणा

मुख्य समाचार

६ बैशाख २०८३ सोमबार, काठमाडौँ

बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले प्रदान गर्दै आइरहेको वसुन्धराश्री तथा मानश्री पुरस्कारको घोषणा भएको छ ।
यस बर्ष ७५ हजार राशीको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई तथा ७५ हजार राशीकै मानश्री पुरस्कार आनन्द अरुणलाई प्रदान गर्ने निर्णय भएको छ ।
प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।
प्रतिष्ठानका सदस्य सचिव कृसु क्षेत्रीले जनाए अनुसार उत्कृष्ट आधुनिक कथा, नाटक र निबन्धको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तथा गरिमामय बनाउन विशिष्ट योगदान पुर्‍याएकाले चन्दलाई पुरस्कृत गर्ने निर्णय भएको हो ।
वसुन्धराश्री पुरस्कारले पुरस्कृत हुनुहुने चन्द विसं १९९७ सालमा बैतडीमा जन्मिएका हुन् तथा पूर्वप्रधानमन्त्री हुन्। उनको ब्यङ्ग्य निबन्ध सङ्ग्रह “बाह्रौं खेलाडी” निकै चर्चित कृति हो । उनले चन्दका ‘विसर्जन’कथा सङ्ग्रहका लागि मदन पुरस्कार पाएका थिए । उनका ‘हिउँको तन्ना’,‘अपराजिता’, ‘नेताका साथी’लगायतका कृतिहरू प्रकाशित छन्।
मानश्री पुरस्कारले पुरस्कृत हुनुहुने आनन्द बिसं २००१ साल जनकपुरमा जन्मिएका हुन् । उनका‘अन्तरयात्रा’, ‘सन्तगाथा’, ‘सन्तदर्शन’ र ‘अचम्म जे देखेँ मैले’ लगायतका कृति प्रकाशित छन्। उनका कृतिहरू अङ्ग्रेजी, हिन्दी, जापानी र रुसी भाषामा समेत अनुदित छन्।
बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले स्थापना कालदेखि पुरस्कार प्रदान गर्ने, पत्रिका तथा पुस्तक प्रकाशन गर्ने लगायतका कामहरू गर्दै आएको छ ।

०००