परदेसीको द​शैँ

कविता

(दशैं भर्खरै सकिएको छ । तर दशैं सम्बन्धी कविता पुराना हुँदैनन् । दशैंका केही कविताहरू कवि मित्र प्रमोद सारङ्गले सङ्कलन गर्नु भएको रहेछ । यो उहाँकै सौजन्यबाट प्राप्त भएको हो र क्रमसः प्रकाशित गर्दै जानेछौं ।-सम्पादक)

निर्मलरमण पराजुली

यो अभागी छोराको
कथा-ब्यथा अर्कै छ
यो बिरानो परदेसी भूमिमा
दश नङ्ग्रा खियाउदा पनि
साहुको रिण
जोडन सकेको छैन हातमा l

बाबुको ईस्टकोट
आमाको फाटेको धोती
सम्झिदा भेल बग्छ नयनमा
छोराको कट्टु
प्रियाको चोलोमा आँखीझ्याल
टुक्रा -टुक्रा हुन्छ मुटु हृदयमा
कर्म त गरेकै हुँ
खोइ भाग्यले कहिले साथ दिन्छ
बाँचेको छु आशमा
कुन मुख लिएर घर जाउ
साहु आई पुग्छन पैसा माग्न

बाबुआमा बाटो हेर्दै होलान्
सधैं बसी घरआँगनको डिलमा
कहिले आईपुग्छ छोरो
द​शैँको टिका थाप्न निधारमा

सिरकले मुख छोपी रुदै
आशीर्वाद लिनेछु हजुरहरूको
टिकाको साईतमा
मलाई माफ गरी दिनु बाबाआमा
आउने छु टिका थाप्न
अर्को द​शैँमा …!!!

 

०००